एसियाली खेलकुद- क्वाटरफाइनलमा नेपाल, हात पार्ला त नेपाली क्रिकेटले मेडल ?
काठमाडौं । १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटतर्फको पहिलो खेलमा मंगोलियाविरुद्ध कीर्तिमानी जित निकालेको नेपाल समूह चरणको अन्तिम खेलमा माल्दिभ्समाथी शानदार जित सहित अन्तिम ८ मा पुगेको छ । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा आइतबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपालले क्वाटर फाईनमा पुग्न सफल भयो ।
यो जितसँगै नेपालले अब क्वाटरफाइनलमा भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशर अफगानिस्तान जस्ता टेस्ट मान्यताप्राप्त बलिया टिमसँगको भेट निश्चित गरेको छ । यी टिम मध्ये एक टिमसँग नेपाललले क्वाटरफाइनल खेल्नेछ । नेपालसँगै तीन टिम पहिलो चरण पार गरेर क्वाटरफाइनल आउँदा टेस्ट क्रिकेटका हस्ती पाँच टिम भने सीधै क्वाटरफाइनल खेल्न लागेका हुन । एसियाली गेम्सको पुरुष क्रिकेटमा मंगोलियामाथी ८ विश्व रेकर्ड बनाएका नेपाली खेलाडीहरु माल्दिभ्सविरुद्ध समेत हावी भए ।
नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनमै अलआउट बन्यो । माल्दिभ्सका लागि मुएवियाथ अब्दुल घानीले सर्वाधिक ३६ र रसिद रसमले नटआउट १२ रन, सिउस फरिदले १० रन बनाउने बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न नै सकेनन । माल्दिभ्सका ६ खेलाडी शुन्य रनमा पोविलियन फर्किएको खेलमा नेपालका फास्ट बलर अभिनाश बोहराले सानदार बलिङ गरे । ३.४ ओभरमा ११ रन मात्र खर्चेर ६ विकेट लिएका बोहोराले टी–२० अन्तर्राष्ट्रियको एकै खेलमा ६ विकेट लिने पहिलो नेपाली बलरको रेकर्ड समेत बनेका छन् । सन्दिपले समेत अन्तर्राष्ट्रि क्रिकेटमा २०० विकेटको कोसेढुंगा पुरा गरेका छन् । माल्दिभ्सविरुद्ध सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेल एक\एक विकेट लिएका थिए । नेपाली ब्याट्समेनसामु माल्दिभ्सका बलर कमजोर देखिदा, नेपाली बलरले समेत माल्दिभ्सका ब्याट्समेनलाई आछ्छ्आच्छु बनाए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रनको चुनौती प्रस्तुत गरेको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले २७ बल खेल्दै तीन छक्का र तीन चौकाको मद्धतमा सर्वाधिक ५२ रन जोडे, पहिलो खेलमा मंगोलियाविरुद्ध सबैभन्दा छिटो शतक पूरा गर्ने विश्व रेकर्ड बनाएका कुशल मल्लले २० बलमा दुई छक्का र तीन चौकाको मद्दतमा नटआउट ४७ रनको योगदान दिए । कुशल भुर्तेल र गुलशन झाले समान ३५\३५ रन बनाउँदा विनोद भण्डारी १३ रनमा आउट भएका थिए । नेपालका अरु ब्याटरले भने दोहोरो रन बनाउन सकेनन् । ६७ रनमा ४ विकेट गुमाएको अवस्थामा नेपालको पारी रोहित, गुल्सन र कुशल मल्लले सम्हालेका थिए । यता, बलिङतर्फ माल्दिभ्सका नाजवान स्माइलले तीन विकेट लिए भने नसीर नाइल स्माइल, मोहम्मद म्युभान र थोलाल मोहम्मद रायाले एक\एक विकेट हात पारे ।
अन्तिम ८ टोली छनौँट भएपनि सोमबार क्वाटरपाईनल समिकरणको ड्र मार्फत कुन खेल कहिले र कुन टिमसँग भन्ने टुंगो लाग्नेछ । नेपालले एसियाली खेलकुदमा भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशर अफगानिस्तान जस्ता टेस्ट मान्यताप्राप्त बलिया टिमसँग उत्कृष्ठ प्रदर्शन गर्दै उपाधी जितेको हेर्न क्रिकेटर प्रेमिहरु आतुर भएर बसेका छन् ।।
तपाईको प्रतिक्रिया