Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia“एनआरएनए” अगुवाहरुको सामाजिक अभियान कि हाँस्यपात्र र बेकामे स्वार्थी समुह !

“एनआरएनए” अगुवाहरुको सामाजिक अभियान कि हाँस्यपात्र र बेकामे स्वार्थी समुह !


विकाश दवाडी । वर्तमान विश्वको सर्वश्रेष्ठ चेतनशील प्राणी करीब १५०० Cranial Capacity भएका हामी मानव जाति स्वभावैले सामाजिक छौ र समाजमै रहन रुचाउछौँ । जब हामी यस धर्तीमा पाइला टेक्छौं तव बाट नै आमाको पहिलो करुणामयी स्पर्श र बाबाको भावनात्मक ममताबाट पारीवारिक वातावरणमा हुर्कदै, बढ्दै साथी, भाइ, छर–छिमेक, इष्टमित्रहुदै समाजका विभिन्न अङ्गमा समाहित हुदै अगाडि बढ्दछौ । जीवन यात्राको क्रममा हामी लाई आइपर्ने दुःख,पिडा र चिन्ताव्यक्त गर्न मात्र होईन खुशी र सफलता साँट्नको निमित्त पनि निश्चय नै केही व्यक्ति, साथीभाइ वा समुहको जरुरत पर्दछ । अझै त्यसमा पनि जीवनको हरेक आरोह र अवरोहमा दुःख–सुःख बाँड्न पाउने र अपनत्व ग्रहण गर्ने व्यक्तिहरु वा समूहको दायरा फराकिलो भयो भने मानव जातिले यसलाई सफलताको बाटोमा अगाडी बढेको ठान्दछन् । त्यसैले त व्यक्ति वा समुहले आयोजना गरेका कुनै पनि सामाजिक कार्यक्रम वा विचारमा उपस्थित हुने संख्या र समर्थन नै उक्त आयोजनाको सफलता वा असफलताको सुचक रहन्छ । आखिर त्यही भएर नै त होला, संसारभरका मानिसहरु राजनीति, धर्म, व्यवसायमा नयाँ–नयाँ अबधारणाको जगेर्ना गर्दै वर्तमान विश्वको चेतनशील समाजलाई प्रयोगात्मक र परिणाममुखी तवरले आफ्नो विचार र सिद्धान्तको कसीमा समाहित गर्न प्रयासरत छन् ।

बिं.सं. २०४७ सालको प्रजातन्त्र पुनस्र्थापना पश्चात् जब हाम्रो मुलुकमा सर्वसाधारणको निमित्त पनि राहदानी जारी गर्ने प्रावधान लागु भयो, यसपछि विस्तारै नेपालीहरु पनि संसारका विभिन्न मुलुकमा अध्ययन र रोजगारीको शिलशिलामा जाने र आफू पुगेको देशमै स्थायी रुपमा बसोबास गर्ने क्रम बढ्दै गयो र यो प्रक्रिया अहिले पनि निरन्तर छ । अझ पछिल्लो समय त मुलुकको अस्थिर राजनीति, असमान्य परिस्थिति र बढ्दो बेरोजगारीले दिनानुदिन परिवारसँग बिछोडिएर विदेशीनेको संख्या बढ्दो छ । यसरी विदेशीने नेपालीको संख्यासँगै संसारभरका विभिन्न मुलुकमा पहिलो र दोश्रो पुस्ताका नेपालीको संख्या बढ्दै छ  । नेपालीहरु संसारभरका विभिन्न मुलुकमा विभिन्न पेशामा आबद्ध हुदै दक्षता अभिवृद्धिमा मात्रै सिमित छैनन, विदेशी भुमिमा नै रहेर रेमिट्यान्स र आर्थिक सहयोग मार्फत नेपाल अनि नेपालमै रहेका नेपालीको दरिलो आड र भरोसा बनेका छन् । यसैले त नेपाल सरकारले पनि विदेशमा रहेका नेपाली र नेपाली समुदायले गठन गरेका विभिन्न संगठनहरुलाई प्राथमिकतामा नै राखेर राज्यका नीति निर्माण गरिरहेको छ ।

यसरी निरन्तर विदेशीने नेपालीको संख्या बढ्दै जाँदा संसारभर छरिएर रहेका नेपालीलाई एउटै मालामा गाँस्ने हेतुले “एक पटकको नेपाली सधैको नेपाली” भन्ने नारा तय गर्दै सन् २००३ मा वेलायतको लण्डनमा भेला भएका नेपाली समुदायका अगुवाहरुले समिति गठन गर्ने निर्णय गरे । यो विचारलाई नेपाल सरकार र नेपाल उधोग वाणिज्य महासंघको सहयोग प्राप्त भयो । यसवाट सन् २००३ अक्टोबर ११–१४मा पहिलो गैर आवसीय नेपाली सम्मेलनको संयुक्त संगठन बन्यो । कुनै पनि संस्था आफैमा पवित्र समाज सेवा हो । जसको प्रमुख उद्धेश्य मुलतः समाज प्रतिको योगदान नै रहन्छ । यद्दपी यस्ता संस्थालाई सञ्चालन गर्ने व्यक्तिहरुको तौर–तरिका र पबृत्तिले संस्थालाई थप गतिशिल बनाउँछ ।

एनआरएनए संस्था निःसन्देह विदेशिएका नेपालीलाई एउटै मालामा गाँस्ने भरपर्दो, आशालाग्दो र नेपाल सरकारले पनि विश्वास गरेको समाज सेवामुलक गैर नाफामुखी संस्था हो । तर पनि स्थापनाकाल देखि आजका मिति सम्म आइपुग्दा यो संस्थाको ओझ र गरिमा दिनानुदिन घट्दै गएको अनुभुत भैरहेको छ । अझै कहिलेकाँही त लाग्दछ कतै एनआरएनए को गरिमा यसरी नै कमजोर हुदै जाने हो भने कुनै दिन एनआरएनए अगुवाहरु समाजको अभियन्ता होइन कि हाँस्यपात्र र बेकामे स्वार्थी समुह हुन भन्ने त ठहरिदैनन भन्ने ।

अष्ट्रेलिया बसाईको केही वर्षको अनुभव र यहाँ रहेको नेपालीहरुको एनआरएनए प्रतिको मनोविज्ञान लाई नियल्दा एनआरएनए प्रतिको नेपालीहरुको विश्वास कमजोर हुदै जानुमा यी मुल कारण रहेका छन् :

१) पहिले पहिले एनआरएनएलाई हाँक्ने व्यक्तिहरु संस्थामा आउनुभन्दा पहिले नै सफल र परिचित थिए । उनीहरु लोभ लालचाले संस्थामा जोडिएनन्, संस्थाको आडबाट केही लिएनन् बरु सक्ने भन्दा धेरै दिए । आफूले जीवन भरी आफ्नो दक्षताबाट आर्जन गरेको योग्यता र धन एनआरएनए अभियानमा खन्याए ।

२) पछिल्लो समय आफ्नो व्यक्तिगत सम्पर्क र दायरा फराकिलो बनाउन, प्रख्यातीलाई व्यक्तिगत व्यवसायमा प्रयोग गरेर समुदायलाई नै विक्रि गर्ने प्रवृत्ति बढ्दो छ भनिरहेका छन, यही समूदायका मानिसहरु ।

पुराना एनआरएनए अगुवाहरु नामै लिनु पर्दा पनि उपेन्द्र महतो, जिवा लामीछाने, शेष घले जस्ता अग्रज व्यक्तित्वहरुको एनआरएनएमा प्रभाव छ र मुलुकले पनि उहाँहरु जस्तो व्यक्तित्व बाट सकरात्मक भुमिकाको सदैव अपेक्षा गरेको छ । आज सम्म पनि संस्थामा उहाँहरुको नामलिदाँ पनि सबैको छाती गर्वले चौडा हुन्छ । तर अपशोच आज भोलि एनआरएनए अभियन्ता हुँ भन्दै नेपालका प्रशासनिक ,राजनितिक शक्तिकेन्द्रहरु सँग कुम जोड्न, सम्बन्ध बिस्तार गर्न, एयरपोर्टमा गएर फोटो खिच्न र एनआरएनए अभियन्ता भन्दै बनाएको सम्बन्ध र कमाएको ख्यातीलाई सदुपयोग, उपयोग अनि दुरुपयोग गरेर नेपाली समुदाय लक्षित आफ्नो व्यापार व्यवसाय फस्टाउने खेती बढेको भन्ने आरोप बेला–बेलामा एनआरएनए लाई लाग्ने गरेको छ । नत्रभने घर– परिवार, काम, व्यवसाय सबैलाई केही समय तिलाञ्जली दिएर आफ्नै खल्तीबाट पैसा खर्च गरेर यो रातदिनको नेता बन्न तम्सिने हुटहुटी किन र केका लागी ?

अझै अष्ट्रेलियाको हकमा त धेरै बाट सुन्न आएकोमा शैक्षिक व्यवसायी एवम् कन्सल्टेन्सी संचालकहरु एनआरएनए अभियानमा जोडिन चाहानुको प्रमुख कारण धेरै नेपाली विद्यार्थीहरुसँग सम्पर्क बिस्तार गर्न सकिन्छ भनेर नै हो । शैक्षिक व्यवसायलाई संन्चालकहरुले आफूलाई पायक पर्ने हिसाबले नेपाली विद्यार्थीहरुलाई विश्वविद्यालय वा बिषय छनोटमा अपुरो जानकारी बाँडेर त्यही अनुसार नै परामर्श गरेर शैक्षिक व्यवसायलाई बढी फाइदा र विद्यार्थीलाई बढी नोक्सान, बोझ र झन्झटको भारी बोकाउदै आएका छन् । धेरै नेपाली विद्यार्थी अष्ट्रेलियामा डिप्रेशनको शिकार बनाउने शैक्षिक व्यवसायी अर्थात तीनै एनआरएनए अभियन्ता भएको आरोप समेत लाग्न थालेको छ । अर्कोतर्फ फेरी विद्यार्थी डिप्रेशनमा परे भन्दै हामी विद्यार्थीहरुको हकहितको निमित्त काम गर्छौ भन्दै सामाजिक अभियन्ता बनेर फेरी ‘गो फन्ड मी’ मार्फत विद्यार्थीहरु संग नै रकमको निमित्त खुलम्–खुल्ला आर्थिक संकलनका लागि आह्वान गर्ने गरिएको छ । यी हुन दोहोरो चरित्र अनि फाइदा एनआरएनए नेता बन्न तम्सिने नेपालीहरुका ! यो मनोविज्ञान अष्ट्रेलियाको नेपाली समाजमा व्यापक रुपमा झांगिदैछ ।

अझै सुन्दैमा रमाईलो र चाखलाग्दो कुरा त के छ भने नेपाल राज्यलाई नै खुलम–खुल्ला चुनौती दिदै अष्ट्रेलियामा बसेर गैरकानुनी धन्दा ‘हुन्डी’ लाई प्रशयदिने र यता बसेर दोहोरो कर छल्दै राज्यलाई नै आर्थिक रुपले हानीगर्ने कार्यमा अघि बढ्न तम्सिने व्यक्तिहरुको सेवामुखी पवित्र संस्था एनआरएनएमा दबदबा बढ्दैछ । एनआरएनमा देखिने यो समुहको सक्रियताले उनीहरुको ‘Cnflict of Interest’ देखिएन र ? जसको कारण यस संस्थाको साख गिर्दै गयो र पछिल्लो पुस्ताको विश्वास झन–झन भत्किदै गएको कतिपय अभियन्ताहरु नै स्विकार गरिरहेका छन् । प्रजातान्त्रिक समाजवादको उत्कृष्ट्र नमुना रहेको सुन्दर राष्ट्र अष्ट्रेलिया जहाँ वर्ग, धन, पेशाका आधारमा मानिस मानिसमा भेदभावको नमुना कतै देखिन्न तर पनि ‘हुन्डी’ बाट कारोबार  गरेर, गैरकानुनी रकम असुल्दै धनको धाक प्रदर्शन गरेर समाजमा आफ्नो छुटै पहिचान छ भन्दै एनआरएनए अभियानमा सामाजिक अभियन्ता बन्न तम्सिने व्यक्तिहरु बग्रेल्ती भेटिन्छन्, जस्को मनसाय केबल नेपालमा रहेका आफन्त, साथीभाइलाई म पनि अष्ट्रेलियाको नेपाली अगुवा हुँ भन्दै सामाजिक सन्जालमा स्वतः स्फूर्त आफ्नै प्रचार–प्रसार गरिरहने बाहेक अन्य केही देखिदैन । अर्को महत्वपूर्ण कुरा त झन् चुनाबको बेला नेपाली राजनितिक पाटीको पुच्छर बन्दै एकले अर्कोलाई राम्रो संग नचिने पनि पुरापुर प्यानल बनाएर राजनितिक पाटीको स्वार्थ अनुरुप ठूलो– ठूलो समुह, मनोरञ्जनात्मक पार्टी, घुमफिर, चुनाबका नक्कली एजेण्डा लिएर दौडधुप के का लागी ? उही नक्कली एनआरएनए अभियन्ता बनेर नेपाल र अष्ट्रेलियाका शक्ति केन्द्रहरुसंग कुम जोड्ने चाहाना ?

अन्त्यमा, चुनावी एजेण्डा, प्रचार–प्रसार, मतदाताको उत्साह अनि उपस्थिति जे जस्तो भएता पनि अष्ट्रेलिया लगाायत संसारका धेरै राष्ट्रले २०२३–२०२५ को लागी नेपाली समुदायको प्रतिनिधित्व गर्ने सामाजिक अगुवा पाइसकेको छ । अबको अष्ट्रेलियाको एनआरएनए अभियन्ताहरुले नेपालबाट अष्ट्रेलिया केबल ‘Brain Drain’ होइन ‘Brain Gain’ को निमित्त सहज वातावरण बनाउन नेतृत्वदायी भूमिका  खेल्नु पर्दछ । यहाँका सक्षम जनशक्तिलाई स्वदेशमै फर्किएर सेवा प्रदान गर्नको निमित्त पनि पहल थाल्न सक्नुपर्दछ । नेपालका सक्षम डाक्टर, इन्जिनियर, नर्स, आइटी बिशेषज्ञ लगायत अन्य कुशल जनशक्तिलाई अष्ट्रेलियाका सम्बन्धित निकायसंग समन्वय गर्दै फेलोसिपमा भित्राएर ज्ञान आदान–प्रदान गर्दै  स्वदेशमै फर्किएर विकसित राष्टको जस्तै सेवाप्रदान गर्न सकिने वातावरण तयार गर्नको निमित्त सकरात्मक भुमिका खेल्नु पर्दछ ।

राजदुतावास र सरकारी संयन्त्रमा मात्र जिम्मेवारीको चाङ नपन्छाइकन अष्ट्रेलियाका उत्कृष्ट विश्वविद्यालयहरुसंग समन्वय गर्दै नेपालका विश्वविद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई अध्ययन तथा अनुसन्धानको निमित्त भित्राएर अध्ययन पश्चात हासिल गरेको ज्ञान स्वदेशमा नै खन्याउने रुपरेखा तयार गर्नसक्नुपर्दछ । सम्पुर्ण एनआरएनए अष्ट्रेलियाका विजयी अभियन्ताज्यूहरुलाई सफल कार्यकालको शुभकामना ! एनआरएनए अष्ट्रेलिया २०२३\२०२५ को कार्यकाल निरन्तरताका लागि निरन्तरता मात्र ननोस । निरन्तरतामा उत्कृष्ट क्रम भंगता हुदै इतिहास रच्न सफल होस् ।

लेखक दबाडी विगत ८ वर्षदेखी अष्ट्रेलियाको डब्बो क्षेत्रमा बसोबास गर्दै आउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ