Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएकीकृत निर्वाचन कानुनको मस्यौदा तयार, विदेशमा रहेका नेपालीले भोट हाल्न पाउलान त ?

एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार, विदेशमा रहेका नेपालीले भोट हाल्न पाउलान त ?


काठमाडौं । निर्वाचन आयोगले एकीकृत निर्वाचन कानुनको मस्यौदा पारित गरेसँगै अब विदेशमा रहेका नेपालीहरुले मताधिकारको अधिकार पाउने भएका छन् । सोमवार बसेको आयोगको बैठकले निर्वाचन कानुनको मस्यौदा पारित गरेर सरकारलाई पठाउने निर्णय गरेसँगै विदेशमा बस्ने नेपालीहरुमा मताधिकार पाउने आशा पलाएको हो ।

आयोगले पारित गरेको निर्वाचनसम्बन्धी कानुनमा नो भोट, विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गरिएको छ । आयोगको मस्यौँदा हुँबहु पारित भएमा मतदाताले उम्मेदवार मन परे नपरेको छान्न पाउनेछन् । विदेशमा बसोबास गर्ने लाखौँ नेपालीहरुले मतदानको अधिकार उपयोग गर्न पाउनेछन् । यस्तै, चुनावमा ३३ प्रतिशत महिला उम्मेदवार, चुनावमा उम्मेदवार बन्ने सीमा निर्धारणलगायतका नयाँ व्यवस्था प्रस्ताव गरेको छ । मस्यौदामा प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवारी दिँदा दलहरूले ३३ प्रतिशत महिला उमेदवार अनिवार्य उठाउनुपर्ने प्रस्ताव गरिएको छ । पालिकाको अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुखमध्ये कम्तीमा एक जना महिला उम्मेदवार बनाउनुपर्ने पुरानो व्यवस्थामा एउटा पदमा मात्र उम्मेदवारी दिँदा महिला उम्मेदवार हुनुपर्ने व्यवस्था थप गरेको छ । उम्मेदवारी दिने वडाध्यक्षमध्ये ३३ प्रतिशत महिला उम्मेदवार बनाउनुपर्ने कानुनको मस्यौदामा व्यवस्था गरिएको छ । उम्मेदवारले परिवारसहितको सम्पत्ति विवरण बुझाउनुपर्ने एकीकृत निवार्चन विधेयकमा चुनावको मिति पनि तोकिएको छ ।

निर्वाचन कानुनमा अनलाइनमार्फत मतदान गर्न सक्ने व्यवस्था पनि गरिएको छ । यस्तै प्रतिनिधिसभा र प्रदेशसभामा दुई पटक समानुपातिक सांसद बनेको व्यक्ति समानुपातिक प्रणालीको उम्मेदवार बन्न नपाउने, एउटा तहको चुनावमा पराजित भएको व्यक्ति पाँच वर्षसम्म अर्को तहमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था पनि प्रस्ताव गरेको छ । आयोगले पठाएको मस्यौदालाई सरकारले विधेयकको रूपमा संसद्मा लगेर पारित गरेपछि मात्रै कार्यान्वयनमा आउनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ