Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरास्वपा सभापति रवि लामिछाने माथि पोखरामा खोया प्रहार, कारण यस्तो !

रास्वपा सभापति रवि लामिछाने माथि पोखरामा खोया प्रहार, कारण यस्तो !


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि शनिबार पोखरामा आयोजित पार्टीको कार्यक्रममा मकैको खोया प्रहार भएको छ । मकैको खोयाले आक्रमण गरेको आरोपमा ३७ वर्षीय युवा सन्तोष रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएपनि सभापति लामिछानेको पहलमै छाडिसकिएको छ ।

स्टेजमा मन्तव्य राखिरहेका बेला मकैको खोया मगाएर देखाउँदै लामिछानेले आफू जनताको ढुङ्गा, खोया, गाली, ताली सबै सहन तयार भएर नै राजनीतिमा आएकाे दाबी गर्नुभएको थियो । आफूतर्फ फालिएका मकैको खोया देखाउँदै मञ्चबाट भन्नुभयो, ‘उहाँलाई कुनै समस्या छ भने पनि समाधान गर्न सबैभन्दा अग्रपंक्तिमा बस्ने बाचा गर्छु।’ देशको अर्थतन्त्र ठिक नभएकाले सटरहरू बन्द भइरहेको भन्दै भाषण गरिरहनुभएका लामिछानेले खोया प्रहार भएपछि आफ्नो मन्तव्य नै परिवर्तन गर्नुभयो । यसले खोया प्रहारको असन्तुष्टिलाई ईंगित गरेको थियो ।

खोया प्रहारको भित्री कारण यस्तो :
रानाभाटलाई प्रहरीले पक्राउ गरेपछि रास्वपा सभापति लामिछाने पोखराका सहकारी पीडितका समस्याबारेको भाषणमा केन्द्रीत हुनुभयो । किनकि लामिछाने पनि केही सहकारीका पीडकको साथमा रहेको आरोप झेल्नुपरिरहेको थियोे । लमजुङको राइनास नगरपालिका– ८ घर भएका रानाभाट पोखरा झरेर केही समय अघिसम्म अटो चलाउनुहुन्थ्यो । अहिले ड्राइभिङ पेशामा आबद्ध रानाभाटले लामिछानेलाई लक्षित गर्दै खोया आक्रमण गरेको आरोप अस्वीकार गरेपनि यहाँ सहकारी पीडितको पीडा झल्किएको थियो । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ता लामिछानेमाथि आक्रोशित छन् । प्रहरीका अनुसार रानाभाट भने सूर्यदर्शन सहकारीका पीडित होइनन्। उनी पीडितले गरेका गुनासोबाट आक्रोशित भएका भने हुनसक्छन् । लामिछानेलाई यो सहकारी पीडितले बारम्बार ज्ञापन पत्र बुझाएका छन् । पोखरामा संचालनमा आएर हाल बन्द भएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँभन्दा बढी अपचलन भएको छ । सहकारीका कोषाध्यक्ष कुमार रम्तेलबाहेक बाँकी १८ जना फरार छन्। यस सहकारीमा रकम बचत गरेका १८ हजार ७ सय जना सर्वसाधारणले रकम बचत रहेको पोखरा महानगरको छानबिन प्रतिवेदनमा उल्लेख छ।

कुनै समय सहकारीका सञ्चालक समितिका अध्यक्ष तथा संरक्षक गितेन्द्रबाबु राई (जिबी) र कोषाध्यक्ष कुमार रम्तेलसँग ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालनका क्रममा सहकार्य गर्नुभएका रबिलाई अहिले यही सहकार्यले पिरोलेको छ । सहकारी संस्थाको छानबिन समितिले तयार पारेको प्रतिवेदनमा पनि रवि लामिछाने समेतको नाम उल्लेख भएको पाइएकाे छ । तर सहकारीको समस्याबारे बारम्बार ध्यानाकर्षण र ज्ञापनपत्रमा बुझाउदा समेत रबि र उनको पार्टी मौन बसेकाले पीडितको आक्रोश बढेको आशंका गर्न थालिएको छ ।

सहकारीका बचतकर्ताले शुक्रबार साँझ समेत लामिछानेलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए। सहकारीको ठूलो रकम टेलिभिजनमा लगानी भएको र ग्यालेक्सी रबिकै पहलमा खुलेकाले पनि हिनामिनाको रकममा हिस्सा रहेको आशंका सहित आक्रोश बढिरहेको छ । पछिल्लो खोया प्रहारको घटनापनि यसैको प्रतिक्रिया स्वरुप आएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ