Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपालमा नयाँ संविधान जारी भएको ८ वर्ष पुरा, यसरी मनाइदैछ देशसँगै विदेशमा उत्सब !

नेपालमा नयाँ संविधान जारी भएको ८ वर्ष पुरा, यसरी मनाइदैछ देशसँगै विदेशमा उत्सब !


काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासहित नेपालको संविधान २०७२ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको हो ।

टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति हुने गर्दछ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डां रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गर्नुभएको थियो । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भए पनि नागरिकका आशा अपेक्षा, हिजोका दिनमा बाढिएको देश समृद्धिका सपना पुरा नभएको भन्दै आलोचना हुने गरेको छ । नेपालको अन्तरिम संविधान २०६३ खारेज भएर नयाँ संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा रहनुभएका सुवासचन्द्र नेम्वाङको केही समय अघि मात्रै हृदयघातका कारण निधन भएको छ ।

सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासद्ले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।

संविधान दिवसको अवसरमा कस्ले के भने ?

राष्ट्रपति रामचन्द्र पौडेल
राष्ट्रपति पौडेलले नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने उल्लेख गर्नुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले संविधान प्रदत्त मौलिक हकको प्रभावकारी कार्यान्वयन, आयातमुखी अर्थतन्त्रलाई विस्थापन गरी राष्ट्रिय अर्थतन्त्रलाई दह्रो र सबल बनाउनु नै आजको मुख्य चुनौती र जिम्मेवारी भएको बताउनुभएको छ । राष्ट्रपति पौडेलले श्रमलाई सम्मान गर्ने संस्कृति, विपन्नलाई आय र निमुखालाई न्याय दिने प्रणालीलाई सबल र प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिनुभएको छ ।

उपराष्ट्रपति रामसहायप्रसाद यादव
उपराष्ट्रपति यादवले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । संविधान दिवसको शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, ‘हजारौँ नेपालीको बलिदान, योगदान आहुति, त्याग, तपस्या र जनताले चुनेका जनप्रतिनिधिमार्फत आठ वर्षअघि नेपालको संविधान, २०७२ आजकै दिन (असोज ३ गते) जारी भएको सम्झना र सम्मानमा मनाइने संविधान दिवस (राष्ट्रिय दिवस) को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु ।’

सभामुख देवराज घिमिरे
सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालको विद्यमान संविधानले नागरिकका मौलिक हक र लोकतान्त्रिक राज्यव्यवस्थाको प्रत्याभूति गरेकाले परिवर्तनका लागि अब अर्को कुनै क्रान्तिको आवश्यकता नरहेको बताउनुभएको छ । संविधान दिवसको शुभकामना सन्देशमार्फत सभामुख घिमिरेले संविधानको मर्म र भावनाअनुसार राजनीतिक नेतृत्व चल्नुपर्ने आवश्यकता समेत औल्याउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड
प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयनमार्फत् जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रुपान्तरणकारी अभियानमा रहेको बताएका छन् । नवौं संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको मार्गलाई फराकिलो बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको बताउनुभएको छ ।

सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली लगायत दलका नेताहरुले समेत शुभकामना सन्देश जारी गर्दै अब देशलाई रोजगारि र समृद्धिको युगमा रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ । संविधान दिवसको अवसरमा ६७० जना ५० प्रतिशत कैद भुक्तान गरिसकेका र ज्येष्ठ नागरिकले कैद सजाय माफ मिनाहा पाएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ