Friday, 20 September 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalसडकमा दुर्गा प्रसाईं भर्सेस महेश बस्नेत, तीनकुने शान्त हुँदा बल्खुमा दिनभर तनाब !

सडकमा दुर्गा प्रसाईं भर्सेस महेश बस्नेत, तीनकुने शान्त हुँदा बल्खुमा दिनभर तनाब !


काठमाडौं । नेकपा एमालेको युवा दस्ता युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको काठमाडौं केन्द्रीत आन्दोलनले बिहिबार सिंगो उपत्यका नै अस्तब्यस्त बन्यो । गणतन्त्र भर्सेस राजतन्त्रको शक्ति संघर्षका रुपमा हेरिएका यी दुई प्रदर्शनलाई धेरैले चासोका साथ नियालेका थिए ।

र्‍यालीका क्रममा बल्खु चोकमा ढुंगामुढा र तोडफोड नै भयो । कालीमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍याली माथि बल्खुमा ढुंगा प्रहार भएपछि भएको झडपमा दुईजना घाईते भएका छन् । दुर्गा प्रसाईं र युवा संघबीच झडप भएपछि दुबैस्थानमा प्रहरीले जामर भेहिकल सञ्चालनमा ल्याएको थियो । काठमाडौंमा सम्भावित मुडभेट रोक्न ७ हजारको संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरेर बाक्लो सुरक्षा तैनाथी गरिएको थियो ।

तीनकुने क्षेत्रमा एमालेको युवा दस्ताको शक्ति प्रदर्शन भयो । एमालेका नेता कार्यकर्ता र युवा संघका नेताहरुले स्वयमसेवक नै परिचालन गरेर आन्दोलन व्यवस्थित गरेका थिए । जहाँ अराजक नाराजुलुस भन्दा नाचगान र उत्सबको माहौंल देखिएको थियो ।

यता, बल्खु क्षेत्रमा बिवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका नाममा भएको प्रदर्शनका क्रममा पटक पटक प्रहरी र आन्दोलनकारी बिच झडप भयो । प्रदर्शनकारीले सुरक्षा घेरा तोड्न खोज्दा पानीको फोहोरासँगै दर्जनौँ पटक अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा ल्याउनुपर्यो । बल्खु दिउँसोबाट आन्दोलन नरोकिदासम्म नै रणभुमि जस्तै भागाभाग स्थल बन्यो । प्रहरीमाथी ढुंगामुडा गर्दै आन्दोलनकारी जाइलागेपछि बल प्रयोग गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् ।

युवा संघको आन्दोलनले निरन्तरता पाउने नपाउने अनिश्चित छ । दुर्गा प्रसाई भर्सेस नेकपा एमाले हुँदै काठमाडौंमा देखापरेको शक्ति संघर्ष थप थप लम्बिने देखिएको छ । अभियन्ता प्रसाईले शुक्रबारबाट तिनकुने क्षेत्रमा आन्दोलन गर्ने घोषणा गरेका छन् । अब नेता लखेट्नेगरि आन्दोलन हुने उद्घोष प्रसाईको छ । दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियानले नागरिक बिद्रोहको थालनी भन्दैगर्दा एमालेको युवा दस्ता युवा संघले प्रचण्ड सरकारमाथी महंगी, अराजकता, कालोबजारीमा मौन बसेको भन्दै खबरदारी गरेको छ । यी दुई शक्ति संघर्षले दल अनि पुराना नेताहरुलाई बेलैमा सच्याउला कि सकाउला अब चासो यतातर्फ सोझिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ