Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाल अपटेड : नेपाली प्रधानमन्त्रीको भारत मोहदेखी अपहरणपछिको अपराधसम्म

नेपाल अपटेड : नेपाली प्रधानमन्त्रीको भारत मोहदेखी अपहरणपछिको अपराधसम्म


काठमाडौं । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी, नेपालमा सुरु हुन लागेको हिउँदे वर्षा, कांग्रेसभित्र झांगिएको असन्तुष्टि र देउवामाथीको दोष, गण्डकी प्रदेशमा मन्त्रालय घटाएर सरकार विस्तारको तयारी र जनकपुरमा गरिएको विभत्स हत्या बारेका प्रमुख ५ खबरहरु यस्ता छन् ।

नेपाली प्रधानमन्त्रीको अनौँठो भारत मोह
प्रधानमन्त्री भएको एक महिना पूग्नै लाग्दा पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको तयारी गरेको बुझिएको छ । परराष्ट्रमन्त्री पनि नियुक्त भैसकेको अबस्थामा र प्रधानमन्त्री भएपछि भारतीय टेलिभिजनलाई दिएको पहिलो अन्तर्वातमा पनि प्रचण्डले आफ्नो पहिलो भ्रमण भारत हुने बताएका थिए । यद्यपि भ्रमणको मिति भने दुइ देशबीचको कूटनीतिक पहलद्धारा तय गरिने बताइएको छ । नेपाल भारतबीचको सन्तुलित सम्बन्ध, सीमा लगायतका बिवादको कुटनीतिक समाधान, नेपाली उत्पादन र बस्तुको भारतमा बजारीकरिण लगायतका बिषय भ्रमणको प्राथमिकता हुनुपर्ने परराष्ट्रविद् हिराबहादुर थापाको सुझाब रहेको छ ।

आज साँझबाट हिउँदे वर्षा, बिहिबारसम्म देशभर पानी पर्ने आँकलन
आज रातिदेखि पश्चिम नेपालबाट हिउँदे वर्षा सुरु भएर बिहीबारसम्म काठमाडौं लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षा हुने भएको छ । मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएर हिउँदे वर्षा सुरु हुन लागेको हो । हिमाली भेगमा मङ्गलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको पूर्वानुमान गरिएको छ । यसपालिको हिउँदमा बितेको ३० वर्ष यताकै सबैभन्दा कम वर्षा भएको मापन गरिएको छ । वर्षा कम हुँदा हिउँदे बालीमा प्रत्यक्ष असरका साथै पानीका मुहान सुक्ने वा मुहानबाट कम पानी आउने, वायु प्रदूषण बढ्ने, डढेलोको जोखिम बढ्नेलगायतका समस्या आउनसक्ने वातारणविद्हरुले बताएका छन् ।

कांग्रेसभित्र गम्भिर मतभेद, शेखर गुटको पेलानमा देउवा
नेपाली काँग्रेसमा शेखर समूहले सबैभन्दा ठूलो दल भएपनि सरकार गठन गर्न नसक्नुमा संस्थापन समूह जिम्मेवार रहेको ठहर गरेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिन संस्थापन समूहले बाध्य बनाएको भएपनि सभामुख, उपसभामुख जस्ता पदमा काँग्रेसले गुमाउने अवस्था आउनुमा देउवा समुहको अपरिपक्क निर्णको उपज भएको आरोप नेता शेखर कोइरालाले लगाउनुभएको छ । माघ १५ गते बस्ने केन्द्रीय समितिको बैठकमा रणनीतिक रुपमा प्रस्तुत हुने निर्णयमा शेखर समूह पुग्दा संस्थापन समुह भने देउवाको बचाउमा छ ।

गण्डकीमा मन्त्रालय घटाएर सरकार विस्तारको तयारी
गण्डकी प्रदेशको मन्त्रालय घटाएर ७ मा झारिने सहमति जुटेसँगै आज मन्त्रिपरिषद विस्तारको तयारी गरिएको छ । मुख्यमन्त्री खगराज अधिकारीसँगै सत्तारुढ दलका नेता तथा मन्त्रीहरु मन्त्रालयको संख्या घटाएर मन्त्रिमण्डललाई पूर्णता दिने गृहकार्यमा जुटेका हुन । एमालेले मुख्यमन्त्रीसहित ४, माओवादीले २ र राप्रपाले १ मन्त्रालय पाउने मोटामोटी सहमति जुटेपनि औपचारिकता पाउन बाँकी छ । माओवादी केन्द्रकै चुनाव चिन्ह्बाट चुनाव जितेका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा पनि मन्त्रीका आकांक्षी छन् । सुरूमा ७ मन्त्रालय रहेको गण्डकीमा नेकपा विभाजनले सरकार नै धरापमा परेपछि तत्कालिन पृथ्वीसुब्बा गुरुङले ८ हुँदै ११ मन्त्रालय बनाएका थिए । पछि कांग्रेसबाट मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपाली पोखरेलले भागबण्डा मिलाउन मन्त्रालयको संख्या १२ पुर्याएका थिए ।

दुई युवाको अपहरणपछि विभत्स हत्या, ५ जना पक्राउ
धनुषाको जनकपुरधामका दुई युवकको अपहरणपछि विभत्स हत्या गरिएको छ । भारतीय भूमिमा गाडेको अबस्थामा शव फेलापरेसँगै प्रहरीले संकलन गरेको केही प्रमाण र पीडित परिवारका सदस्यहरुलाई गरेको फोन नम्बरको आधारमा नेपालका दुई तथा भारतका तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ । ५० लाख फिरौती मागेको आपराधिक समूहलाई परिवाले २० लाख दिन तयार भएपनि सहमति नजनाएर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ