पूर्वगृहमन्त्री थापाका सल्लाहकार राई ठगी आरोपमा पक्राउ, छोराविरुद्ध समेत पक्राउ पुर्जी !
काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । ठगी मुद्दामा टेकुबाट खटिएको प्रहरी टोलीले ललितपुरको सुनाकोठीबाट राईलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर ललितपुरले सरकारी वकिल कार्यालयबाट जारी भएको वारेन्टका आधारमा राईलाई पक्राउ गरिएको जानकारि दिएको छ । राई नक्कली भुटानी शरणार्थी प्रकरणमा समेत मुछिएका छन् । नेकपा एमालेको उपाध्यक्ष समेत रहेका रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा राई सल्लाहकारको भुमिकामा थिए । राईका छोरा निरजविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ । द्वन्द्व विशेषज्ञ भनेर पनि चिनिने इन्द्रजित राईमाथी तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार भएको समयमा गृहमन्त्री, गृह सचिव लगायतलाई मिलाउनुपर्छ भन्दै नक्कली भुटानी शरणार्थी बनाउने गिरोहबाट पटक\पटक गरी ५ करोड रकम लिएको अभियोग लागेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान थाल्दा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ गत चैत १२ मै पक्राउ परेका थिए ।
सरकारले तेस्रो मुलुक जान छुटेका भुटानी शरणार्थीको प्रमाणीकरणका लागि २०७६ वैशाखमा पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । त्यसको प्रतिवेदनको अनुसूचिमा नाम थपेर अमेरिका पठाइदिने भन्दै यो गिरोहले झापा, मोरङ, सुनसरी, कास्की, बाग्लुङ लगायतका जिल्लाका मानिसहरुबाट रकम असुली गरेको पाइएको अनुसन्धान अधिकृतहरु बताउँछन् । कार्यदलको प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन ।
प्रहरी स्रोतका अनुसार नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै असुली गरिएकोबारे २०७८ सालको मंसिरमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारलाई बुझाएको निवेदनमा २०७६ असोज २ देखि फागुन २६ गतेसम्म तत्कालीन सुरक्षा सल्लाहकार राईले ५ करोड रुपैयाँभन्दा बढी बुझाएको उल्लेख छ । गिरोहले तत्कालीन गृहसचिव प्रेमकुमार राई, पछि महेश्वर न्यौपाने लगायतलाई पनि मिलाउनुपर्ने भन्दै रकम असुली गरेको बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया