सिड्नीमा एन्जाको विश्व प्रेस स्वतन्त्रता दिवस, पत्रकार द्वय काफ्ले र आचार्य सम्मानित !
ब्रिजबेन । अष्ट्रेलियामा कार्यरत नेपालीमूलका पत्रकारहरुको साझा संस्था अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन (एन्जा) ले सिड्नीमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ । न्यूसाउथवेल्स राज्यमा क्रियाशील समूदायका अग्रजहरुको उपस्थितिमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको अध्यक्ष चिरञ्जीवी देवकोटाले जानकारि दिनुभएको हो ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवशरमा एन्जाले अष्ट्रेलियामा कार्यरत पत्रकार द्वय हेमन्त काफ्ले र ऋषि आचार्यलाई टीका कार्की सक्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले पत्रकार द्वय काफ्ले र आचार्यलाई पुरस्कार वितरण गर्नुभएको थियो । एन्जा स्थापनामा सक्रिय भुमिका खेलेका काफ्ले र आचार्यले जनही पाँच सय अष्ट्रेलियन डलर नगद र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
राजदूत पोखरेलले एन्जाका पदाधिकारीसहित नेपाली समूदायका अगुवाहरुले प्रवासी नेपालीहरुलाई मातृभूमीसँग जोड्न भुमिका खेलेकोमा प्रशंसा गर्नुभएको थियो । एन्जाका अध्यक्ष चिरञ्जीवी देवकोटाले अझ जिम्मेवारीका साथ पत्रकारिता गर्ने हौसला मिलेको भन्दै कार्यक्रममा सहभगिता सबैलाई धन्यवाद दिनुभएको थियो । हिमालय रेडियोमा विगत दुई दशकदेखि क्रियाशील पत्रकार टीका कार्कीको स्मृतिमा स्थापना गरिएको पुरस्कार हरेक दुई वर्षमा क्रियाशील पत्रकारलाई वितरण गर्नेगरिन्छ ।
कार्यक्रमलाई ब्राईटन कलेजले फ्रिडम ईभेन्ट पार्टनरका रुपमा सघाएको थियो। यस्तै फ्रिडम सपोर्टरका रुपमा एनआरएन अष्ट्रेलिया, न्यूसाउथवेल्स महावाणिज्यदूतको कार्यालय र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले सहकार्य गरेको थियो। सपोर्टरका रुपमा एविसी ग्लोबल, अस स्टडिज, ईन्ट्याक्ट माईग्रेसन सर्भिसेज र केविए ग्लोबल रहेका थिए ।
तपाईको प्रतिक्रिया