Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबझाङ भूकम्प अपडेट : १ जनाको मृत्यु, १७ जना घाइते

बझाङ भूकम्प अपडेट : १ जनाको मृत्यु, १७ जना घाइते

भूकम्पका कारण १३५ घर भत्किए


काठमाडौं । बझाङमा मङ्गलवार गएको भूकम्पका कारण एक जना को मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । भूकम्पपछि आएको पहिरोमा परेर जयपृथ्वी नगरपालिका–११ कि ४५ वर्षीया गुनमति धामीको मृत्यु भएको हो ।

जिल्लाका विभिन्न पालिकामा गरी १७ जना घाइते भएको विवरण प्राप्त भएको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिनुभयो । घाइतेमध्ये तीन जना प्राथमिक उपचारपछि घर फर्किएका छन् भने बाँकीको जिल्ला अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको बताइएको छ । भूकम्पका कारण १ सय ३५ घर भत्किएका छन् । बझाङ भूकम्पले कैलाली, डोटी, डडेल्धुरा, बाजुरालगायतका जिल्लामा समेत असर गरेको आँकलन गरिएको छ ।

खुला आकासमा बित्यो रात
बझाङ र आसपासका जिल्लामा भूकम्प पीडितहरुले खुला आकासमा रात बिताएका छन् । मंगलबार राति र आज बिहान पनि साना धक्का गइरहेकाले प्रभावित क्षेत्रका स्थानीय घर फर्किन सकेका छैनन् । ‘घर फर्किने अवस्था छैन, सबैले खुला स्थानमा रात बिताउनुपरेको छ,’ तलकोट गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुमारी भण्डारीले बताउनुभयो । नेपाल रेडक्रसले उपलब्ध गराएका त्रिपाल मुनि र कोहीले आफ्नै व्यवस्था गरेर रात बिताएका थिए । आजपनि पराकम्प जाने क्रम जारी रहेकाले स्थानीय त्रसित छन् ।

मंगलबार दिउँसो २ः४० बजे बझाङको चैनपुर आसपास केन्द्रविन्दु भएर ५.३ र ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि १० पटकसम्म भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । कम्पनहरु ५ देखि ४ म्याग्निच्युडसम्मका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ