यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन, आज गाई, र गोरुको पूजा गरिदै
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई, गोवर्द्धन, गोरुको पूजा गरेर मिठा परिकार खुवाइदैछ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास रहिआएको छ ।
नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता प्रचलनमा रहेको छ । आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने समेत गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन रहिआएको मानिन्छ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने समेत गरिन्छ । यस्तै, कृषक एवं हलीलाई पनि आज पूजा गर्ने गरिन्छ ।
गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गौमुत्र समेत ब्रत, बैदिक कार्यमा पवित्र जलका रुपमा सेवन गर्ने गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने बैज्ञानिक आधार समेत रहेको बताइन्छ ।
तपाईको प्रतिक्रिया