नक्कली भुटानी शरणार्थी प्रकरण : फरार पूर्वमन्त्री रायमाझी काठमाडौंबाट पक्राउ
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अर्बौं ठगी भएको प्रकरणमा मुछिएका एमाले नेता एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ पर्नुभएको छ । प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले रायमाझीलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरिएको हो ।
रायमाझी शनिबार काठमाडौं आएको सुईको पाएसंगै प्रहरीले निगरानी बढाएको थियो । पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पूर्वमन्त्री रायमाझी पक्राउ पर्नुभयो । रायमाझीले ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ । रायमाझीको साथ सहयोगमा नेपाली नागरिकलाई नक्करी शरणार्थी बनाउने गिरोहले गृहमन्त्रालयसम्म पनि बलियो पहुँच बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । रायमाझीविरुद्ध जिल्ला अदालत काठमाडौंले वैशाख २० मा पक्राउ पुर्जी जारी गरेसंगै फरार हुनुभएको थियो । अर्घाखाँचीमा सार्वजनिक कार्यक्रममा सहभागी उहाँ पक्राउ पुर्जी जारी भएपछि आफै काठमाडौं आउने भन्दै भैरहवा पुगेर एकाएक फरार भएका थिए ।रायमाझीका छोरा सन्दीपको नाममा डेढ करोड रुपैयाँको चेक कटिएको प्रमाण र आरोपितको बयानका आधारमा प्रहरीले कनेक्सन पहिचान गरेको थियो ।
यही प्रकरणमा मुछिएका रायमाझीका छोरा सन्दीप २० वैशाखमा नै पक्राउ परेका थिए । यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, खाँणका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई सहित १२ जना पक्राउ परिसकेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान थाल्दा १२ चैतमा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ परेपछि भीआईपी कनेक्सनको पोल एकपछि अर्को गर्दै खुलेको थियो । यो लेनदेनको कनेक्सन खाँड पत्नी मन्जुहुँदै पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणासम्म रहेको पोल खुलेपछि प्रहरीले थप तथ्य र प्रमाणको खोजीसहित अनुसन्धान गरिरहेको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ परेकाहरुल आईतवार नै जिल्ला अदालत काठमाडौंले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
तपाईको प्रतिक्रिया