Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsहामीले चाहेको एनआरएनए

हामीले चाहेको एनआरएनए


मिलन दाहाल

एडिलेड

यसपाली गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया करिब १२ हजार सदस्यका साथ (सदस्यका हिसाबले) सबैभन्दा ठुलो एनआरएनएको विरासत बनाउन सफल भएको छ । स्थापनाकालदेखी सदस्य संख्याको हिसाबमा सबै भन्दा ठुलो बन्दै आएको अमेरिकाको विरासतलाई तोड्न अहम भुमिका खेल्ने अष्ट्रेलियन एनआरएनलाई बधाइ तथा अष्ट्रेलियाको यो हैसियत अब उप्रान्त कायम रहिरहोस् सबैलाई शुभकामना ।

हामीलाई (पदाधिकारी, सदस्य र सर्वसाधारणसमेत ) थाहै छ, अष्ट्रेलियाले यसपाली यो बिरासत कसरी प्राप्त गर्यो । सदस्यता बढाउनका  लागि के के सम्म गरियो सामाजिक सञ्जालमार्फत सबैका सामु आएकै छन । प्राप्त भएको सदस्य संख्याप्रति संघका पदाधिकारीहरु नै चकित भएको पनि सुनिराखिएको छ । सदस्यता बनाउने क्रममा निकै ठूलो धनराशी खर्च गरिएको आशंका गरिएको छ ।

यसरी सदस्यता किनेर संस्था कतिञ्जेल चल्न र चलाउन सकिन्छ ?  किनेका सदस्यहरुले जिताउने पदाधिकारिहरु पदको गरिमा जोगाउन योग्य छन कि छैनन् ? यस्ता पदाधिकारीले एनआरएनलाई यसको उदेश्य अनुरुपको गति दिन सक्लान् कि नसक्लान ? यी र यस्तै कुराहरुले नै हो एनआरएन अष्ट्रेलिया र समग्रमा एनआरएनएकै भविष्य निर्धारण गर्ने । पदाधिकारीले रटान गरे झै एनआरएनएलाई सबै गैर आवासीय नेपालीले छाता संगठन मान्ने कि नमान्ने ? भनेजस्ता कुरा यसअघि बिगतदेखि नै एनआरएनएसँग नजिक रहेका तथा पदाधिकारीसमेत रहिसकेका एकजनासँग एनआरएनएको पछिल्लो गतिविधिवारे सोधें । उनले यसपालीको सदस्यता बनाउने प्रवृत्तिपछि संघ लाई गलत बाटोमा लगिएको महशुस गरेकाले आफुले संघको गतिविधिवारे जानकारी राख्न छोडेको प्रतिक्रिया दिए । यो एउटा प्रतिनिधि घटनामात्र हो ।

पछिल्लो दिनमा अष्ट्रेलियामा सदस्यता बढाउन जुन अभ्यास गरियो, के त्यो संस्थाको हितमा छ ?

अमेरिकामा २५२ मध्ये १०३ पदमा उम्मेद्वारी नै नपरेको कुरापनि केहिअघि संचारमाध्यममा आएको थियो । हामीले सहजै अनुमान लगाउन सक्छौं, किन एनआरएनएप्रति बौद्धिक जमात र पुराना अग्रहरुको एनआरएनएप्रतिको आकर्षण घट्ने र वितृष्णा बढ्ने क्रममा छ ? संघका पदाधिकारीले दाबी गरेजस्तै अवश्य पनि नेपाल बाहिर बस्ने नेपालीहरुको सबैभन्दा ठुलो प्रतिनिधी संस्थाको रुपमा स्थापित संस्था हो गैर आवासीय नेपाली संघ । तर, पछिल्लो दिनमा अष्ट्रेलियामा सदस्यता बढाउन जुन अभ्यास गरियो, के त्यो संस्थाको हितमा छ ?  यसले एनआरएनएलाई दुरगामी दिशा दिन सक्छ ? यसमा बहस हुनु जरुरी छ ? संस्थाका पदाधिकारी र पदको गरिमा विश्वभर ७८ भन्दा बढी देशमा फैलिएको गैर आवासीय नेपाली संघ अवश्य पनि पदाधिकारीहरुले दाबी गरेजस्तै विश्वभरका नेपालीहरुको सबैभन्दा ठुलो सञ्जाल हो । यसमा सन्देह छैन । कतिपयले दाबी गरेजस्तै नागरिकता, नेपालमा गैर आवासीय नेपालीहरुको हकहितको कुरा गर्नुपर्ने भएकाले यसले नेपालको राजनितिसँग नजिक रहेर काम गर्नुपर्ने भन्ने कुरालाई समेत केहि क्षणका लागि सहि मानौं । उम्मेद्वारीमा पछिल्लो समयमा स्थापना भइरहेको दलीय सिण्डिकेटटलाई के भन्ने ? 

सन् २००३ मा अष्ट्रेलिया भित्रिएको संघ सन् २०१९ सम्म आइपुग्दा उम्मेद्वारी दिनका लागी अष्ट्रेलियामा स्थापित नेपालका राजनितिक दलका भ्रातृ संगठनका सदस्य हुन जरुरी भैसकेको अवस्था छ, फलस्वरुप सदस्य धेरै बनाउन सदस्य किन्नैपर्ने जरुरी छ । विदेशमा व्यावसायिक रुपले स्थापित अधिकांस डाक्टर, इन्जिनियर, वकिललगायतका नेपालीहरु नेपालबाटै दलका गतिविधिबाट आजित भएर विदेश पलायन हुनेहरु धेरै छन, उनीहरु दलको सदस्यता लिएर एनआरएनको गतिविधिमा लाग्दैनन र लाग्न जरुरी पनि छैन । काम गरी खाने नेपालीहरुलाई एनआरएनए जस्तो संस्थाको गतिविधीप्रति खासै वास्ता छैन । त्यसैले अष्ट्रेलियन एनआरएनको पदाधिकारी भएर नेपालमा व्यावसायिक फाइदा लिने उदेश्यले लाग्ने कन्सलटेन्सी व्यावसायीहरु र अष्ट्रेलियाकै नेपालीहरुमाझ व्यापार विस्तार गरेर फाइदा लिन खोज्नेहरुनै सबैभन्दा बढी एनआरएनए प्रति आकर्षित भएको देखिन्छ । उनीहरुको लगानी र दलका भ्रातृ संगठनहरुको अग्रसरतामा पछिल्लो समयमा व्यापारी र दलका ‘यसम्यान’हरु संगठनमा हाबी हुने देखिएको छ । त्यसको पुष्टि केही समयअघिको AIBT काण्डमा एनआरएनएको मौनताले गरिसकेको छ । कन्सल्टेन्सिका बिरुद्द एनआरएनएले बोल्नपनि सक्दैन किनभने कन्सल्टेन्सिको प्रायोजनबिना एनआरएनएका कुनैपनि कार्यक्रमहरु असम्भवप्राय नै छन् । विद्यार्थी हकहित प्रमुख एजेण्डा रहेको भनिएको संस्थाले सयौं नेपाली विद्यार्थीहरुको भविष्य नै अन्योल हुने परिस्थिती आउदा समेत मौन रहेको अवस्थामा आगामी दिनमा कुनै नेपालीमाथी नेपाली व्यावसायीले अन्याय गरेको खण्डमा पीडित नेपालीको पक्षबाट अग्रसरता लिनसक्ला ? भन्ने कुरा पत्याउनु पनि एनआरएनमा हालको अवस्थामा कुनै स्वतन्त्र मान्छेले उम्मेद्वारी दिएर निर्वाचन जित्ला भन्नु जस्तै हो ।

अष्ट्रेलियाकै नेपालीहरुमाझ व्यापार विस्तार गरेर फाइदा लिन खोज्नेहरु नै सबैभन्दा बढी एनआरएनए प्रति आकर्षित

एनआरएनएमा दलिय सिन्डिकेटका कारण योग्य मान्छेहरु आउने संभावना निकै कम छ र संस्थाको गतिविधीबारे थोरै पनि जानकारी नरहेका र आफ्ना भविष्यका लागी समय दिनुपर्ने बेलामा प्रवासमा खुलेका नेपाली दलका भ्रातृ संगठनबाट ‘कन्फर्म जितिन्छ’ भन्ने आश्वासनका कारणमात्र उम्मेद्वारी दिने व्यवसायी र दलका ‘यसम्यान’ हरुबाट पदको गरिमा कायम हुन सक्दै सक्दैन र समुदायले कुनै अपेक्षा राख्नुपनि अपेक्षाकै बेइत्जत मात्र हो । सदस्यता एनआरएनए अष्ट्रेलियाको सदस्यता करिब १२ हजार पुगेर विश्वको सबैभन्दा बढी सदस्य भएको एनआरएनए बन्यो । यो साँच्चिकै गर्वको बिषय तब हुन्थ्यो जब १ लाख बढी नेपाली रहेको अनुमान गरिएको अष्ट्रेलियामा स्वत स्फुर्त रुपमा यति सदस्य बनेका हुन्थे । एनआरएनए अष्ट्रेलिया विश्वको सबैभन्दा ठुलो एनआरएनए बन्यो भनेर गर्व गर्ने मध्ये कोही थोरैपनि इमान भएको व्यक्तिले यतिका सदस्य स्वतस्फुर्त बनेका हुन भनेर भन्न सक्छरु व्यापारीका लगानीका अतिरिक्त नेपाली दलका भ्रातृ संगठनले आफ्ना प्रत्येक कार्यकर्ताहरुबाट ४/५ सय चन्दा उठाएर सदस्यता र चुनाबको लागी खर्चको जोहो गरेको भन्ने कुरापनि सुनिनमा आएको छ । के उनीहरुले संधैभरी यसरी नै पैसा उठाएर सदस्यता बढाइरहन सम्भव छरु

दलीय सिन्डिकेटबाट उमेद्वारी पाएका र एकछापे भनिएका भोटबाट जित्ने संभावना रहेकाहरुले नेपालमा आफन्तहरुमाझ पनि चर्चा बटुल्न र फेसबुकमा केही थान लाइक र कमेन्ट बटुल्न केही समयका लागी केही खर्च गर्लान । उनीहरुका लागी यसरी संधै खर्च उठाइरहन कहिलेसम्म सम्भव होला ?  एनआरएनएको यो साख कायम राख्न यो तरिका दीर्घकालसम्मका लागी उचित होला ?  सबैले मनन गर्न जरुरी छ । फेरी यसरी उठाइएको चन्दाको हिसाबकिताब कसले हेर्छ ? एनआरएनएको चुनाबका लागी पचासौं हजार उठाएर आफ्ना घरको मोर्टगेज तिर्नेहरुपनि निस्किएलान । त्यसले समुदायलाई कतातिर लैजाला ?  
अत प्रवासका नेपालीहरुको आवाज बन्नसक्ने, नेपालीको प्रतिनिधी बन्न सक्ने, परेका बेला नेपालीलाई सहयोग गर्न सक्ने साझा संस्था नेपाल बाहिर बस्ने नेपालीहरुको अवधारणा र चाहना हो । यो आवश्यकता पनि हो । तर, नेपालका राजनितिक दलको प्रतिनिधिहरुको सिन्डिकेटमा चल्ने र तिनका झोलेहरुको भिडन्त हुनेखाले नेपालको रानीतिकै पुनरावृत्ति विदेशमा बस्ने औसत नेपालीहरुको चाहना हुदै होइन । यसले नेपालको खराब राजनितिक प्रवृतिको पुनरावृत्तिभन्दा बढी केहि गर्न सक्दैन ।

(लेखक अष्ट्रेलियाको एडिलेडमा रहेर संचारकर्ममा आवद्ध छन्)

यो लेख, लेखकको निजी विचार हो । यससंग नेपाल ट्युब अष्ट्रेलियाको कुनै सरोकार छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ