Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपाल अपडेट : नयाँ राष्ट्रपतिको खोजीदेखी ठगमाथी प्रहरीको एक्सनसम्म

नेपाल अपडेट : नयाँ राष्ट्रपतिको खोजीदेखी ठगमाथी प्रहरीको एक्सनसम्म


काठमाडौं । अबको राष्ट्रपति को ? भन्ने बहस, सभामुख चयन, आयातमा गरिएको सहजता, पोखरा दुर्घटनाले उडान क्षेत्रमा पारेको प्रभाव र बैदेशिक रोजगारीका नाममा मौलाएको ठगी, मनोमानी बारेका प्रमुख ५ खबरहरु यस्ता छन् ।

बहसमा अबको राष्ट्रपति, पात्र अनिश्चित
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोजी गरिने बताउनुभएसँगै को बन्लान अबको राष्ट्रपति ? भन्नेमा चौतर्फी चासो बढेको छ । बिहिबार प्रचण्डले सत्ता साझेदार दल र आफ्नोतर्फबाट राष्ट्रपतिमा सहमतिको प्रयास भइरहेको बताउनुभएको थियो । यसले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने वा गैह्र राजनीतिक व्यक्तिलाई उभ्याउने योजना हो प्रष्ट भएको छैन । यता, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका तर्फबाट अगाडि सारिने राष्ट्रपतिको उम्मेदवारमा नै राष्ट्रिय सहमति कायम हुने विश्वास व्यक्त गरेर प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको जवाफ दिनुभएको छ । राष्ट्रपतिको उम्मेदवार तय गर्ने सहमति सत्ता साझेदार दलभित्र दाबी एमाले नेताहरुले बारम्बार गर्दै आएका छन् । एमालेबाट राष्ट्रपति उम्मेदवारका रुपमा चर्चामा आउनुभएका सुवासचन्द्र नेम्वाङले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु भनेको राजनीतिक दलहरुले आफैँमाथि विश्वास नगर्नु रहेको प्रतिक्रिया दिनुले समेत भित्रभित्रै चलिरहेको नयाँ राजनीतिक खेललाई चित्रण गरेको छ । नेपाली कांग्रेसका नेताहरुले सभामुख एमाले अध्यक्ष ओलीको ढोक्सामा परेपनि राष्ट्रपति पार्न नदिनेगरि भुमिका खेल्ने दाबी गर्नुले समेत सत्ता सहकार्यमा कतै नयाँ राजनीतिक समिकरण बन्ने त होइन ? विभिन्न कोणबाट बहस भैरहेको छ ।

लो प्रोफाईबाट सभामुख, निश्पक्ष काम गर्ने प्रतिवद्धता
प्रतिनिधिसभाको सभामुखमा एमाले सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मत विभाजनमार्फत १६७ मत ल्याएर घिमिरे सभामुख निर्वाचित हुनुभएको हो । सत्ता गठबन्धनका तर्फबाट सभामुख पदमा उम्मेदवार बनेका घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत पर्दा मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो । बिहिबारको मतदानमा २६८ जना सांसद सहभागी भएका थिए । घिमिरेलाई एमाले, माओवादी केन्द्र रास्वपा, राप्रपा, जसपा,नागरिक उन्मुक्ति र केही स्वतन्त्र सांसदले मतदान गरे । नवनिर्वाचित सभामुख घिमिरेले सभाको प्रतिनिधित्व आफूले ठिक ढंगबाट गर्ने पक्षधरता नलिने प्रतिबद्धता गर्नुभएको छ ।

पोखरा दुर्घटनाको प्रभाव, यात्रु घटेसँगै घट्यो काठमाडौं भरतपुर टिकट भाडा
माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाको प्रभाव चितवनको उडानमा परेको छ । भरतपुर नागरिक उड्ययन कार्यालयका अनुसार माघ १ देखि भरतपुरबाट काठमाडौँ जाने र आउनेको सङ्ख्या नियमित रुपमा घट्न थालेको हो । पुस २८ मा दुई सय ६० जना, पुस २९ मा तीन सय २५ जना, पुस ३० मा दुई सय ६० जना भरतपुरबाट हवाई मार्ग हुँदै काठमाडौँ गएका थिए । माघ १ मा खराब मौसमका कारण उडान भएन । पोखरामा विमान दुर्घटना भएपछि माघ २ मा एक सय ९९ जना, माघ ३ मा एक सय ६८ जना र माघ ४ मा एक सय ८७ जनाले यहाँबाट हवाई यात्रा गरेका छन् । काठमाडौँ–भरतपुर रुटमा पुस २८ मा तीन सय २१ जना, पुस २९ मा तीन सय १९ जना र पुस ३० गते तीन सय १३ जना यात्रुले उडान भरेकोमा माघ २ मा एक सय ३८ जना, माघ ३ मा एक सय ८२ जना र माघ ४ मा दुई सय सात जना हवाई मार्ग हुँदै काठमाडौँबाट चितवन आएका छन् । गुण एयरलाइन्सले काठमाडौँ–भरतपुर–काठमाडौँ र बुद्ध एयरले भरतपुर–पोखरा–भरतपुर रुटमा दैनिक एक उडान र काठमाडौँ–भरतपुर–काठमाडौँ रुटमा दैनिक आठ वटा उडान गर्दै आएको छ । भरतपुर विमानस्थलमा हवाई सुरक्षामा कुनै खतरा नभएको भए पनि यात्रुमा मानसिक प्रभाव परेको आँकलन गरिएको छ । यात्रुको चाप घटेपछि विमान कम्पनीले हवाई भाडासमेत घटाएका छन् । एकतर्फी भाडादर पाँच हजारसम्म रहेकोमा पछिल्ला दिनमा विमान कम्पनीले दुई हजार पाँच सय भाडा कायम गरेर अनलाइन टिकट बिक्री गरिरहेका छन् ।

विदेशबाट समान ल्याउँदाको नगद मार्जिन व्यवस्था हट्यो
विदेशबाट सामान आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा नै बैंकमा रकम जम्मा गर्नुपर्ने अर्थात् नगद मार्जिनको व्यवस्था हटाइएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै नगद मार्जिनको व्यवस्था हटाएको हो । अब कुनै पनि वस्तु आयात गर्नका लागि बैंकमा नगद मार्जिन राख्नुपर्ने छैन । एलसी खोल्दा व्यवसायीले शतप्रतिशत नगद राख्नुपर्ने व्यवस्थाको व्यवसायीले चर्को विरोध गर्दै आएका थिए । विदेशी विनिमय सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले नगद मार्जिनको व्यवस्था गरेकोमा अहिले सञ्चितिमा सुधार भएपछि यो व्यवस्था हटाएको दाबी गरिएको छ । २०७८ मङ्सिर र माघदेखि १६ सय प्रकारका वस्तुको आयात गर्दा एलसी खोल्दा नै ५० देखि शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो ।

जापान पठाउने नाममा ठगी, राहदानीसहित ३ पक्राउ
जापान पठाउने नाममा ४१ जना युवाको ३ करोडभन्दा बढी रकम ठगी भएको छ । ठगिनेमा मोरङका ४० र झापा एक जना छन् । ठगीमा पर्ने मोरङका ४० जना नै राजवंशी समुदायका रहेको पाइएको छ । ठगी गरेर भागेका ठगहरुको खोजी सुरु गरिएको प्रहरीले जानकारि दिएको छ । यता, ३१ थान राहदानीसहित गोंगबुस्थित दुई होटलबाट तीन जना पक्राउ परेका छन् । वैदेशिक रोजगार सम्बन्धी अवैध गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बसपार्कबाट परिरचालित प्रहरी टोलीले पक्राउ गरेको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ