सरल गुरुङ/ राम्रोलाई राम्रो भन्न सकिएन भने, नराम्रोलाई नराम्रो भन्ने नैतिकता पनि गुमाइन्छ । त्यसैले लेख्दैछु । मेरा शब्दहरुले कसैको चित्त दुखे, सुरुमै रिसानी माफ । अब मुल कुरा सुरु गरौं । गैर आवासिय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको चुनाव २९ जुलाईमा सकिएको छ । तर, त्यसको तरंग अझै सेलाएको छैन । अनिल पोखरेल अध्यक्ष निर्वाचित भएका छन्, बधाई । चुनाव नजिकिदै गर्दा, एक साँझ, एनआरएनए अष्ट्रेलिया निर्वाचन आयोगका संयोजक टोनु घोतानेले फोन गरेर मसंग निराशा र केही हडबडी पोख्नु भयो । ‘सरल भाई ! मेरो घर बाहिर केही हुल मानिस आएका छन् । म सारै अप्ठ्यारोमा परे के गर्ने होला ?’- टोनु थप्दै थिए- ‘सदस्यता वितरणमा हुने अनियमितता रोक्न खोजेको समाजमा एक्लो भइन्छ कि क्या हो ?’
वकिल समेत रहेका टोनुले पत्रकार सम्मेलन गरेर, एउटा कार्डबाट बढीमा ३ जनाको मात्र शुल्क तिरेर सदस्यता बन्न मिल्ने, त्यस भन्दा बढी बनेको रहेछ भने रद्द गरिने घोषणा गरेपछि यस्तो तरंग आएको रहेछ । उनले ती मान्छेहरुलाई भेटेनन् । तर, विभिन्न तरिकाले यस्तो निर्णय लागु नगर्न दवाव आइरह्यो ।
लामो समयदेखि मेलवर्नमा बस्दै आएका टोनुलाई साथीभाईहरुले नै एक्लाउने हो कि भन्ने चिन्ता बढेको रहेछ । ‘संस्था सुधार्न खोज्दा, साथी भाई नै गुमाइन्छ कि भन्ने चिन्ता लागेको छ’,- त्यति बेला घोतानेले भनेका थिए- ‘म अब मेलवर्नमा एक्लै कसरी बस्ने ?’
एनआरएनए अष्ट्रेलियाले सन् २०२१ अप्रिल २२ तारिखमै निर्णय गरिसकेको तथा विधानमा समेत उल्लेख भएको यो प्रावधान लागु गर्न खोज्दा टोनु मात्र होईन, महासचिवसम्मलाई निशाना बनाइएको थियो । महासचिव राजु अधिकारीको परिवारको सदस्यले आफुहरु माथी यस्तो किसिमको दवाव आइरहे, कानुनी उपचारमा जाने समेत फेसबुकमा लेखे ।
यसरी दवाव दिनेहरु कुन गुट र उमेद्वारका व्यक्ति हुन् खासै उनीहरुले खुलाएनन् । तर, जसले दवाव दिएका भए पनि राम्रो होईन । संस्थाको हितमा छैन ।
तर, यस्तो दवावकै बिच एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ र महासचिव अधिकारीले विधानको धारा ९ मा टेकेर एउटै कार्डबाट ४ जना भन्दा बढीको शुल्क तिरिएका ७ सय ५६ जनाको सदस्यता मान्य नहुने निर्णय गरिदियो ।
संस्थापकको बुझाई
संचारमाध्यमहरुले सदस्यता वितरणमा नेतृत्वले लिएको निर्णयलाई स्वागत गरे । आम सदस्यहरुले पनि यसलाई सुधारको किरण मानेका छन् । मैले यसै मेलोमा सन् २००५ फेब्रुअरी १४ मा सिड्नीको एसफिल्ड पार्कमा एनआरएनए अष्ट्रेलियाको तदर्थ समितिका अध्यक्ष मन केसी (पछि केसी अष्ट्रेलियाको पहिलो अध्यक्ष समेत बने) लाई सदस्यता वितरणको बारेमा सोधेको छु ।
उनका अनुसार पछिल्लो तीन चार वटा कार्यकालमा सदस्यता वितरणमा समस्या देखिएको छ । ‘बल्क’ सदस्यता वितरण अर्थात एउटै कार्डबाट धेरै जना सदस्यता बनाइने समस्या देखिदै आएको छ । ढिलै भएपनि नेतृत्वले यसलाई सुधार गर्न थालेको प्रयासलाई केसीले स्वागत गरे ।
अरु बेला सामसुम हुने सदस्यता वितरणको विषय, चुनावको मुखमा भने उचालिने गरेको केसीको भनाई छ । तर, यसलाई दिर्घकालिन रुपमा सामाधान गर्न विधान बमोजिम काम गर्नुपर्ने सुझाव केसीले दिए ।
‘यसपाली, ७ सय बढीको सदस्यताले मान्यता नपाउदा को को प्रभावित भए थाहा नभएपनि, संस्था सुधारमा भने यो एउटा कोसे ढुंगा बनेको’ केसीको भनाई छ ।
सन् २००५ जुलाई मा एनआरएनए अष्ट्रेलियाको पहिलो अधिवेशन सिड्नीको हर्जबिलस्थित मराना एडिटोरियम हलमा भएको थियो । त्यतिबेला, अन्य शहरबाट समेत मानिसहरु आएर ४ सय जना जति भेला भएका थिए । उनीहरुलाई नै सदस्य मानेर अध्यक्षमा सर्वसम्मत मन केसी र अन्य अधिकांश पदमा निर्वाचन भएको थियो । पछि सन् २००७ मा एनआरएनए अष्ट्रेलियाको सदस्य संख्या २ सय ९७ जना थियो ।
संस्थापक मध्ये कै तथा एनआरएनए अष्ट्रेलियाका पहिलो उपाध्यक्ष रञ्जु थापाले सन् २०१५ को भूकम्पमा एनआरएनएले राम्रो काम गरेपछि यस संस्थामा मानिसहरुको आकर्षण बढ्न थालेको बताए । संस्थामा सन् २०११ सालतिरबाट राजनीतिक दलको प्रवेश भएसंगै सदस्यता विवाद समेत सुरु भएको रञ्जुको बझाई छ । एउटै कार्ड प्रयोग गरेर धेरै जना सदस्य बन्ने क्रम ढिलै भएपनि रोकिन लागेकोमा संस्थापक हैसियतमा निकै खुसी लागेको रञ्जुले बताईन् ।
एनआरएनए अष्ट्रेलियाको पहिलो भेला देखि नै सक्रिय क्यानवेराका अभियन्ता डाक्टर कृष्ण हमाल सात सय जना जतिको सदस्यता अमान्य गर्ने निर्णय सुरुवात मात्र हो, संस्था बलियो बनाउन सदस्यता वितरणमा पारदर्शिता आवश्यक छ हमालले भने ।
एनआरएनएलाई गाली गर्ने जमातको कमी छैन । अझै यसको उदेश्य बारे अलिकति पनि ज्ञान नभएकाहरुले त एनआरएनए खारेज नै गर्नुपर्ने सम्मको तर्क अघि सार्छन् । यस संस्थामा मौलाएको राजनीतिकरण, अपरादर्शी सदस्यता वितरण, मनी र मसल्सको प्रयोग जस्ता कारण संस्थाको छवी धमिलिएको हो । यस संस्थालाई थप बलियो बनाउन अष्ट्रेलियामा ढिलै भएपनि सुधारका किरण देखिएको छ । तर सुधार गर्न खोज्नेहरुलाई सबैले साथ दिनुपर्छ । संस्था सुधार्न खोज्नेहरुलाई भविष्यमा दबाव, प्रभाव र डर देखाउने काम फेरी कहिल्यै नहोस् ।
ट्याग : #Australia, #election, #NRNA
तपाईको प्रतिक्रिया