Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalपशुपतिनाथको ११ किलो सुन गायब प्रकरण : गुणस्तर र तौल परीक्षणसँगै अख्तियारको अनुसन्धान !

पशुपतिनाथको ११ किलो सुन गायब प्रकरण : गुणस्तर र तौल परीक्षणसँगै अख्तियारको अनुसन्धान !


काठमाडौं । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको जलहरी निकालेर सुनको गुणस्तर र तौल परीक्षण गरिएको छ । जलहरीमा तोकिएको परिमाण भन्दा कम सुन राखिएको र गुणस्तर पनि कम भएको भन्दै परेको उजुरीको छानविनका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जलहरी निकालेर पशुपति क्षेत्रमा गुणस्तर तथा तौल परीक्षण गरेको हो ।

आइतबार बेलुकीदेखि शुरु भएको परीक्षण राति अबेर नै सकिएको छ । अहिले अनुसन्धानका क्रममा रहेकाले परीक्षणबाट प्राप्त विवरण गोप्य रहने र अनुसन्धान टुङ्गोमा पुगिएपछि मात्रै सार्वजनिक गरिने अख्तियारका प्रवक्ता भोला दाहालले जानकारि दिनुभयो । तौल तथा गुणस्तर जाँचका लागि अख्तियारले सुनचाँदी व्यवसायी सङ्घका पदाधिकारी एवं विज्ञका साथै खानी तथा भूगर्भविभागका अधिकारीहरु र पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई समेत सहभागी गराएको थियो ।

राष्ट्र बैंकबाट ८० करोड रुपैयाँमा सुन खरिद गरेर अपारदर्शी रुपमा जलहरी निर्माण गरेको तथा तोकिएको परिणाम अनुसार काम नगरेको भन्दै दुई वर्ष अगाडि नै अख्तियारमा उजुरी परेको थियो । महालेखा परीक्षकको कार्यालयले समेत आफ्नो वार्षिक प्रतिवेदनमार्फत एक सय ३ किलो ७ सय ७३ ग्राम सुनमा झण्डै ११ किलो हिनामिना भएको तथ्य औँल्याएको थियो । उजुरी र महालेखको टिप्पणीपछि अख्तियारले अहिलेअनुसन्धान अधिकृत नै तोकेर छानबिन गरिरहेको छ । यसअघि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा सदस्य, भट्ट, पुजारी, सुरक्षाकर्मी लगायतसँग बयान लिइएकोछ । जलहरीमा अनियमितता भएकोबारे प्रतिनिधि सभामा समेत कुरा उठ्दा एमाले सांसदले चर्को बिरोध गरेका थिए । एमालेले विरोधका कारण सांसदको भनाइ नै रेकर्डबाट हटाइएको छ ।

जलहरी विवादमा केपी शर्मा ओलीसहित तत्कालीन पदाधिकारीहरुमाथि प्रश्न उठेकाले प्रेम राई नेतृत्वको अख्तियारबाट हुने अनुसन्धानमाथी नै आशंका गर्न थालिएको छ । जलहरी बनाउन बाहिरबाटै सुन किन्ने तयारी भए पनि शुद्धता र परिणाममा प्रश्न उठेपछि सरकारको आधिकारिक निकाय राष्ट्र बैँकबाटै सुन खरिद गरिएको थियो । सुन खरिदमा ५० करोड रुपैयाँ पशुपति क्षेत्र विकास कोषबाट र ३० करोड रुपैयाँ राज्यकोषबाट खर्च भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ