Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआज नेपालले नयाँ राष्ट्रपति पाउदै, नेम्वाङ र पौडेल को बलियो ?

आज नेपालले नयाँ राष्ट्रपति पाउदै, नेम्वाङ र पौडेल को बलियो ?


काठमाडौं । नेपालको राष्ट्रपति चयनका लागि आज चुनाव हुँदैछ । बिहान १० बजेदेखि सुरु मतदान दिउँसो ३ बजेसम्म हुनेछ । बेलुका ८ बजेभित्र मतदानको नतिजा प्रकाशन गरिने जनाइएको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा रहेको संसद् भवनको ल्होत्से हलमा मतदान भैरहेको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो । सङ्घीय संसद् र प्रदेश सभा सदस्यले बेग्लाबेग्लै मतदान केन्द्रमार्फत मतदान गरिरहेका छन् । राष्ट्रपति चुनावमा सङ्घीय संसद्का तीन सय ३१ र प्रदेश सभा सदस्य पाँच सय ५० मतदाता छन् । सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेश सभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । यस आधारमा सबै सङ्घीय सांसदको मतभार २६ हजार १ सय ४९ र प्रदेश सभा सदस्यको २६ हजार ४ सय गरी कुल मतभार ५२ हजार ५ सय ४९ रहेको छ । राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार २ सय ७५ मतभार ल्याउनुपर्ने संबैधानिक व्यवस्था रहेको छ ।

सङ्घीय सांसद मनाङबाट निर्वाचित कांग्रेसका टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा निलम्बनमा रहेका छन् । चितवनको निर्वाचन क्षेत्र २ रिक्त छ भने जसपाका समानुपातिक सांसद सहनाज रहमानको केही दिनअघि निधन भएको थियो । यो पटकको  राष्ट्रपति चुनावमा उम्मेदवारको फोटोसहितको मतपत्र प्रयोग भएको छ । मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ । मतदान केन्द्रभित्र मोबाइल लैजान निशेध छ । मतदान र मतगणनाका लागि आवश्यकता अनुसार पर्याप्त सुरक्षा व्यवस्थाका साथै दुवै मतदान केन्द्रमा सात–सातजना कर्मचारीको टोली खटिएका छन् ।

राष्ट्रपति पदको चुनावमा नौ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ । दिउँसो ३ बजे मतदान कार्य सम्पन्न भएसँगै मतगणना कार्य सुरु गर्ने र बेलुका आठ बजेभित्र परिणाम घोषणा गर्ने  तयारी भैरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्रपति चुनावमा मतदान नगर्ने भएको छ ।

चुनावलाई केन्द्रित गरी काठमाडौ उपत्यकाको  सुरक्षा सतर्कता उच्च पारिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले राष्ट्रपतिको चुनावका लागि झण्डै ९ सय जना जनशक्ति परिचालन गरिएको जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ मा सकिँदैछ । यहि संबैधानिक व्यवस्था अनुसार नयाँ राष्ट्रपतिको निर्वाचन भएको हो । राप्रपाको भोट नहाल्ने  निर्णय र गठबन्धनका कारण पौडेल नै राष्ट्रपति निर्वाचित हुने आँकलन गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ