नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको स्मरण, यसरी मनाइँदैछ प्रजातन्त्र दिवस
काठमाडौं । आज फागुन ७ अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवसलाई निरन्तरता दिदै आइएको हो ।
फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको पुरक उपलब्धीका रुपमा २०६३ सालको वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यी नै राजनीतिक परिवर्तनको बलमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ । दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी अहिले कार्यान्वयनको चरण सुरु भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएको राजनीतिज्ञ र अधिकारकर्मीहरुले बताउने गरेका छन् । सरकारले दिवसका अवशरमा आज सार्वजनिक बिदा दिएको छ ।
दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले देशको आर्थिक समृद्धिलाई अबको मूल लक्ष्य बनाउनुपर्ने बताउनुभएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र प्राप्ति र त्यसपछि भएका आन्दोलनका उपलब्धिको संरक्षण तथा रक्षाका लागि सबै एकताबद्ध हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत् समाजवादउन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको धारणा व्यक्त गर्नुभएको छ ।
दिवसका अवसरमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना व्यक्त गरेका छन् । यस्तै, पूर्वराजा ज्ञानेन्द्र शाहले समेत शुभकामना दिँदै राजनीतिक दल र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था बीच आपसी विश्वासका साथ सहकार्यका लागि ढिलाई गर्न नहुने बताउनुभएको छ ।
तपाईको प्रतिक्रिया