Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाललाई युएईविरुद्ध बदला लिँदै विश्वकपमा पुग्ने मौका, खेल ११ बजेबाट

नेपाललाई युएईविरुद्ध बदला लिँदै विश्वकपमा पुग्ने मौका, खेल ११ बजेबाट


काठमाडौं । नेपाली क्रिकेट टिमले आज टी-२० विश्वकपमा पुग्ने महत्त्वपूर्ण खेलमा युएईसँग प्रतिस्पर्धा गर्दैछ । आजको खेल जिते नेपाल टी-२० विश्वकपमा पुग्नेछ भने पराजित भए १० वर्षपछि विश्वकप खेल्ने सपना तुहिनेछ ।

घरेलु मैदानमा भइरहेको आईसीसी टी-२० विश्वकप एसिया छनोटमा समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएसँगै सेमिफाइनलमा युएईको सामना गर्नुपरेको छ । समूह ‘ए’ मा ओमान सबै ३ खेल जितेर विजेता बन्दा नेपाल दुई जित र एक हारको नतिजा सहित समूह उपविजेतामा चित्त बुझाउन बाध्य बन्यो । युएई समूह ‘बी’ का तीन वटै खेल जितेर समूह विजेता बन्यो । नेपालले ओमानलाई हराउँदै सेमिफाइनलमा युएईलाई छल्ने र बहराइनसँग खेलेर विश्वकप यात्रा सुरक्षित गर्ने अवसर अवसर भएपनि ओमानसँग अन्तिममा चुक्दा युएईसँग खेल्ने समीकरण बनेको छ । जुन खेलमा नेपाली टिमले ठूलो संघर्ष गर्नुपर्नेछ ।

नेपाल र युएई बीचको सेमिफाइनल खेल मुलपानी क्रिकेट मैदानमा अनि ओमान र बहराइन बीचको सेमिफाइनल टीयू मैदानमा हुनेछ । नेपाल र युएईबीच पछिल्ला दुई वर्षभित्र धेरै महत्वपूर्ण प्रतियोगितामा निर्णायक खेलमा भिडेका छन् । २१ महिनाअघि ओमानको मस्कटमा नेपाल र युएईबीच टी-२० विश्वकप छनोटको सेमिफाइनमा भेट हुँदा युएईले बाजी मार्दै विश्वकपमा छनोट भएको थियो । ८ महिनाअघि नेपालले कीर्तिपुरमा युएईलाई विश्वकप लिग टु को खेलमा हराएर विश्वकप छनोटमा पुगेको थियो । ६ महिनाअघि टीयू मैदानमै नेपालले युएईलाई एसीसी प्रिमियर कप फाइनलमा हराएर एसिया कप खेल्यो । यस्तै एक साता अघि मात्रै नेपाल र युएईबीचको त्रिकोणात्मक शृंखलामा नेपालले २ खेल जितेपनि फाइनलमा युएईसँगै पराजित भएको थियो ।

डेढ वर्षअघि ओमानमा भएको टी-२० विश्वकप ग्लोबल क्वालिफायरको निर्णायक सेमिफाइनलमा समेत नेपाल युएईसँग नै पराजित हुँदा विश्वकप पुग्नबाट रोकिएको थियो ।

अहिलेसम्म टि-२० अन्तर्राष्ट्रियका ८ खेलमा भिडेका नेपाल र युएईले ४/४ खेलको जितसहित बराबरी खेलेका छन् । बिगतको बदला लिदै आजको खेल नेपालले जितेमा अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपको टिकट काट्नेछ । दुवै टोलीलाई यो खेल उत्तिकै महत्वपुर्ण रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ