Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalबिवादित धार्मिक अभिव्यक्तिले मन्त्री किरातीको चर्को आलोचना, देलान त नैतिकताका आधारमा राजीनामा ?

बिवादित धार्मिक अभिव्यक्तिले मन्त्री किरातीको चर्को आलोचना, देलान त नैतिकताका आधारमा राजीनामा ?


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने भनिएको क्रिसमस फेस्टिभलमा पुगेर धर्म सम्बन्धि बिवादित अभिव्यक्ति दिनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किरातीलाई यतिबेला आफ्नै बोली गलपासो बनेको छ । प्रधानमन्त्रीको तर्फबाट शुभकामना दिनुभएका मन्त्री किरातीको ‘तीन करोड नेपालीमा लाखौं क्रिश्चियन भइसकेका छन् । क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो । संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने, जेलमा हाल्ने हो भन्ने बिवादित अभिव्यक्तिको अहिले चर्को आलोचनाले नैतिक परिबन्धमा पारेको हो ।

संविधानको धर्मनिरपेक्षतालाई व्याख्या गर्दै राज्य सबै संस्कृतिहरुको अभिभावक भएकाले कोही त्रासमा बाँच्न नपर्ने आह्वान गर्दासम्मत मन्त्री किरातीले सन्तुलित भाषण नै गर्नुभयो । नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृतिक देश भनेर संविधानमै लेखिएको हुनाले कसैको डरत्रासमा नबस्न आग्रह गरेपछी पाएको ताली अनि हौसलामा हौसिएका मन्त्री किराँती अहिले आफ्नै बोलीले आलोचनाको तारो बन्नुपरेको छ । काठमाडौंमा त धार्मिक द्वन्द्व भड्काउन खोजिएको भन्दै मन्त्रीको अभिव्यक्ति विरुद्ध आन्दोलन नै भएको छ । कसैको दायामायाले होइन, हजारौं शहीदको बलिदानले लेखेको संविधानको बगैँचामा तपाईंहरु एकथरि फूल हो । तपाईंहरुविना बगैंचाको शोभा हुँदैन,भन्दै क्रिश्चियनलाई हौसाएका मन्त्री किराती अहिलेपनी आफ्नो अभिव्यक्तिको बचाउमै छन । नैतिक परिबन्धका कारण प्रधानमन्त्री प्रचण्डले हटाउने चर्चा समेत चलेको छ ।

यता, मन्त्री किरातीको अभिव्यक्तिलाई लिएर राजनीतिक दलका नेता कार्यकर्ताले समेत प्रतिक्रिया जनाउदै अधिकांशले बिरोध गरेका छन् । रास्वपा सभापति रवि लामिछानेले मन्त्री किरातीले साम्प्रदायिक विद्वेष फैलाएको टिप्पणी गर्दै राजीनामा नै माग्नुभएको छ । राप्रपा महामन्त्री धवलशमशेर राणाले मन्त्री किरातीले क्रिश्चियनको विरोध गरे हत्कडी लगाउनुपर्छ भनेर दिएको अभिव्यक्ति प्रति खेद व्यक्त गर्दै माफी माग्न सुझाव दिनुभएको छ । आफ्नो मन्त्रिपरिषद्का सदस्यको बिवादित अभिव्यक्ति र अबको कदम बारे प्रधानमन्त्री प्रचण्डले नै अहिलेसम्म मुख खोल्नुभएको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ