Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaस्वदेशमै रोजगारी नपाउँदाको पीडा, विदेश मोहले यसरी ठगिन्छन नेपालीहरु

स्वदेशमै रोजगारी नपाउँदाको पीडा, विदेश मोहले यसरी ठगिन्छन नेपालीहरु


काठमाडौं । बेरोजगारी समस्याले रन्थनिएका नेपाली युवायुवतीहरुलाई कुवेत, युरोप, अमेरिका लगायतका देशमा आकर्षक तलबसहितको जागिरको लोभ देखाएर ठगी गर्ने र विदेशमा लगेर अलपत्र बनाउने गिरोहहरु सक्रिय रहेको तथ्य बारम्बार बाहिरिने गरेको छ । तरपनि यस्ता ठगि रोक्न सरकार र स्वयम युवायुवतीहरु सचेत हुन सकेका छैनन । जसका कारण बर्षेनी सयौँ नेपालीहरु आफू ठगको फन्दामा परेको भन्दै वैदेशिक रोजगार विभाग धाइरहेका छन् ।

बैदेशिक रोजगार विभागका अनुसार पछिल्लो समय मलेसिया, दुबई लगायतका खाँडी मुलुकमा कामदार भिसामा जानेहरुका उजूरी गुनासो हाराहारिमै युरोपेली मुलुक, अमेरिका, क्यानडा पठाउने प्रलोभनमा ठगीमा परेको गुनासो र उजूरी गर्नेहरु रहेका छन् । यसरी सुविधासम्पन्न मुलुकमा आकर्षक तलब सुविधा सहितको जागरि मिल्ने भ्रममा पर्दा ठगिनेहरु बढेपनि सरकारले रोकथाममा प्रभावकारी भुमिका खेल्न सकेको छैन । स्वयम व्यक्ति समेत ठगीमा पर्नबाट जोगिने बारे सचेत बन्न सकेका छैनन ।

आकर्षक तलब र कामको प्रलोभनले कुवेतमा एक नेपाली महिलाले भोगेको पीडा
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पीडित महिलाले दिएको सूचनाका आधारमा कुवेतबाट उद्धार गरिएको एउटा घटनाले हाम्रो बाध्यतासँगै ठगहरुको सञ्जाल बारे उजागर गरेको छ । एक महिलालाई आकर्षक तलब र कामको प्रलोभन देखाए कुवेत पुर्‍याइ १८ घण्टासम्म काममा लगाएर मानसिक र शारीरिक यातना दिएको पाइएपछि पीडित महिलाको उद्धार गरिएको छ भने आरोपीमध्ये दुई जना यतिबेला पक्राउ परेका छन् । ब्युरोका एसपी दानबहादुर मल्लले पीडितको जाहेरीपछि दुई जनालाई पक्राउ गरिएको र केही आरोपी कुवेतमै रहेको, केही फरार रहेकाहरुको खोजी भैरहेको जानकारि दिनुभयो । यो घटनाबाट धेरै नेपालीहरु आफै सचेत भएर ठगिनबाट बच्नुपर्नेमा एसपी मल्लले सचेत गराउनुभएको छ ।

यस्तो थियो घटना
सुरुमा कुवेतमा रहेको रेस्टुरेन्टमा वेट्रेसको काममा मासिक आकर्षक तलब दिने र त्यहाँ राम्रो काम गरेपछि पोर्चुगल र अमेरिकाका रेस्टुरेन्टमा समेत पठाइदिने लोभ देखाएर गएको मङ्सिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भ्रमण भिसामा यो गिरोहले यूएई हुँदै पीडित महिलालाई कुवेत पुर्‍याएका थिए । कुवेत पुगेपछि अन्य एजेन्टमार्फत् एक हजार ३०० दिनारमा पीडित महिला बिक्री भएको खुलेको छ । यसपछि दैनिक १८ घण्टासम्म श्रम शोषण गरी मानसिक र शारीरिक यातना दिएको महिलाले दिएको जाहेरीमा उल्लेख गरिएको प्रहरी श्रोतले बताएको छ ।

परिवारले ब्युरोमा उजुरी दिएपछि कुवेतमा रहेको नेपाली राजदूतावाससँगको समन्वयमा पीडित महिलालाई माघ ४ गते उद्धार गरी नेपाल फर्काएको थियो । पीडित महिलाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम हदैसम्मको कारबाही गरी पाउँ भनी माघ १० गते जाहेरी दिइन् । अहिले कुवेतमै रहेका एक आरोपीले पीडितको मोबाइल नियन्त्रणमा लिई उनको फेसबुकबाट विभिन्न व्यक्तिलाई अश्लिल कुराकानी गरेर पीडितका श्रीमान् लगायतका आफन्तलाई पठाइ धम्की दिने गरेको पाइएको छ । पीडित महिलालाई धम्की दिई कुवेतमा आफूखुसी आएको र बेचबिखनमा परेको होइन, नेपाल गएपछि यस विषयमा उजुरी गर्ने छैन भन्ने बेहोराको कागज गराइ भिडियोसमेत बनाइएको खुलेको छ ।

यो घटनाले नेपालमा रहेको चरम बेरोजगारी, नेपालीहरुको युरोप, अमेरिका मोहमा खेलेर मानव तस्करी गर्ने गिरोहहरु सक्रिय रहेको तथ्यलाई उजागर गरेको छ । नेपालबाट कामदार पठाउन नपाईने देशहरुमा भ्रमण भिषा लगायतका प्रक्रियामार्फत बिदेश पुर्याउने गिरोह सक्रिय रहेको तर्फ सरकार र सरोकारवाला कहिले गम्भिर बन्ने ? पीडित परिवारले प्रश्नसहित चासो व्यक्त गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ