Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपाल अपडेट : उपसभामुख निर्वाचनदेखी सार्वजनिक जग्गा खोज्ने कदमसम्म

नेपाल अपडेट : उपसभामुख निर्वाचनदेखी सार्वजनिक जग्गा खोज्ने कदमसम्म


काठमाडौं । प्रतिनिधिसभा उपसभामुख निर्वाचन, पाँच तारे होटलले मिचेको सरकारी जग्गा खोज्ने पहल, देशभरको मौसमसी अवस्था, एक वर्षमा चितवनका १० गैडा मृत फेला र अनलाईन बाटै अदालतमा मुद्धा दर्ताको पहल बारेका प्रमुख ५ खबरहरु यस्ता छन् ।

प्रतिनिधि सभाको उपसभामुख निर्वाचन आज
प्रतिनिधि सभाको उपसभामुखको लागि आज चुनाव हुँदैछ । उपसभामुख चयनका लागि दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्नेछ । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर र विपक्षीबाट नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव प्रतिस्पर्धी हुनुहुन्छ । सांसदहरुको सङ्ख्याका आधारमा उपसभामुखमा रानामगरको जित निश्चित जस्तै छ । एमालेका ७७, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ सांसद छन् । यस्तै स्वतन्त्र तीन सांसदले पनि साथ दिँदा रानामगरको पक्षमा १६९ सांसद हुनेछन् । यादवको पक्षमा नेपाली कांग्रेसका ८८, एकीकृत समाजवादीका १० र लोसपाका ४ सांसद मात्रै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखमा भने प्रतिस्पर्धा गरेको छ ।

टाइगर प्यालेस रिसोर्टले मिचेको सार्वजनिक जग्गा फिर्ता गर्न आदेश
रुपन्देहीको तिलोत्तमामा रहेको पाँचतारे टाइगर प्यालेस रिसोर्टले सार्वजनिक जग्गा मिचेको अदालले ठहर गर्दै फिर्ता गर्न आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले रिसोर्टले मिचेको जग्गा खाली गराउन आदेश दिएको हो । सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेको भन्दै स्थानियले अदालतमा निवेदन दिएका थिए । सो निवेदन उपर अदालतको आदेशमा भनिएको छ,‘दाबी पुग्ने ।’ लुम्बिनी नलकुपजल उपभोक्ता संघ रुपन्देहीका अध्यक्ष थानेश्वर घिमिरेले र टेकराज पौडेलले टाइगर प्यालेस सञ्चालक कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रा.लि विरुद्ध मुद्दा दायर गनुभएको थियो ।

नेपालमा मौसमी बद्लाब, चिसो बढ्यो
उपत्यकासहित देशका धेरै ठाउँमा केही दिनदेखि चिसो बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसम बदली हुँदा र घाम नलाग्दा चिसो बढेको जानकारि दिएको हो । देशका धेरै ठाउँमा उच्चतम र न्यूनतम तापक्रम घटेका कारण पनि चिसो महसुस गरिएको महाशाखाका मौसमविद् बिनु महर्जनले बताउनुभयो । कतैकतै फाट्टफुट्ट हिमपात भएकाले पनि चिसो बढेको छ । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । आज पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली र मधेस प्रदेश तथा प्रदेश एकमा आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

एक वर्षमै चितवन राष्ट्रिय निकुञ्जका १० गैडा मृत फेला
चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्ष २०७९/०८० मा १० वटा एक सिगे गैंडा मरेका छन् । चालू आवको पहिलो ६ महिनामा मरेका १० वटा गैंडा मध्ये ७ वटा प्राकृतिक कारणबाट, १ विद्युत् करेन्ट लागेर र २ वटा चोरी निकासी गर्ने तस्करका कारण मारेको निकुञ्जले जानकारि दिएको हो । शुक्रबार पूर्वीनवलपरासीमा तस्करले विद्युतीय धरापमा पारेर मारेका २ वटासहित मरेका गैंडाको संख्या १० पुगेको छ । शुक्रबार पूर्वीनवलपरासीको मध्यविन्दु–२ स्थित नारायणी नदी किनारमा मृत भेटिएका दुवै गैंडा तस्करले थापेको विद्युतीय धरापमा परेर मरेको आँकलन गरिएको छ ।

सर्वोच्चमा अनलाइनबाट मुद्दा दर्ता गर्न पाइने
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा अनलाइनबाट मुद्दा दर्ता गर्न सक्ने व्यवस्था मिलाउने तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ । शुक्रबार न्यायपालिकामा सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयन सम्बन्धी सफ्टवेयरको शुभारम्भ गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले सर्वोच्चमा अनलाइनमार्फत मुद्दा दर्ता गर्न सकिने व्यवस्था छिट्टै सुरु हुने बताउनुभएको हो । अदालतमा कोर्ट रुम टेक्नोलोजी लगायतको प्रविधिहरुको प्रयोग गर्ने प्रयास भैरहेको समेत उहाँको दाबी छ । यस्तै पेसी अटोमेशनका लागि सफ्टवेयर लगायतको पूर्वाधार तयार गरिरहेको बताइएको छ । कार्कीले, भन्नुभयो ‘अदालतहरुमा रहेका अभिलेख मिसिलहरुको डिजिटाइजेशन गर्ने कार्यको थालनी गरिएको छ । यसलाई परियोजनाकै रुपमा प्राथमिकतापूर्वक कार्य गर्न आवश्यक बजेटको विनियोजन भएको अवस्थामा अदालतहरुमा हाल रहेका करिब ३६ लाख मुद्दाका मिसिल कागजहरुको स्क्यान गरी विद्युतीय अभिलेखमा प्रविष्ट गर्ने सोच रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ