Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजोखिम उठाउनेगरि काम गर्न कर्मचारीलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

जोखिम उठाउनेगरि काम गर्न कर्मचारीलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

यस्ता छन आर्थिक परिसूचक !


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र नागरिकलाई परिणाम दिनगरि जोखिम उठाउन राजनीतिज्ञ र कर्मचारीतन्त्रलाई निर्देशन दिनुभएको छ । बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम नदिने भन्दै आफ्नो कार्यादेशअनुसार जोखिम उठाउन सम्पुर्ण कर्मचारीहरूलाई निर्देशन दिनुभएको हो ।

रिपोर्ट कार्डको प्रस्तुतिपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले जोखिम उठाउन तयार हुने मनोविज्ञानले मात्र राम्रो परिणाम दिने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘हामी सबैले जिम्मेवारी वहन गर्नेतिरबाट सोच्नुपर्छ । जिम्मेवारी पन्छाउने प्रवृत्तिले परिणाम दिँदैन । जिम्मेवारीमा जोखिम हुन्छ, जोखिम मोल्न तयार हुने हुनुपर्दछ ।’ नीति तथा कार्यक्रम र बजेटको मासिक समीक्षा गर्ने प्रक्रियाको शुरुवात भएको राम्रो भएको भन्दै प्रधानमन्त्री प्रचण्डले राम्रो परिणाम ल्याउन आउने दिनमा धेरै मेहनत गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेले ‘आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा’ शीर्षकको रिपोर्ट कार्ड जारी गर्दै गएको वर्षको तुलनामा यस आर्थिक वर्षमा आर्थिक परिसूचकहरूमा राम्रो सुधार आएको बताउनुभएको थियो ।

यस्तो छ आर्थिक वर्ष २०७८।०७९ र २०७९।०८० को आर्थिक परिसूचक
आ.व.२०७८।०७९ मा भुक्तानी सन्तुलन २५५ दशमलव २६ अर्ब ऋणात्मक रहेकोमा आ.व. २०७९।०८० मा सुधार आई २९० दशमलव ५२ अर्ब भएको छ । त्यसैगरी वैदेशिक विनिमय सञ्चिति १२१५ दशमलव ८ अर्ब रहेकोमा यस आर्थिक वर्षमा १५३९ दशमलव ३६ अर्ब रहेको, रेमिट्यान्स प्राप्ति गएको वर्ष १००७ दशमलव ३१ रहेकोमा यस वर्ष १२२० दशमलव ५६ अर्ब रहेको सरकारी तथ्यांकले देखाएको छ । यस्तै, आर्थिक वर्ष २०७८।०७९ मा आयात १३१ दशमलव ३ अर्ब रहेकोमा यस वर्ष १२९ दशमलव २ अर्ब, निर्यात १४ दशमलव ८ अर्ब रहेकोमा यस वर्ष १३ दशमलव ५ अर्ब रहेको, व्यापार सन्तुलन ११६ दशमलव ५ अर्ब ऋणात्मक रहेकोमा यस वर्ष पनि ११५ दशमलव ७ अर्ब ऋणात्मक देखिएको छ । बजेट खर्च २०७९ साउनमा १ दशमलव २४ प्रतिशत रहेकोमा २०८० साउनमा १ दशमलव ९ प्रतिशत पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ