Saturday, 18 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविदेशबाट फर्किएका नेपालीले के–के ल्याउन पाउँछन ? यस्तो छ पछिल्लो नियम !

विदेशबाट फर्किएका नेपालीले के–के ल्याउन पाउँछन ? यस्तो छ पछिल्लो नियम !


काठमाडौं । वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले दुई वटासम्म र शिक्षा, भ्रमण लगायतका अन्य भिषमा विदेश पुगेर फर्किनेले चलाईरहेको एउटा मोबाइल फोन ल्याउदा भन्सार तिर्नु नपर्ने भएको छ । भन्सार विभागले आज एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा भएकाले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने जनाएको हो ।

विभागका निर्देशक पुण्यविक्रम खड्काले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले एउटा चलाइरहेको र एउटा ‘सिलप्याक’ वा दुवै चलाइरहेको मोबाइल र अन्य भिषा बाहकले एउटा फोन ल्याउँदा भन्सार तिर्नुनपर्ने जानकारि दिनुभयो । यो बाहेक विदेशबाट फर्किने नेपालीहरुले एउटासम्म थप फोन ल्याउन पाउने छन् । तर यसरी ल्याइएको एउटा फोनको १८ प्रतिशत भन्सार तिर्नुपर्नेछ । अध्ययन तथा अन्य प्रयोजनका लागि विदेशीएका नेपालीले थप एक थान फोन ल्याउदा नियमअनुसारको भन्सार तिर्नुपर्ने खड्काले जानकारि दिनुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रणाली एमडीएमएस लागू गरेसँगै धमाधम दर्ता भैरहेका छन् । जेठ १५ सम्म विदेशबाट ल्याइएका धेरै फोन एमडीएमएस प्रणालीमा दर्ता नभएपछि आर्थिक बिधेयक मार्फत एक लाख बढीका आईफोन लगायतका फोनलाई १० हजार, एक लाख भन्दा कमका फोनको हकमा ३ हजार र सामान्य फोनको २ सय कर तिर्नुपर्ने नियम लागू गरिएको छ । यो नियम विदेशबाट आउने नयाँहरुको हकमा लागू नहुने बताइएको छ ।

टेलिभिजन सेटमा यस्तो व्यवस्था :
लगातार १२ महिनाभन्दा बढी बैदेशिक रोजगारीमा समय बिताएर स्वदेश फर्किने सामाजिक सुरक्षा कोषमा सुचिकृत यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन सेट बिना भन्सार शुल्क ल्याउने पाउनेछन् । समाजिक सुरक्षा कोषमा आवद्ध नभएका यात्रुको हकमा ३२ इन्चसम्मको टेलिभिजन सेट ल्याउन भन्सार छुट दिइएको छ । यो सुविधा बाहेकको टेलिभिजन आयातमा भन्सार कानुन अनुसारकै शुल्क लाग्ने बताइएको छ ।

यस्तो छ सुन ल्याउने व्यवस्था :
सुन ल्याउन यस्तो छ कानुनी व्यवस्था महिला यात्रुको हकमा ५० ग्राम, पुरुष यात्रुको हकमा २५ ग्रामसम्मका सुनका गहना ल्याउन भन्सार शुल्क लाग्नेछैन । महिला र पुरुषको हकमा बिना भन्सार शुल्क ल्याउन छुट दिइएको बाहेक अधिकतम २०० ग्रामसम्म भन्सार विन्दुमा शुल्क तिरेर ल्याउन पाइन्छ । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्रि जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नदिइने बताइएको छ ।

यात्रुहरुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश, २०७७ को व्यवस्था अनुसार यो भन्सार नियम लागू गरिएको हो । यसअघि एउटा फोन ल्याउदा समेत कर लिने सरकारी तयारी चर्को बिरोधपछि कार्यान्वयनमा आएको थिएन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ