Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsदैनिक ४ जना बढी नेपालीले विदेशी भूमिमा गुमाउँदै ज्यान, क्षतिपूर्ति रकम बढाउने तयारीमा सरकार !

दैनिक ४ जना बढी नेपालीले विदेशी भूमिमा गुमाउँदै ज्यान, क्षतिपूर्ति रकम बढाउने तयारीमा सरकार !


काठमाडौं । वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकले पाउने क्षतिपूर्ति रकम बढाउने तयारीमा सरकार जुटेको छ । चालु आर्थिक वर्ष २०८०\८१ को बजेटको घोषणा अनुसार मृतक श्रमिकको परिवारले पाउने क्षतिपूर्ति रकम बढाउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले जानकारी दिनुभएको हो ।

क्षतिपूर्ति रकमलाई समसामयिक बनाउनु पर्छ भन्ने बजेट घोषणालाई सम्बोधन गर्नेगरि कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउन मन्त्रालय प्रक्रियामा रहेको बताइएको छ । अहिले वैदेशिक रोजगारीमा गएका श्रमिकको विदेशमा नै मृत्यु भएमा परिवारले ७ लाख रुपैयाँ क्षतिपूर्ति पाइरहेका छन् । यो रकम बृद्धी भएर कति हुने भन्ने कार्यविधि बनिसकेपछि मात्र स्पष्ट हुने घिमिरेले जानकारि दिनुभयो । क्षतिपूर्ति बढाएर ९, १० वा १२ लाख कति पुर्‍याउने भन्ने बारे कार्यविधि निर्माणको तयारीका क्रममा छलफल भैरहेको पाइएको छ । सरकारले आर्थिक वर्ष २०७४\७५ बाट ७ लाख रुपैयाँ क्षतिपूर्ति दिदैआएको छ ।

नयाँ कार्यविधि बनेसँगै वैदेशिक रोजगारीमा गएर ज्यान गुमाउने श्रमिकका सन्ततिले पाउने छात्रवृत्ति रकम समेत वृद्धि हुनेछ । सरकारले अहिले ८ कक्षासम्मको अध्ययनका लागि वार्षिक ८ हजार रुपैयाँ, ८ कक्षाभन्दा माथि पढ्ने विद्यार्थीलाई वार्षिक १२ हजार रुपैयाँ दिदैआएको छ । मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले मृतक परिवारले पाउने क्षतिपूर्ति रकमसँगै विदेशमा पुगेर अङ्‍गभङ्‍ग भएर फर्कने, दुःख पाएर फर्कने र अवैधानिक रुपमा पुगेर दुःख पाएका श्रमिकलाई समेत क्षतिपूर्ति उपलब्ध गराउने गरी कार्यविधि बनाउन लागिएको जानकारि दिनुभएको छ । रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा गरी अहिले श्रमिकका लागि सञ्चालित तीन वटा कोषलाई एकिकृत गर्ने गृहकार्य समेत सुरु भएको छ ।

विदेशमा ज्यान गुमाउने नेपाली श्रमिकको डरलाग्दो तथ्यांक
वैदेशिक रोजगार बोर्डको २०७९\८० को वैशाखसम्मको तथ्यांक अनुसार १० महिनामा नै १ हजार ३२ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७८\७९ को एक वर्षको अवधिमा १ हजार ४७९ जना श्रमिकको निधन भएको थियो । यो सरकारी तथ्यांक अनुसार दैनिक औसत चार जना श्रमिकको शव विदेशबाट नेपाल भित्रने गरेको देखिन्छ । आर्थिक वर्ष २०७७\७८ यता हरेक वर्ष १ हजार भन्दा माथि श्रमिकले विदेशी भुमिका अकाल मृत्युवरण गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ