Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsयसकारण पछि हटे नन्द गुरुङ । गुरुङ निवास वार्ता ‘कोसेढुंगा’

यसकारण पछि हटे नन्द गुरुङ । गुरुङ निवास वार्ता ‘कोसेढुंगा’


सरल गुरुङ/सिड्नी

गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षको उमेद्वारीबाट नन्द गुरुङ पछि हटेका छन् । निर्वाचन आयोगले दिएको समय सिमाभित्र शुक्रबार राति उनले उम्मेद्वारी फिर्ता लिएका हुन् ।
गुरुङको उमेद्वारी फिर्तासंगै अब अध्यक्ष पदमा दिनेश पोखरेल र केशव कंडेलबिच मतदान हुनेछ ।

यस अघि गुरुङले आफुलाई प्रजातान्त्रिक समुहबाट आधिकारिक उमेद्वारको रुपमा खडा गरेका थिए । उनको समुहबाट युवा संयोजकमा विजय पौडेल, कोषाध्यक्षमा कुशल केसी, सचिवमा सरोज पाण्डे र महासचिवमा डा. शंकर ढकालले उमेद्वारी दिएका छन् ।
तर, भिक्टोरियाबाट केशव कंडेलको नेतृत्वमा आधिकारिक प्रजातान्त्रिक समुह दाबी गर्दै प्यानल घोषणा भएपछि गुरुङ र उनको समुह अप्ठ्यारोमा परेका थिए ।

कुन चाहि समुह आधिकारिक भन्ने विवाद चलिरहदा कंडेलको प्यानलले प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई आक्रमक बनाएको थियो भने गुरुङको समुह के गर्ने भन्नेमै अन्यौल थिए ।
अन्यौलकै बिच गुरुङको समुहले डार्बिन र व्रिजवेनमा घरदैलो कार्यक्रम गरेका थिए । न्यु साउथ वेल्स राज्यमा बलियो पकड बनाएका गुरुङ समुहको ‘बारबिक्यु’ कार्यक्रममा प्रजातान्त्रिक बिचारधारकै मानिसहरुको उपस्थिती न्युन देखियो । यसबाट गुरुङ केही हच्चिएका थिए ।
न्यु साउथ वेल्स राज्यको वर्तमान संयोजक समेत रहेका गुरुङको समुह सुधारका थुप्रै एजेण्डा लिएर मैदानमा उत्रिएका थिए ।
बाहिर छुट्टै समुहको नेतृत्व गरेपनि गुरुङ भित्रभित्र भने कंडेल समुहसंग निरन्तर वार्तामा थिए । वार्तामा गुरुङले यसपाली कंडेलको समुहले आफ्नो समुहका उमेद्वारहरुलाइ सघाउने र आगामी कार्यकालमा आफुले नेतृत्व पाए मैदान छोड्ने अडान लिदै आएका थिए ।
आगामी कार्यकालमा गुरुङलाई सघाउन कंडेल समुह तयार भएपनि गुरुङ पक्षका उमेद्वारका विषयमा भने निर्णय लिन सकिरहेको थिएन ।

गुरुङ निवास वार्ता

संचारकर्मीसंगको अनौपचारिक कुराकानीमा नन्द गुरुङले यसपाली केशव कंडेललाई नै अध्यक्षमा सघाउने भित्री इच्छा रहेको खुलासा गर्दै आएका थिए । तर, उनकै शब्दमा ‘प्रजातान्त्रिक समुहका केही नेताहरुको ‘इगो’का कारण दुइ समुह हुन पुगेको गुरुङको दावी थियो’ ।
एउटै विचारधाराको दुइ समुह चुनावमा उत्रिएपछि अष्ट्रेलियामा प्रजातान्त्रिक विचार बोक्ने नेपालीहरु निराश बनेका थिए ।
आफ्ना उमेद्वारको सम्मानजनक पद बाडफाड गरि सुरक्षित अवतरण गर्ने योजना बुन्दै केशव कंडेललाई भेट्न मेलवर्न पुगेका गुरुङ सहमति हुन नसकेपछि निराश भएर फर्किएका थिए ।

गुरुङ समुहको व्रिजवेन भेटघाट Photo- NepalTube

‘तपाईले मिलाउन सक्नु हुन्न भने म नेतृत्व लिएर तपाईको समुहलाई समेत मिलाएर लैजान्छु’- भन्दै कंडेललाई यसपाली मैदान छोडेर आफुलाई सघाउन प्रस्ताव राखेको गुरुङको भनाई छ ।
तर, सहमतिको छाटकाट नदेखिएपछि अन्तिम समयमै भएपनि चुनावी प्रचारप्रसारमा गुरुङ जुट्न थालेका थिए ।
तर, घरदलौ कार्यक्रमको भेटघाटमा मान्छे नै नआएपछि गुरुङ ‘कि मरि जानु, कि गरिखानु’ को स्थितीमा पुगेका थिए ।

अन्यौलकै बिच बिहिबार सिड्नीमा नेपाली टिभी अष्ट्रेलियाको बहस कार्यक्रममा सहभागि हुन आएका केशव कंडेल, नन्द गुरुङको घरमा बास बस्न पुगे । गुरुङ निवासमा यी दुइ उमेद्वारबिच गोप्य सहमति भएको छ । त्यहि सहमतिमा टेकेर गुरुङले शुक्रबार आफ्नो उमेद्वारी फिर्ता लिएका हुन् ।

सहमतिमा के छ ?

खासगरी अर्को कार्यकालको अध्यक्ष पदमा नन्द गुरुङलाई सघाउन केशव कंडेल राजी भएपछि उमेद्वारी फिर्ता लिने सहमति भएको हो ।
नेपाल ट्युबसंग टेलिफोनमा कुरा गर्दै अर्को कार्यकालमा आफु नै प्राजातान्त्रिक समुहबाट एक्लो उमेद्वार हुने गुरुङले बताउनुभयो ।
“एउटै विचारमा हिड्नेहरुको नै दुइ छुट्टाछुट्टै समुह हुदा त्यति राम्रो देखिएन”- गुरुङले भने -“त्यसैले केशवजिका लागि मैले बाटो खुल्ला गरिदिएको हु । अर्को निर्वाचनमा उहाँले पनि मलाई सघाउने सहमति भएको छ”।

तपाईको समुहका अन्य चार जना उमेद्वारलाई चाहि के गर्नुहुन्छ नि ? भन्ने प्रश्नमा गुरुङले भने – “हामी उहाँहरुको पनि सम्मानजनक पद बाडफाड गर्छौ ” । तर पदको बाडफाड के हुने भन्ने बारे भने गुरुङले बताउनु चाहेनन् ।
“हामी यस बारेमा छिट्टै प्रेस वक्तव्य निकाल्ने छौ”- गुरुङले भने ।

हामी अझै सशक्त लड्छौ ।

नन्द गुरुङको समुहमा बसेर उमेद्वारी दिएका उमेद्वारहरुले आफुहरु झन सशक्त बनेको बताएका छन् ।
“हामी पहिला पनि स्वतन्त्र थियौ अहिले पनि स्वतन्त्रै छौ”- युवा संयोजक उमेद्वार विजय पौडेले -“भने हामी एक अर्कालाई साथ दिदै शसक्त रुपमा उत्रिने छौ” ।
अध्यक्षबाट हटेपनि नन्द गुरुङले आफुहरुलाई सघाउने प्रतिवद्धता गरेको पौडेलको भनाई छ ।

त्यस्तै कोषाध्यक्षका उमेद्वार कुशल केसीले आफु कसैलाई हराउन र जिताउन भन्दा पनि नेपाली समाजका लागि केही गर्न उमेद्वारी दिएकाले कसैले छोड्दा कुनै असर नपर्ने बताउनुभयो । आफुहरुसंग मत भएकाले कंडेल समुहले आफुहरुसंग संवाद गर्नुपर्ने केसीको भनाई छ ।
त्यस्तै सचिवका उमेद्वार सरोज पाण्डेले मैदानमा उत्रिसकेकाले अब पछि हट्नुको कुनै अर्थ नरहेको बताउनुभयो ।

“हामी सबैलाई मिलाएर लैजान्छौ” – केशव कंडेल

यसैबिच प्रजातान्त्रिक समुहबाट अध्यक्षका उमेद्वार केशव कंडेलले नन्द गुरुङको कदमलाई धन्यवाद दिएका छन् । नेपाल ट्युबसंग टेलिफोनमा कुरा गर्दै कंडेलले गुरुङको कदमबाट आफु खुसी र आभारी भएको बताउनुभएको हो ।

अर्को कार्यकालमा गुरुङलाई सघाउने हो त ? भन्ने प्रश्नमा कंडेलले भने – “हामी पुराना मिल्ने साथी हौं त्यसैले एकअर्कालाई सहयोग गर्नु हाम्रो स्वभाव र धर्म दुबै हो” ।

तर, गुरुङ पक्षका चार उमेद्वारका विषयमा भने कंडेले त्यत्ति खुल्न चाहेनन् । सबैलाई मिलाएर लाने प्रयास गर्ने कंडेलको भनाई थियो । पद मिलान कसरी गर्ने भन्ने चाहि छलफलबाट मात्रै टुंगो लगाइने कंडेलको भनाई छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ