Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाली विद्यार्थी उद्धारका लागि वायु सेवा निगमको जहाज राती ११ बजे इजरायल उड्दै !

नेपाली विद्यार्थी उद्धारका लागि वायु सेवा निगमको जहाज राती ११ बजे इजरायल उड्दै !


काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट हुँदै इजरायल जाने परराष्ट्रमन्त्री एनपी साउदले जानकारि दिनुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको निर्देशन पछि आवश्यक कुटनीतिक प्रक्रिया समेत पुरा गरेर विमान पठाउन लागिएको मन्त्री साउदले जानकारि दिनुभयो । पहिलो लटमा उद्धार उडानमार्फत स्वदेश फर्किन नाम दर्ता गराएकाहरुलाई ल्याइनेछ ।

इजरायलको जोखिमयुक्त क्षेत्रका बसोबास गर्दैआएका गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका ५५ जना र इजरायलको उत्तरी सिमाना आसपासमा रहेका ७२ जना विद्यार्थीसहित १२७ जनाको उद्धार गरेर सुरक्षित स्थानमा राखिएको छ । नेपाल फर्किन इच्छुक रहेको भन्दै ३ सय ५० भन्दा धेरैले अनलाइन रजिष्ट्रेशन गरेका छन् । पहिलो लटमा उद्धार गरिएका अनि रजिष्ट्रेशन भएकाहरु आउनेगरि व्यवस्था मिलाइएको छ । इजरायलमा आतंकवादी समूह हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको ज्यान गएसँगै सिंगो देश शोकमा डुबेको छ । नेपाली नागरिकको जीवन रक्षाको प्रश्न पेचिलो बनेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ