इजरायलको जोखिम क्षेत्रबाट १२७ जना नेपालीको उद्धार, बन्दक बनाइएकाको ज्यान लिने हमासको धम्की !
प्यालेस्टाइन–इजरायल युद्धका कारण १८ सय बढीको मृत्यु !
काठमाडौं । इजरायलको जोखिमयुक्त क्षेत्रका बसोबास गर्दैआएका १२७ जना नेपाली विद्यार्थीको उद्धार गरिएको छ । नेपाली दूतावासले गएराति विज्ञप्ति निकालेर गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका ५५ जना र इजरायलको उत्तरी सिमाना आसपासमा रहेका ७२ जना विद्यार्थीलाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको जानकारि गराएको हो ।
दूतावासका अनुसार हमास समूहको आक्रमणमा परेर घाइते भएका चार जनाको उपचार भइरहेको र उनीहरुको स्वास्थ्यमा सुधार आइरहेको छ । हरारहेका एक जनाको खोजीका लागि प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कुटनीतिक संयन्त्रको सहयोग लिइएको, नेपाल फर्किन इच्छुक नेपाली नागरिकहरुका लागि दूतावासबाट शुरु गरिएको अनलाइन रजिष्ट्रेशनमा अहिलेसम्म ३ सय ५० भन्दा धेरै जनाले विवरण भरेको बताइएको छ ।
संयम रहँदै दूतावाससँग समन्वय र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको दूतावासले विवरण भरेकाहरुको सुरक्षित स्वदेश फिर्तीको प्रक्रिया शुरु गरिएको जानकारि दिएको छ । हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको ज्यान गएसँगै देशभर चौतर्फी चासो र चिन्ता गरिएको छ ।
बन्दकको जीवन रक्षाको चिन्ता, ठूलो जनधनको क्षती
हमासले बन्धक बनाएकाहरूलाई मृत्युदण्ड दिनेसम्मको चेतावनी दिएसँगै विश्व जगतमा चौतफी चिन्ता र चासो देखिएको छ । हमासले झण्डै १ सय ५० जनालाई बन्धक बनाएको विवरण छ । यसमा बालबालिका, वृद्धवृद्धा र युवाहरू समेत रहेका छन् । उनीहरुको जीवन रक्षा पेचिलो बनेको छ । शनिवारयता युद्धमा मारिनेको सङ्ख्या एक हजार सात सय ५० जनाभन्दा धेरै पुगेको छ । इजरायलतर्फ एक हजार आठ जना र प्यालेस्टिनतर्फ सात सय ६५ जनाको शव भेटिएको बताइएको छ ।
तपाईको प्रतिक्रिया