Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकीर्तिमानी आरोही बुढामगरलाई बेलायतमा ‘पोइन्ट अफ लाइट’ अवार्ड !

कीर्तिमानी आरोही बुढामगरलाई बेलायतमा ‘पोइन्ट अफ लाइट’ अवार्ड !


लण्डन । कीर्तिमानी आरोही हरी बुढामगर युकेका प्रधानमन्त्रीका तर्फबाट प्रदान गरिने ‘पोइन्ट अफ लाइट’ अवार्डबाट सम्मानित हुनुभएको छ । पर्बतारोहण र एडभेन्चरका माध्यमबाट अपाङ्गता एउटा सोंच मात्र हो, सबलाङ्गहरुले गर्न सक्ने सबै काम अपांगता भएका ब्याक्तिले पनि गर्न भन्ने सचेतना फैलाउने बुढामगर यही कदमका कारण सम्मानित हुनुभएको हो ।

घुडा माथिबाटै दुवै खुट्टा गुमाउनुभएका हरि बुढा मगरले केही समय अघि मात्रै सगरमाथाको शिखरमा पाइला टेक्दै किर्तिमान राखेर आफ्नो समुदायमा सचेतना फैलाउनुभएको थियो । सशस्त्र बल दिवसको अवसरमा १० डाउनिङ स्ट्रीट रिसेप्शनमा भेटेरान्स मन्त्री जोनी मर्सरले हरिलाई अवार्ड प्रदान गर्नुभएको थियो ।

अवार्ड प्राप्त गरेपछि हरिले भन्नुभयो, ‘पोइन्ट अफ लाइट’ अवार्ड द्वारा सम्मानित हुनु गौरवको कुरा हो । सगरमाथा आरोहण कुनै कीर्तिमान वा सम्मान अवार्ड र पुरस्कारको बारेमा थिएन, यो समाजले अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने तरिकामा फरक पार्ने प्रयास गर्ने र सबै मानिसहरूलाई ’आफ्नो हिमाल चढ्न’ प्रेरणा दिने कुरा थियो । मलाई विश्वास छ कि परिस्थितिसँग आफुलाई अनुकूल बनाएर, समर्पण, दृढ संकल्प र टिमवर्कको माध्यमबाट हामीले हाम्रो दिमागमा राखेका सबै कुरा हासिल गर्न सक्छौं । यो गाह्रो हुन सक्छ, तपाईंले आशा गरेको भन्दा लामो समय लाग्न सक्छ र आवश्यक मद्दत, आफ्नो अवस्था अनुसार चाहिने सामग्री बनाउने (इन्नोभेसन) र तरिका परिबर्तन गर्नु पर्ला तर यो गर्न सकिन्छ र सम्भब छ, त्यसको उदाहरण तपाईंको अगाडी उभिएको छु । मेरो अन्तिम श्वास रहेसम्म आरोहण गरिरहनेछु । ब्रिटिस आर्मीमा गोर्खा हुँदाको समयले सेवाको महत्व जगाएको थियो अब मेरो जीवन मेरो परिवार, समुदाय र समाजको सेवामा रहनेछ ।’

कीर्तिमानी आरोही हरिले बिभिन्न च्यारिटी र सामाजिक कार्यमा समेत योगदान दिदै आउनुभएको छ । हालसम्म ‘गोर्खा वेलफेयर ट्रस्ट’ लगायत सशस्त्र बल परोपकारी संस्थाका लागि बुढामगरले ११,००० पाउण्डभन्दा बढी सङ्कलन गरिसक्नुभएको छ । आगामी वर्षहरूमा सगरमाथा आरोहणबाट विकसित प्लेटफर्म मार्फत ८८४,९०० (सगरमाथाको उचाइमा दुई वटा सुन्ना थपेर) उठाउने लक्ष्य राखेर च्यारिटी गराउँदैआउनुभएको छ । बिश्वभरि छरिएर रहेका अपाङ्गता भएकाहरुमा हामी पनि केही गर्न सक्छौँ भन्ने शन्देष र चेतना फैलाउने उद्देश्यसहित सक्रिय हुनुहुन्छ । हरिले बेलायत, नेपाल र विदेशका संस्थाहरूमा पनि आफ्नो अनुभब, अप्ठ्यारा, असजिला र आफुले गरेका संघर्षका कथा स्कूलहरू, विश्वविद्यालयहरू र सेना प्रशिक्षण केन्द्रहरूमा पुगेर सार्वजनिक गर्दै प्रेरणा भर्दै आउनुभएको छ ।

युकेको प्रधानमन्त्री दैनिक ’पोइन्ट अफ लाइट’ अवार्ड उत्कृष्ट व्यक्तित्वहरु, स्वयंसेवकहरू र आफ्नो समुदायलाई राम्रो बनाउन र सकारात्मक परिबर्तन गर्न समर्पित व्यक्तित्वलाई सम्मान गरेर समाजप्रतिको उत्तरदायित्व बोध गराउने अवार्ड हो । यो अवार्डबाट समाजमा केही फरक गरिरहेका सामाजिक गतिबिधिमा सक्रिया सयौँ व्यक्तित्वहरु सम्मानित हुनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ