Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsइजरायलको युद्धग्रस्त क्षेत्रबाट उद्धार गरिए ३९ नेपाली विद्यार्थी, १० जना मारिएकोमा आज राष्ट्रिय शोक !

इजरायलको युद्धग्रस्त क्षेत्रबाट उद्धार गरिए ३९ नेपाली विद्यार्थी, १० जना मारिएकोमा आज राष्ट्रिय शोक !


काठमाडौं । युद्धग्रस्त इजरायलमा मारिएका १० जना नेपालीको सम्झनामा आज राष्ट्रिय शोकको घोषणासहित राष्ट्रिय झण्डा आधा झुकाइँएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले आज देशभरका सरकारी कार्यालय र विदेशमा रहेका कुटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरे अनुसार आज राष्ट्रिय झण्डा आधा झुकाइएको हो ।

सरकारले मृतकका परिवारलाई १०–१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका र स्वदेश आउन चाहने सबै नेपालीहरुलाई विमान पठाएर स्वदेश ल्याउने पनि निर्णय गरेको छ । बंकरमा लुकेर जीवन जोगाएका नेपाली बिद्यार्थीको हारगुहार पछि सरकारी पहलमा इजरायल सेनाले युद्धग्रस्त क्षेत्रमा फसेका ३९ जना नेपाली विद्यार्थीलाई उद्धार गरेर सुरक्षित स्थानमा लगेको छ । सुरक्षित स्थानमा पुगेका विद्यार्थीहरु अब सहज उद्धारको फर्काइमा रहेका छन् । कृषी विश्वविद्यालयका विद्यार्थी र सरकारी तबरबाट पुगेका कामदार समेत गरेर इजरालयमा करिब ५ हजार नेपाली रहेको सरकारी तथ्यांक छ । प्यालेस्टाइन र इजरायल बीचको युद्ध थप चर्किदा नेपाली नागरिकको जीवन रक्षा र उद्धारको आवाज देशभर उठेको छ । सरकार आवश्यक पर्नासाथ विमान पठाउने गरि तयारी हालतमा रहेको बताइरहेको छ ।

यता, सुदूरपश्चिम प्रदेश सरकारले २ लाख रूपैयाँ राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले एक विज्ञप्ति निकालेर इजरायलमा भएको आक्रमणमा ज्यान गुमाएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीको परिवारलाई राहत स्वरूप २ लाख रूपैयाँ उपलब्ध गराउने जानकारी दिनुभएको हो । सुदूरपश्चिम विश्वविद्यालय, कृषि विज्ञान सङ्कायबाट इजरायल पुगेका ४९ जना विद्यार्थीमध्ये हमास समूहको आक्रमणमा १० जना विद्यार्थीले ज्यान गुमाएपछि विश्वविद्यालयले आज आफ्ना सम्पूर्ण निकायहरुमा शोकसभा गरी शोक बिदा दिने निर्णय गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ