Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयोगराज ढकाल “रिगल”को कैद मिनाहा दिने निर्णय बदर,अदालती आदेशसँगै पक्राउ !

योगराज ढकाल “रिगल”को कैद मिनाहा दिने निर्णय बदर,अदालती आदेशसँगै पक्राउ !


काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा दिने निर्णय बदर गरेर नयाँ नजिर स्थापित गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश दिएर यस्तो अवस्थामा पीडितको सहमति चाहिने नजिर स्थापित गरिदिएको हो ।

इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय “अपराध पीडितको हक प्रतिकुल देखिएको” भन्दै तत्काल थुनामा पठाउन उत्प्रेषणको आदेश समेत दिएको छ ।आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । रिटमाथि सुनुवाइ गर्दै अदालतले बिहीबार कैद सजाय मिनाहाको निर्णय बदर हुने आदेश सुनाएपछि पीडित भारतीले अदालतबाट न्याय पाएको बताउनुभएको छ । सरकारको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती १७ असोजदेखि अनशन समेत बस्नुभएको थियो । दशैंका बेला स्थगित अनशन फेरि सुरु गरेपछी १३ कात्तिकमा अनशन स्थलमै भारती बेहोस समेत हुनुभएको थियो ।

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगलमाथि थियो । घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल जिल्ला कारागार, दाङबाट छुटेका थिए । रिगलको कैद माफीका लागि कांग्रेस नेताहरुको जोडबल रहेको थियो ।

अदालती आदेशसंगै पक्राउ

सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको प्रहरी प्रवक्ता कुँबेर कडायतले जानकारी दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ