Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा आगोलागी र वन डढेलोको विपद्ध : एक महिनामै १६ को ज्यान जादा ६५ घाइते !

नेपालमा आगोलागी र वन डढेलोको विपद्ध : एक महिनामै १६ को ज्यान जादा ६५ घाइते !


काठमाडौं । आगलागी तथा वन डढेलोका घटनाका कारण नेपालमा बैशाख महिनामा मात्रै १६ जनाले ज्यान गुमाएका छन् । ६५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार गएको १ गतेदेखि बैशाख ३०सम्म देशभर ५ सय २७ वटा आगलागी र ९४ वटा वन डढेलोका घटना भएका हुन् ।

आगलागीमा ११ जना र डढेलोमा परेर ५ जना गरी १६ जनाले ज्यान गुमाएको प्राधिकरणले जानकारि दिएको छ । गर्मी बढेसँगै दैनिक आगलागी र डढेलोका घटना पनि बढ्न थालेका छन् । एक महिनामा आगलागी र वन डढेलोका ६ सय २१ वटा घटनामा मानवीयसँगै अन्य भौतिक तथा संरचनागत क्षति भएको गृह मन्त्रालयको तथ्यांकले देखाएको छ । आगो तथा डढेलो लागेको देख्ने बित्तिकै पूर्वतयारीविना निभाउन जाँदा घाइते हुने तथा ज्यानै जाने जोखिम पनि उच्च देखिएको छ । आगो वा डढेलो लागेको अवस्थामा निभाउन जाँदा सुरक्षाका उपाय अपनाउन विज्ञले आग्रह गरेका छन् । आगो तथा डढेलो फैलिएका बेला जोखिम नमोल्न र सुरक्षाको उपायविना त्यस्तो ठाउँमा नजान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माले सबैदलाई सुझाब दिनुभएको छ ।

काठमाडौंं महानगरपालिकाको जुद्धवारुण यन्त्र कार्यालयका प्रमुख, नगर प्रहरी निरीक्षक प्रकाश पण्डित डढेलो लागिरहेका बेला निभाउन जानेले हावाको बहावलाई मुख्य ध्यान दिन सके जोखिम कम हुने बताउनुहुन्छ । उहाँका अनुसार हावाको बहाव जुन दिशातर्फ छ त्यसैतर्फबाट आगो निभाउन जुट्नुपर्छ । हावाको बहाव विपरीत जाने, जङ्गलको तल डढेलो लागेको छ भने माथिबाट निभाउने गल्ती गर्नु हुँदैन । यस्तैआगो वा डढेलो फैलिँदा भाग्ने ठाउँ पहिले नै तय गर्नुपर्ने हुन्छ । दिउँसो घाम चर्केका बेला डढेलो तथा आगो थप फैलने हुँदा सबैभन्दा पहिला आफू सुरक्षित हुनेतर्फ नै ध्यान दिन विज्ञको सुझाव छ ।

दमकल तथा अन्य साधन स्रोत उपलब्ध भए आगो निभाउन सहज हुन्छ । दमकल नपुग्ने र आगो निभाउन चाहिने साधन स्रोत नभएका ठाउँ वा वन जङ्गलमा लागेको डढेलो निभाउन हम्मेहम्मे पर्नेगरेको छ । घरमा आगलागी भएको छ भने त्यसबेला निभाउन खटिनेले आगोको जोखिमसँगै अन्य वस्तु, घरको छत, गारो, पर्खाल खसेर हुनसक्ने क्षतितर्फ पनि ध्यान दिनुपर्नेमा विज्ञको जोड छ । घर तथा भवन साँघुरो छ भने आगलागीका बेला अक्सिजन नै नपाएर पनि उद्धारकर्ताको ज्यान जोखिम हुन सक्छ । डढेलो तथा आगलागी नियन्त्रणमा खटिनेले सकेसम्म आगो र तातोले तत्काल नटिप्ने खालका कपडा, जुत्ताचप्पल लगाउन विज्ञको सुझाव छ । उद्धारकर्ताले आफूसँग आगो निभाउने अरु सामग्री छन् की छैनन् भनेर पनि ध्यान दिनुपर्छ ।

जङ्गलमा लागेको डढेलो निभाउन पानीसँगै हरियो स्याउला, माटोको पनि प्रयोग गर्न सकिन्छ । सकेसम्म आगो तथा डढेलो लाग्न नदिन चुरोटका ठूटा जथाभाबी नफाल्ने, आगो लागिसकेको ठाउँमा जलेका वस्तु माटोले पुरिदिन विज्ञले सबैलाई सुझाब दिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ