Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsडाक्टर शाह मृत भेटिएको घटना, एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिदै !

डाक्टर शाह मृत भेटिएको घटना, एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिदै !


काठमाडौं । कैलालीको धनगढीमा चिकित्सक मृत भेटिएको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा.प्रसन्ना शाह बिहीबार बिहान आफ्नै कोठामा मृत भेटिएको घटना बारे अनुसन्धानका लागि प्रहरीले धनगढीकै विकल केसीलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले मृतकका परिवार किटानी जाहेरी लिएर प्रहरीमा आएपछि केसी शनिबार विहान आफैं प्रहरी कार्यालय आउनुभएको जानकारि दिनुभयो । चिकित्सक शाहको परिवारले प्रहरी कार्यालयमा पेश गरेको किटानी जाहेरीमा माया मेट्रो अस्पतालमै कार्यरत डा. सन्दीप भट्टराई र धनगढीका विकल केसीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गर्न माग गरिएको छ । डीएसपी चन्दले जाहेरी दर्ताको प्रक्रिया पुरा भएर अनुसन्धान अघि बढेको जानकारि दिनुभयो ।

त्रि–कोणात्मक लभले घटना घटेको प्रारम्भिक निष्कर्ष
डा.शाह र धनगढीका युवक केसीको पहिल्यैदेखि प्रेम सम्बन्ध रहेको प्रहरीले प्रारम्भीक अनुसन्धानबाट पत्ता लगाएको छ । केसीको परिवारले पनि दुबै जना प्रेम सम्बन्धमा रहेको स्वीकार गरेका छन् । फागुनमा केसी दुर्घटनामा परेदेखि डा.शाह र केसीको सम्बन्ध टुटेको दुबै परिवारले जानकारि दिएका छन् । यहि मौकामा मायामेट्रो अस्पातलमा फिजियोथेरापी विभागमा कार्यरत डा.सन्दीप भट्टराईले मृतक डा.शाहसँग सम्बन्ध बनाएको र पछि केसीले बिबाह गर्ने तयारीसहित डा.शाहसँग सम्पर्क गर्न खोज्दा भट्टराईले रोकावट गरेपछि यो घटना भएको आँकलन गरिएको छ । डा.भट्टराईको नैतिक आचरणमा साथीहरूले पनि बेलाबेला प्रश्न उठाउने गरेको प्रहरीले प्रारम्भीक अनुसन्धानका क्रममा फेला पारेको छ । डा.भट्टराईले मृतक डा.शाहसँग शारिरिक सम्बन्धका लागि मात्रै देखावटी प्रेम गरेको सहकर्मीहरुबाटै पोल खुलेको छ । त्रिकोणात्मक प्रेम सम्बन्धन बारे समेत प्रहरीले गहन अनुसन्धान गरिरहेको छ । मृतक डा.शाहलाई ६ महिनादेखि आफ्नो नियन्त्रणमा लिएर डा.भट्टराईले केसीको मोबाइल नम्बर ब्लक गर्न लगाएका सहकर्मीले बताएका छन् । जेठ १ गते जन्मदिनको अवसर पारेर डा.शाहसँग कुरा फाइनल गर्ने पक्षमा केसी रहेका थिए । डा.भट्टराईले डा।शाहलाई केसीसँग भेट गर्न नदिएको अस्पताल स्रोतको दाबी छ । केसीले अन्तिम कुराकानी गर्न अस्पतालको ल्यान्डलाइनमका पनि पटक पटक फोन गरे पनि कुराकानी भने नभएको केसीको परिवारले बताएको छ ।

प्रेममा धोका र बदलामा ब्ल्याकमेलिङ र टर्चर सहन गर्न नसकेर डा.शाहले मृत्यु रोजेको हुनसक्ने अनुमान सहकर्मी र परिवारजनले गरेका छन् । जिल्ला प्रहरी कार्यालयका एसपी देवेन्द्र पालले घटना प्रारम्भिक अनुसन्धानको चरणमा रहेकाले धेरै कुरा सार्वजनिक गर्न नमिल्ने बताउनुभयो । कोठामा चिकित्सक मृत भेटिएको घटना बारे विभिन्न पाटोबाट अनुसन्धान गरिरहेको प्रहरीले छिट्दै अनुसन्धानबाट खुल्ने तथ्यहरु सार्वजनिक गरिने प्रतिबद्धता समेत जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ