“एनआरएनए”को बालुवाटारस्थित कार्यालयमा मंगलबार भएको तनाव बारे प्रहरीले थाल्यो अनुसन्धान !
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित कार्यालयमा मंगलबार भएको तनाव बारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । एनआरएनएको आरके शर्मा नेतृत्वको असन्तुष्ट पक्षले आफूहरुलाई दुर्व्यवहार र कुटपिट भएको भन्दै उजुरी दिएको आधारमा प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान अघि बढाएको हो ।
प्रहरी वृत्त, दरबारमार्गमा दिएको उजुरी अनुसार शर्मा नेतृत्वको टोली मंगलबार एनआरएनएको कार्यालयमा पुग्दा एमाले नेता महेश बस्नेत र युवा संघको टोली अध्यक्ष बद्री केसीलाई शुभकामना दिन त्यहाँ पुगेको थियो । सोही क्रममा शर्मासहितका व्यक्तिहरुले तस्वीर खिचेका थिए । असन्तुष्ट पक्षका अध्यक्ष शर्मासहित बेल्जियमका अभियन्ता एवं पत्रकार ओम शर्मामाथि कुटपिट भएको जानकारीसहित उजुरी परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले नेपालट्युबलाई जानकारी दिनुभएको छ ।
उक्त घटनामा शर्माको मुखमा चोट लागेको छ । गत कार्तिक ३ मा एनआरएनए अध्यक्षमा बद्री केसी निर्वाचित हुनुभएको थियो । तर, विद्युतीय मतदानमा धाँधली भएको भन्दै प्रत्यासी आरके शर्मा समुहले समानान्तर कमिटी गठन गरेका छ ।
उजुरीका आधारमा प्रहरीले कार्यालयको क्लोज सर्किट (सीसी) क्यामरा हेरेर अनुसन्धान अघि बढाएको छ । ‘सीसी टीभी लगायतका स्थलगत प्रमाण हेरेर अनुसन्धान गरिरहेका छौँ ।’ परिसर प्रमुख खत्रीले बताउनुभयो ।
तपाईको प्रतिक्रिया