Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsक्रिकेटर सन्दीपविरुद्धको मुद्धामा आज पनि पेसी, फैशला आउला कि फेरि अल्झिएला ?

क्रिकेटर सन्दीपविरुद्धको मुद्धामा आज पनि पेसी, फैशला आउला कि फेरि अल्झिएला ?


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिक बलात्कारको मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेको भएपनि गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दाको पेसी आजलाई तोकिएको हो ।

मुद्दाको थुनछेक बहसपछि १८ कात्तिक २०७९ मा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिनुभएको थियो । बयानका क्रममा सन्दीपले आफूमाथिको बलात्कारको आरोप अस्वीकार गर्दै पीडित (गौशाला २६ घटना भएको दिन १८ वर्ष उमेर पूरा भइसकेको भनेर प्रमाणको रुपमा केही कागजात पेस गर्नुभएको थियो । थुनछेक आदेशसँगै अदालतले सम्बन्धित स्थानीय तहबाट पीडितको जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रति र नागरिकताको प्रमाणपत्र बनाउँदा भरेको अनुसूची फारमको प्रतिलिपि झिकाउन आदेश दिएपछि यसबीचमा अदालतमा फरक फरक जन्ममिति भएका कागजहरु आइपुगेका थिए ।

वडा कार्यालयले सुरुमा जिल्ला अदालतमा किशोरीले जन्मदर्ता गर्दाको जन्ममिति १८ असार २०६१ भएको विवरण पठाएको थियो । तर उक्त विवरणमा अदालतले प्रश्न उठाएर अभिलेख नै पठाउन आदेश दिएपछि वडा कार्यालयले जन्मदर्ता अनलाइन माध्यमबाट भएकाले कार्यालयमा अभिलेख नरहेको जवाफ पठाएको थियो । पछि सन्दीपले आफूले बयानका क्रममा पीडितको जन्मदर्ता भनी पेस गरेको कागजात एक शुभचिन्तकले दिएको र आफूले उनलाई नचिन्ने बताउनुभयो । न्यायाधीश घिमिरेको इजलासले गरेको आदेश अनुसार जिल्ला प्रशासन कार्यालयले पठाएको विवरणमा अभियोगपत्रमा पेस भएको र पीडितले भनेको अनुसारकै जन्ममिति १८ जेठ २०६२ नै उल्लेख रहेको छ । पीडितको जन्ममिति १८ जेठ २०६१ पुष्टि हुने गरी पठाएको विवरणमा पनि आमाको नाम, उमेर जस्ता विवरण फरक परेका कारण सत्यतामा प्रश्न उठेको थियो । सन्दीप पक्षले जिल्ला अदालतमा पेश गरेको गौशाला २६ का अभिभावकको बसाइसराइको कागजपत्रबाट उनी १८ वर्ष उमेर पूरा भएको पुष्टि हुन सकेको छैन ।

जिल्ला अदालले मगाउनुपर्ने विवरण र कागजात सबै प्राप्त भएको जानकारि दिदै अब सुनुवाइले निरन्तरता पाएर मुद्दालाई टुंगोमा पुर्याइने बताइएको छ । कहिले न्यायाधीस अभाव त कहिले मुद्धाको चापका कारण महिनौँदेखी क्रिकेटर सन्दीपविरुद्धको मुद्धा अल्झिदै आएको छ । क्रिकेट प्रेमीहरुले ढिला न्याय पाउनु अन्याय भएको भन्दै अदालती प्रक्रियालाई पुर्णता दिन माग गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ