Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaआज हरितालिका (तीज) पर्व, नेपालसहित विदेशका विभिन्न स्थानमा भब्य रुपमा मनाइँदै !

आज हरितालिका (तीज) पर्व, नेपालसहित विदेशका विभिन्न स्थानमा भब्य रुपमा मनाइँदै !


काठमाडौं । भदौ शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरेर भब्य रुपमा मनाइँदैछ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वाससहित तीज पर्व मनाउने गरिन्छ ।

पौराणिक मान्यता अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको मानिन्छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास गरिन्छ । तीजकै कारण आज पशुपतिनाथ, डोलेश्वर लगायत देशभरका शिवालयमा भक्तजनको भीडभाड लागेको छ । सक्नेले निराहार,नसक्नेले फलाहार ब्रत बस्ने तीजमा अविबाहितहरुले महादेव जस्तो पतिको कामना गर्ने र बिबाहिताहरुले श्रीमानको दिर्गायुको कामना गर्ने गर्दछन ।

यस्तो छ पौराणिक मान्यता
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा गरिन्छ । पछि वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएको र पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिएको बताइन्छ । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ ।

विदेशमा समेत तीजको रौनक
अष्ट्रेलिया, अमेरिका, बेलायत, जापान लगायतका नेपाली बाहुल्य देशका विभिन्न स्थानमा समेत तीजका विभिन्न कार्यक्रम आयोजना हुँदैआएका छन् । नेपाली समूदायका महिला आमा,दिदिबहिनीहरुले आफ्नो परम्परा अनुसार दर खाने, ब्रत बस्ने र पुजापाठको परम्परालाई निरन्तरता दिनुभएको छ । तीजका अवशरमा विभिन्न सास्कृतिक कार्यक्रमसहित भब्य उत्सब समेत आयोजना भैरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ