Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा पीसीएल नर्सिङ पढाउने ७३ वटा कलेज बन्द, करोडौँ लगानी जोखिममा पर्ने कारण यस्तो !

नेपालमा पीसीएल नर्सिङ पढाउने ७३ वटा कलेज बन्द, करोडौँ लगानी जोखिममा पर्ने कारण यस्तो !


काठमाडौं । चिकित्सा शिक्षा ऐनका कारण कोशी प्रदेशमा ४, मधेशमा ६, बाग्मतीमा ३५, गण्डकीमा ४, लुम्बिनीमा १७, सुदूरपश्चिममा ६ र कर्णाली प्रदेशमा एक वटा गरी पीसीएल तहको नर्सिङ अध्ययन अध्यापन गराउने ७३ वटा कलेज बन्द भएका छन् । कलेजको आफ्नै अस्पताल नभएका स्नातक तहका देशभरका १८ वटा कलेजका बीएस्सी नर्सिङ र बीएन कार्यक्रमसमेत बन्द भएका हुन् ।

चिकित्सा शिक्षा सुधारका अभियन्ताका रुपमा स्थापित डा.गोविन्द केसीसँग सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न सरकारले संसदबाट २०७५ सालमा चिकित्सा शिक्षा ऐन जारी गरायो । त्यसपछि नियमावली जारी भएर ऐन कार्यान्वयन हुँदा त्यसको साइड इफेक्ट निजी क्षेत्रको अर्बौं लगानी, रोजागारी, विद्यार्थीको छात्रवृत्तिदेखि विभिन्न पक्षमा देखिएको छ । तीन वर्ष अघिसम्म ५० शय्याको अस्पताल भएका तथा प्रयोगात्मकको लागि अन्य अस्पतालसँग सम्झौता गरेका नर्सिङ कलेजहरुले तीन वर्षे डिप्लोमा अर्थात पीसीएल नर्सिङ पढाउन पाउँथे । सीटीईभीटीबाट सम्बन्धन लिएर पीसीएल नर्सिङ पढाइरहेका कलेजहरु चिकित्सा शिक्षा ऐनको त्रुटिपूर्ण कार्यविधिले बन्द हुने अवस्थामा पुगेका छन् ।

चिकित्सा शिक्षा ऐनले प्रवीणता प्रमाणपत्र (पीसीएल) नर्सिङलाई छोएको छैन । तर, प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद् (सीटीइभीटी)ले सोही ऐनको गलत व्याख्या गरेर नर्सिङ कक्षाको भर्ना रोक्दा ७३ वटा नर्सिङ कलेज करिब बन्द हुने अवस्थामा छन् । नेपालमा पीसीएल नर्सिङ र प्रि–डिप्लोमा तहको पढाइ हुने कलेज बन्द हुँदा विद्यार्थीसँगै ठूलो रकम पनि बाहिरिएको छ । बन्द भएका ७३ वटा कलेज चलेको भए दुई हजार ९२० जना विद्यार्थीले स्वदेशमै अध्ययन गर्थे । तर, उनीहरु विदेशिँदा एक अर्ब ३८ करोड ७० लाख रुपैयाँ बाहिरिएको तथ्यांकले देखाएको छ । सीटीईभीटीले एक जना विद्यार्थी बराबर पीसीएल नर्सिङ पढ्न खान र बस्नबाहेक ४ लाख ७५ हजार रुपैयाँ शुल्क तोकेको छ । यस्तै, ९ हजार ३९० सीटको प्रि–डिप्लोमा तहको पढाइ बन्द हुँदा एक विद्यार्थी बराबर एक लाख २५ हजारका दरले एक अर्ब १७ करोड ३७ लाख ५० हजार रुपैयाँ बाहिर गएको देखिन्छ । स्नातक तहको बीएस्सी नर्सिङ र ब्याचलर अफ नर्सिङलगायतका विषयको पढाइ बन्द हुँदा विद्यार्थीहरु भारत पढ्न जान बाध्य भएका छन् । जसबाट विद्यार्थीसँगै ३० करोड ७८ लाख रुपैयाँ बाहिरिने देखिन्छ ।

नेपालका नर्सिङ कलेजहरु धमाधम बन्द हुन थालेपछि नेपालको सीमावर्ती भारतीय शहरहरुका कलेजहरु नेपाली विद्यार्थीको लागि ढोक्सा थापेर बसेका छन् । नेपालको सीमा क्षेत्रमा नेपाली विद्यार्थीलाई लक्षित गरी नर्सिङ कलेज खुलेका छन् । नेपालमा ७३ वटा नर्सिङ कलेज बन्द हुँदा नेपाल सीमावर्ती भारतीय शहरहरुमा १६३ वटा नर्सिङ कलेज खुलेको पाइएको छ । भारतसँगै विदेशका विभिन्न कलेजमा पुगेर नर्सिङ शिक्षा लिनुपर्दा बाध्यतामा नेपाली विद्यार्थी पर्दा पढाई खर्चसँगै राज्यबाट ठूलो धनरासी बाहिरिने देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ