Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा मनसुनसँगै बाढी पहिरोको जोखिम, खोज उद्धारमा प्रधानमन्त्रीको ध्यानाकर्षण

नेपालमा मनसुनसँगै बाढी पहिरोको जोखिम, खोज उद्धारमा प्रधानमन्त्रीको ध्यानाकर्षण

कोशी प्रदेशमा बाढी पहिरोको बितण्डा : २६ जना वेपत्ता, १ को मृत्यु !


काठमाडौं । मनसुन सुरु भएसँगै परेको अविरल वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा ठूलो जनधनको क्षती भएको छ । शनिबार राति आएको बाढी र पहिरोमा परी कोसी प्रदेशका विभिन्न जिल्लामा २६ जना बेपत्ता भएका हुन् । यो घटनामा एक जनाको मृत्यु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले बाढीपहिरोको भौतिक तथा मानवीय क्षति ठूलो भएको हुनसक्ने भए पनि विवरण आउन बाँकी रहेको जानकारि दिएको छ । शनिबार राति संखुवासभाको हेवा खोलामा आएको बाढीमा परेर मात्रै १६ जना बेपत्ता भएका छन् । चैनपुर नगरपालिका–४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनामा १९ जना कार्यरत रहेकोमा १६ जना मजदुर बेपत्ता भएका छन् । तीन जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारि दिएको छ ।

यस्तै, संखुवासभाको पाँचखपन नगरपालिका–५ मा एक जनाको शव भेटिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता ऋषिराम कँडेलले जानकारी दिनुभयो । शनिबार राति नै हेवा खोलाको बाढीले पाँचथरको फिदिममा पाँच जना बेपत्ता भएका छन् । मेची राजमार्ग अवरुद्ध भएको छ । फालेलुङ–३ खोलाघारी सेपीमा पहिराले पुरेका एक बालकको सकुशल उद्धार भएको वडाध्यक्ष शक्ति केरुङले जानकारी दिनुभएको छ । तमोर करिडोरको ‘बेलीब्रिज’ पनि बाढीले बगाएको छ । ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनासहित चार जना बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बुले वेपत्ताको खोजीकार्य जारी रहेको बताउनुभएको छ । क्षतिको पूर्ण विवरण संकलनको काम जारी रहेको प्रहरीले जनाकारि दिएको छ ।

खोज उद्धारमा विशेष ध्यान दिन प्रधानमन्त्री प्रचण्डको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । बेपत्ता भएकाहरुको खोजी, उद्धार एव् राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र कर्मचारीहरुलाई निर्देशन समेत प्रधानमन्त्री प्रचण्डले दिनुभएको छ ।

नेपालमा वर्षेनी ठूलो जोखिम
नेपालमा हरेक वर्ष मनसुनका कारण ठूलो जनधनका क्षति हुँदै आएको छ । यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजार जनाभन्दा धेरै नागरिक प्रभावित हुने, २ लाख ८६ हजारभन्दा धेरै घरधुरीमा असर पुग्ने पूर्वानुमा मौसम विज्ञान विभागले गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण भने मनसुनमा हुन सक्ने विपद् जोखिमको न्यूनीकरणका लागि पूर्वतयारी गरिएको र यसमा पालिकाको मुख्य भूमिका हुने बताइरहेको छ प्राधिकरणका उपसचिव एवं प्रवक्ता ध्रुवबहादुर खड्काले विपदमा प्रभावित भएकाहरुलाई तत्काल पालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसँग सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ