Friday, 10 January 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा मे ५ तारिख विश्व प्रेस स्वतन्त्रता दिवस, दुई पत्रकार सम्मानीत हुने

सिड्नीमा मे ५ तारिख विश्व प्रेस स्वतन्त्रता दिवस, दुई पत्रकार सम्मानीत हुने


सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियामा कार्यरत नेपालीमूलका पत्रकारहरुको संस्था अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन एन्जाले आगामी मे ५ तारिख शुक्रबारका दिन सिड्नीमा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर समूदायसँग अन्तरक्रिया गर्ने भएको छ । अष्ट्रेलियाको नेपाली समूदायले यहाँका नेपालीमूलका पत्रकारहरुसँग राखेको अपेक्षा, एन्जाको धारणा एवं अहिलेको पत्रकारिताका आयामहरुबारे चर्चा गरिने भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल रहनुहुनेछ भने न्यूसाउथवेल्स राज्यमा रही क्रियाशील समूदायका अग्रजहरु सबैलाई आमन्त्रण गरिएको संस्थाका महासचिव नारायण खड्काले जानकारी दिए । सिड्नीको मेरिल्याण्डस्थित बार्दली फंक्सन सेन्टरमा शुक्रबार साँझ ६ बजेदेखि हुने कार्यक्रमको तयारी जोडतोडले अघि बढिरहेको जानकारी संस्थाका कोषाध्यक्ष खगेन्द्र सत्यालले दिएका छन् । उनका अनुसार यस पटकको यो सामूदायिक कार्यक्रमका लागि ब्राईटन कलेजले फ्रिडम ईभेन्ट पार्टनरका रुपमा सघाएको छ । ब्राईटन कलेज ब्रिसबेन, मेलबर्न र तास्मानियामा सञ्चालित छ । सन् २०१६ मा स्थापना भएको कलेजमा २०१७ देखि अन्तर्राष्ट्रिय विद्यार्थीहरु समेत अध्ययन गरिरहेका छन् ।

कार्यक्रमका संयोजक कृष्ण तिवारीले फ्रिडम सपोर्टरका रुपमा एनआरएन अष्ट्रेलिया, न्यूसाउथवेल्स महावाणिज्यदूतको कार्यालय र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले सहकार्य गरेको जानकारी दिए । यस्तै सपोर्टरका रुपमा एविसी ग्लोबल, अस स्टडिज, ईन्ट्याक्ट माईग्रेसन सर्भिसेज र केविए ग्लोबल अटाएका छन् ।

काफ्ले र आचार्यलाई एवार्ड

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा नै टीका कार्की सक्रिय पत्रकारिता पुरस्कारको पहिलो संस्करण समेत हस्तान्तरण गरिने भएको छ । एक हजार डलर राशीको पुरस्कार पहिलो पटक एन्जाका पूर्वअध्यक्षहरु हेमन्त काफ्ले र ऋषि आचार्यलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । अष्ट्रेलियामा रही यहाँको समूदायसँग निकट सम्बन्ध राख्दै पत्रकारिताको लामो अभ्यास गरेका आधारमा उहाँहरुलाई सम्मान गर्न लागिएको एन्जाका सचिव सरल गुरुंगले जानकारी दिए । हिमालय रेडियोमा विगत दुई दशकदेखि क्रियाशील पत्रकार टीका कार्कीको स्मृतिमा पुरस्कार स्थापना गरिएको हो । हरेक दुई वर्षमा क्रियाशील पत्रकारलाई एवार्ड र नगदसहित सम्मान गर्ने गरिन्छ ।

एन्जा अष्ट्रेलियाका अध्यक्ष चिरञ्जीवी देवकोटाले कार्यक्रममा सबैलाई निम्तो पठाइसकिएको र सबैको सहभागिताका लागि आह्वान गरेका छन् । वर्षभरि पत्रकारहरुले समूदाय र समाजका लागि क्रियाशील रहनेभएकाले कम्तिमा वर्षमा एक दिन समूदायले पत्रकारका लागि समय दिनुपर्ने उहाँको धारणा छ । विश्व प्रेस स्वतन्त्रता दिवसमा हामीले गर्दै आएको पत्रकारिता कर्म र यसलाई समूदायले कसरी लिएको छ भन्ने एउटा समिक्षात्मक बसाई हुनेछ भन्ने आफुले अपेक्षा गरेको अध्यक्ष देवकोटाले बताउनुभयो । साथै, समूदाय हाम्रा लागि हो र हामी समूदायका लागि हौं भन्ने भावना क्रियाशील पत्रकारमा बढाउनका लागि स्थापित पत्रकारिता एवार्डले भूमिका खेल्ने विश्वास पनि देवकोटाको छ ।

अष्ट्रेलियामा रही नेपाली सामूदायिक पत्रकारिता गर्ने २० भन्दा बढी संस्थाहरु छन् भने ५० भन्दा बढी पत्रकारले यी संस्थामा आबद्धता जनाएका छन् । यस्तै नेपालबाट प्रकाशित पत्रपत्रिका, टेलिभिजन र अनलाईनहरुको अष्ट्रेलिया प्रतिनिधिका रुपमा समेत केही पत्रकार क्रियाशील छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ