Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsकुइन्सल्याण्ड एनआरएनए नेतृत्वमा ‘बनाना राजा’ र उमेश भिड्दै । सहमतिमै नेतृत्व बन्ने यस्तो छ आधार ।

कुइन्सल्याण्ड एनआरएनए नेतृत्वमा ‘बनाना राजा’ र उमेश भिड्दै । सहमतिमै नेतृत्व बन्ने यस्तो छ आधार ।


सरल गुरुङ/ ब्रिजवेन
गत हप्ता गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको कुइन्सल्याण्ड राज्य संयोजक पदमा उमेद्वारी दिएका धिरेन्द्र राज थापा र उमेश खड्का एकै ठाउमा भेटिए ।
सिटीको एक कफी पसलमा भेटिएका दुबै उमेद्वार एक आपसमा हसिलो पारामा भलाकुसारी गरिरहदा वरिपरी रहेकाहरु रमाइलो मानेर हेरिरहेका थिए ।
कुनै बेला एकै खालको व्यवसायमा रहेका यी दुइ अहिले फरक फरक प्यानलबाट संयोजक पदका लागि चुनाव लडिरहेका छन् । थापा नेकपा र खड्का नेपाली कांग्रेस दलको प्यानलबाट चुनाव लडिरहेका छन् ।
आपसी भेटमा हसिलो देखिएपनि दुबै उमेद्वार एक अर्कालाई कसरी हराउने भन्ने रणनीति बनाउदैछन् । जसका लागि प्यानलमा देखिने गरि र नदेखिने गरी दुबै पक्षका व्यक्तिहरु सक्रिय छन् ।

को हुन् ‘बनाना किङ’ र उमेश खड्का ?

ब्रिजबेनमा एउटा अनौठो नाम समुदायमा परिचित छ बनाना राजा । केराको व्यवसायमा वर्षौ बिताएका धिरेन्द्र राज थापालाई नेपाली समुदायमा बनाना राजाको उपनामले पनि चिनिन्छन् । ३० वर्ष अघि अष्ट्रेलिया आएका तिनै थापा पहिलो पटक गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको कुइन्सल्याण्ड संयोजकमा उमेद्वार बनेका छन् ।
नेपालको विराटनगरमा जन्मिएका धिरेन्द्र नेपाली चलचित्र क्षेत्रमा समेत सक्रिय रहदै आएका छन् । अहिले पनि केरा व्यवसायमै रमाएका धिरेन्द्रले आफुलाई कुनै दलको कार्यकर्ता नभई स्वतन्त्र समाजसेवीको रुपमा चिनाउदै आएका छन् ।
हालै सार्वजनिक भएको चुनावी भिडियोमा धिरेन्द्रले एनआरएनएको सदस्यता वितरणमा देखिएको समस्या हटाउने, नेपाली विद्यार्थीका लागि काम गर्ने, सामुदायिक भवन निमार्णमा सहयोग गर्ने जस्ता घोषणा गरेका छन् । धिरेन्द्रले यसअघि नेपलिज् एशोसियसन अफ कुइन्सल्याण्ड (एनएक्यु) मा रहेर समेत काम गरिसकेका छन् ।

उमेरले केही कान्छा भएपनि उमेश खड्का हाल गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको कुइन्सल्याण्ड राज्यको उपसंयोजक हुन् ।
उपसंयोजक पदमा रहेपनि अझै धेरै काम गर्न बाँकी रहेको भन्दै आफु संयोजक पदका लागि उमेद्वारी दिएको खड्काको दावी छ ।
सन् २०१२ मा अष्ट्रेलिया आएका उमेश खड्का सुरुवात देखि नै समाजसेवामा सक्रिय छन् । उनले सुरुवाति समयमा एनएक्युमा विद्यार्थी संयोजक भएर काम गरे । हुन त उनले नेपाल देखि नै समाजसेवा गर्दै आएको दावी गरेका छन् ।

हाल मिराई एजुकेसन कन्सल्टेन्सी संचालन गर्ने खड्काले विद्यार्थीलाई सहि मार्गदर्शन गरेर समेत समाजिक कार्य गर्न सकिने विश्वास राख्छन् । खासगरी गैरआवासिय नेपाली संघको कार्ड लिएपछि विभिन्न सहुलियत दिने कामलाई प्राथमिकतामा राखेका खड्काले ठुला घोषणा भन्दा समुदायको आवश्यकता अनुसार गर्न सकिने ससाना एजेण्डा तयार पारेको दावी गरेका छन् ।

कुइन्सल्याण्डको राजधानी व्रिजवेन शहर

चुनाव कि सहमति ?

गैर आवासिय नेपाली संघको निर्वाचन नजिकिदै गर्दा कुइन्सल्याण्ड राज्यमा काम गर्न सक्ने टिम सहमतिका आधारमा चुनिनु पर्नेमा समुदायले जोड दिएका छन् ।
गैर आवासिय नेपाली संघ गैर राजनीतिक संस्था भएकाले दलको प्यानलै बनाएर चुनाव लड्नु गलत भएको अष्ट्रेलियामा अन्तराष्ट्रिय राजनीति विषयमा पिएचडी गरिरहनु भएका बिक्रम तिमिल्सिनाले बताउनुभयो ।
‘एनआरएनए समाज जोड्न खोलिएको गैरराजनीतिक संस्था हो – तिमिल्सिनाले भन्नुभयो- ‘त्यसैले राजनीतिक प्यानल नै बनाएर चुनाव लड्दा समाज विभाजन हुदै आएको छ’ । त्यसैले सहमतिका आधारमा काम गर्न सक्ने समुह चयन गर्नुपर्ने उहाँको भनाई छ ।

त्यस्तै सामाजिक अगुवा भरतराज पौडेलले भने राजनीतिक दलको प्यानल भन्दा पनि काम गर्ने दुइ चार जनाको समुह बनाएर चुनाव लड्दा राम्रो हुने धारणा राख्नुहुन्छ ।
अष्ट्रेलियाकै राजनीतिक दल लेवर र लिवरलको प्यानल भएको भए स्विकार्य हुन्थ्यो होला भन्दै नेपालकै राजनीतिक दलको भातृ संगठन जस्तो गरेर एनआरएनएमा राजनीति गर्न नहुने पौडेलको भनाई छ ।
‘गैरआवासिय नेपाली संघले अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायलाई पनि बलियो बनाउने काम गर्नुपर्छ’ पौडेले भन्नुभयो -‘जसका लागि सहमतिमा साझा टिम चुनिनुपर्छ’ ।

उमेद्वारको व्यक्तित्व, अध्ययनशिलता, स्पष्ट भिजन र अनुभवका आधारमा सहमति खोज्नुपर्ने उहाँको भनाई छ ।

त्यस्तै एनआरएनए अष्ट्रेलियाका महासचिव समेत रहनु भएका नारायण कोइरालाले पनि नेतृत्वमा जानलाई प्रजातान्त्रिक अभ्यास गर्नु राम्रो भएपनि यति सानो ठाउमा सहमतिमै नेतृत्व चयन नै आजको आवश्यकता भएको बताउनुभयो ।

 

होला त सहमति ? यस्तो छ आधार

कुइन्सल्याण्डमा यसअघि पनि सहमति मै नेतृत्व चयन भएका उदाहरण छन् । त्यसैको आधारमा नयाँ कार्यसमिति पनि सहमति मै बन्ने अवस्थाहरु छन् ।
जसका लागि दुबै पक्षका उमेद्वार र टिम पनि सकारात्मक देखिएका छन् । सहमतिमा नेतृत्व चयन गनर्का लागि दुबैपक्ष वार्तामा बस्न एक अर्काको बाटो हेरिरहेका छन् । हामीले दुबै पक्षलाई सम्पर्क गर्दा नेपाली कांग्रेस र नेकपा समुहका नेता तथा कार्यकर्ताहरुले हदैसम्मको लचकता अपनाएर सहमति गर्न तयार रहेको दावी गरे ।
नेकपाका तर्फबाट विवेक अर्यालले धिरेन्द राज थापालाई संयोजकमा सहमति गरे उमेशलाई सम्मानजनक पद छोड्न आफुहरु तयार रहेको बताउनुभयो ।
अर्यालले धिरेन्द्रलाई संयोजकमा सहमति गरेमा यसपाली आइसिसीमा जाने कांग्रेसका उमेद्वारलाई आफुहरुले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उता नेपाली कांग्रेसका तर्फबाट अभिमानसिंह बस्नेतले भने शक्तिका आधारमा पद बाडफाड भए सहमतिमा जान तयार रहेको बताउनुभयो । समुदायका लागि उचित व्यक्ति आएमा हदैसम्मको लचिलो भई सहमतिमा जाने उहाँको भनाई थियो ।
तर, सहमति गर्दा यसअघि जस्तो नेतृत्वले आफ्नो पार्टीप्रति मात्रै बफादार भएर टिममा काम गर्न समस्या परेको भन्दै गुनासो समेत गर्नुभयो ।

यस्तो छ कुइन्सल्याण्डको नेतृत्व चयनको अवस्था ।

गैर आवासिय नेपाली संघ अष्ट्रेलिया सन् २००९ देखि कुइन्सल्याण्डमा समेत गठन भएको हो ।
कम्युनिष्ट धारका स्वतन्त्र प्रताप शाह संयोजक र प्रजातान्त्रिक समुहका इश्वर कुइकेल उपसंयोजक रहने गरि कुइन्सल्याण्डको पहिलो कार्यसमिति गठन भएको थियो । अर्को कार्यकालमा कुइकेललाई संयोजक बनाउने सहमति अनुसार शाह पहिलो संयोजक बनेका थिए ।
तर, सहमति अनुसार शाह समुहले कुइकेललाई साथ नदिएपछि सन् २०११ मा एनआरएनए कुइन्सल्याण्डको नेतृत्वका लागि मतदान भयो ।
चुनावमा फेरी स्वतन्त्रप्रताप शाह विजय भए ।
सन् २०१३ मा पनि सहमतिमा नेतृत्व छान्ने बहस नचलेको होइन । तर, कम्युनिष्ट धार र कांग्रेस धारबिच सहमति हुन सकेन । फलस्वरुप कांग्रेस पक्षधरका अभिमानसिंह बस्नेत समुहले अन्तिम समयमा आएर उमेद्वारी फिर्ता लिए ।
सहमति अनुसार केही नभएको तथा हाम्रा साथीहरुलाई धम्क्याउने समेत काम भएकाले हामी सबैले उमेद्वारी फिर्ता लिएर उहाँहरुलाई नै नेतृत्व गर्न दिएको हौ बस्नेतले भन्नुभयो ।
तर, सन् २०१५ को कार्यकालका लागि भने कांग्रेसका अभिमानसिंह बस्नेत संयोजक चुनिए ।
सहमतिमा यसअघि धोका भएको भन्दै सन् २०१५ मा दुबै प्यानल मतदानमा गएका थिए ।
तर, २०१७ मा भने सहमतिमा नेतृत्व चयन भयो । सन्तोष कुव“र संयोजक रहने गरि कांग्रेस र एमाले मिलेर सहमतिको टिमले काम गरिरहेको छ ।

कुइन्सल्याण्डमा २० हजार हाराहारीमा नेपाली बसोबास गरेपनि १४ सय मात्र एनआरएनमा सदस्य छन् । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ