Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News१ क्विन्टल भनिएको तस्करीको सुन ६१ किलो मात्रै ! खै त मालिक ?

१ क्विन्टल भनिएको तस्करीको सुन ६१ किलो मात्रै ! खै त मालिक ?


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुन करिब एक क्विन्टल भएको आँकलन गरेर अनुसन्धान अघि बढाइएकोमा जोख्दा ६० किलो ७८९ ग्राम मात्रै भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले बरामदी सुन ब्रेक शुबाट छुट्टयाएर जोख्दा ६० किलो ७८९ ग्राम भएको हो ।

तौल यकिन गरिएको तस्करीको सुन अहिलेको बजार मूल्य ५८ करोड ६७ हजार २०९ रूपैयाँ रहेको छ । राजस्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । त्यसबेला ब्रेक शु सहितको तौल लिइएको थियो । सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा जोखिएको सुनको गुणस्तर जाँचको काम समेत राष्ट्र बैंकमार्फत अघि बढाइएको छ । सुनलाई आज गालिने छ ।

१९ दिनसम्म सुन प्रकरणको अनुसन्धान गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा यतिबेला सीआईबीलाई लगाएको छ। सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा अनुसन्धान गरिरहेको सुन तस्करी प्रकरणमा अहिलेसम्म भन्सार कर्मचारी, एजेन्ट, बिचौलिया समेत गरेर २० जना पक्राउ परेका छन् ।

सुन तस्करीमा भरिया र बिचौलिया मात्रै पक्राउ गरेर मालिक जोगाउन खोजीएको भन्दै सरकारको आलोचना भैरहेको छ । विगतका सुन तस्करी प्रकरणजस्तै भरियामा कारबाही र अनुसन्धान सिमित गरेर मालिक जोगाउने खेल हुन नहुने भन्दै चौतर्फी दबाब बढाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ