Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News६० किलो सुन प्रकरणको गहन अनुसन्धानमा सीआईबी, चीनियाँ नै मालिक हुन त ?

६० किलो सुन प्रकरणको गहन अनुसन्धानमा सीआईबी, चीनियाँ नै मालिक हुन त ?


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट समातिएको ६० किलो सुन प्रकरणमा ठमेलस्थित केटीबी काराओके रेष्टुरेन्टका सञ्चालक समेत रहेका दुई चीनियाँ नागरिक समेत मुछिएका छन् । सुन प्रकरणको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) केटीबी काराओके रेष्टुरेन्ट सञ्चालक द्धय तियान मी र वीन तोङलाई पाटनको डाउन टाउन अपार्टमेन्टमा छापा मारेर पक्राउ गरेको हो ।

सीआईबीले अपार्टमेन्टमा अरु दुई चिनियाँ नागरिक डिङ सेल्फा र ली नेङ्काईलाई समेत पक्राउ गरेको भएपनि आवश्यक परेको समयमा उपस्थित हुनेगरि कागज गरेर छाडिएको छ । सुन प्रकरणको अनुसन्धान सुरु भएपछि उनीहरु पहिले बसिरहेको ठाउँ छाडेर डाउन टाउन अपार्टमेन्टमा गएका थिए । यसको प्रबन्ध केटीबीका दुई सञ्चालकले गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न स्वरुपमा आउने सुन संकलन गरेर ल्याउने व्यक्ति नै पक्राउ परेको भन्दै सीआईबीका अधिकृतहरुले बताउँछन् । दुई चीनियाँको गिरफ्तारीलाई अहिलेसम्मको महत्वपूर्ण सफलता भनिएको छ । झाओ हुई र ताङ जिङको साथमा ३१ लाख ८० हजार रुपैयाँ बरामद भएकाले थप कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ ।

तस्करीमार्फत आएको सुनको व्यवस्थापन होटल भियना र क्लब केटीभीबाट हुने गरेको र डिङ र ली आफैं सुन ओसारपसारमा संलग्न व्यक्ति भएकाले उनीहरुको गिरफ्तारीबाट धेरै तथ्य खुल्नेमा सीआईबी आशावादी छ । होटल भियनामा राजश्व अनुसन्धान विभागले १४ साउनमा छापा मारेर केही कागजात र सामग्रीहरु बरामद गरेको थियो । त्यतिबेलै विभागले होटलका सञ्चालक बेल्जियन नागरिकलाई दावा छिरिङलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा सुन प्रकरणमा संलग्न चिनियाँ नागरिकहरु होटल भियना र केटीबी काराओके रेष्टुरेन्टमा पटकपटक गएको खुलेको थियो । भियनाको नाममा लिइएको चार वटा गाडी चिनियाँ तस्करहरुले प्रयोग गरेको खुलेसँगै दावा पक्राउ परेका थिए । दावाको श्रीमती अमला रोका रोल्पाकी माओवादी नेतृ समेत भएकाले उनको पार्टीका नेता र सुरक्षा अधिकृतहरुसँग राम्रो सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको छ ।

राजस्व अनुसन्धान विभागले ३ साउनमा सुन सहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो । मंगलबार गालेर जोख्दा ६० किलो मात्रै सुन एकिन भएको थियो । १९ दिनसम्म अनुसन्धान गरेर राजस्व अनुसन्धान विभागले थप अनुसन्धानका लागि भन्दै सीआईबीलाई बुझाएको यो प्रकरणका क्रममा यसअघि नै २० जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको छ । भन्सार कर्मचारी, एजेन्ट, कार्गो सञ्चालकसहितका व्यक्ति यो प्रकरणमा मुछिएका छन् । तर अहिलेसम्म पनि मालिक पक्राउ गर्न नसकेको भन्दै सरकारको आलोचना भैरहँदा उच्च स्तररिय जाँचबुझ आयोगको माग राखेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अबरुद्ध गर्दैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ