एक साताभित्रै क्रिकेटर सन्दीपको मुद्दामा अन्तिम फैशला, यस्तो छ सफाई पाउनसक्ने आधार !
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दामा कहिले अनि कस्तो फैशला आउला धेरैका लागि चासो छ । क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको बहस आइतबारबाट सुरु भएको छ । सोमबार क्रिसमस डे र मंगलबार यमरी अनि उभौली उद्योली पर्वको विदा भएकाले हेर्दा हेर्दैमा राखिएको बहसले बुधबारबाट फेरी निरन्तरता पाउने छ ।
विगत सात महिनादेखि सर्दै आएको सन्दीपको मुद्दाको बहस अब भने निरन्तर हुनेछ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबार भएको सुनुवाईमा जाहेरीकर्ताको तर्फबाट चार जना वकिलले बहस गरेका थिए । आइतबार नै फैशला आउने अपेक्षा गरिएको भएपनि मुद्धाको सुनुवाई थालेर जाहेरीकर्ताको बहसपछि न्यायाधीश ढकालले हेर्दाहेर्दैमा राखेका छन् । लामिछाने विरुद्धको मुद्धामा अहिलेसम्म ३० पटक भन्दा बढी पेसी चढेर सुनुवाई नै हुन सकेको थिएन । अदालत श्रोतका अनुसार अब बुधबार र बिहिबार निरन्तर सुनुवाई भएमा शुक्रबार केही ढिलाई भएमा आगामी आईतबार अन्तिम फैशला आउनेछ ।
यसरी अघि बढेको थियो क्रिकेटर सन्दीपविरुद्धको मुद्धा
काठमाडौंको गौशालास्थित एक होटलमा नाबालिगलाई जबरजस्ती करणी गरेको कसुरमा काठमाडौं जिल्ला अदालतमा २०७९ कात्तिक १४ मा लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो । कार्तिक १५ देखी चारदिनसम्म जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासमा थुनछेक बहस भएपछि कात्तिक १८ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । यसपछि बयान र बकपत्रका लागि ६ पटक मुद्धाको पेशी चढ्यो । पुस १२ गते न्यायाधीश हिमलाल बेल्बासेको इजलासले ‘प्रमाण बुझ्ने’ आदेश दिनुभयो । पुनः न्यायाधीश नारायणप्रसाद पराजुलीको इजलासमा पेशी चढ्यो । पुस २८ मा उच्च अदालतले केही शर्त राखेर २० लाख धरौटीमा लामिछानेलाई छोड्न आदेश दिएको थियो । त्यसपछि २०७९ माघ र फागुनमा दुइ–दुइ पटक पेसी तोकिएपनि सुनुवाई हुन सकेन । पटक–पटक गरेर हालसम्म क्रिकेटर लामिछाने विरुद्ध भएको मुद्धामा बयान र बकपत्रका लागि ३० पटक पेसी चढिसकेको छ । सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको भएपनि अहिलेसम्म पनि अन्ति फैसला कहिले ? प्रतिक्षा गर्नुपर्ने अवस्था छ ।
अब एक साताभित्रै अन्तिम फैशला
सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले अदालत बन्द रह्यो । बुधबार सन्दीपविरुद्धको मुद्धाको सुनुवाइले निरन्तरता पाउनेछ । यसअघि नै दुवैतर्फका वकिलहरुले बहस नोट पेश गरिसकेको हुँदा बहस धेरै नलम्बिने अपेक्षा गरिएको छ । यद्यपि, कानून व्यवसायीहरु धेरै भएकाले अझै कम्तीमा दुई दिन बहसमा समय लाग्नसक्ने आँकलन गरिएको छ । निरन्तर सुनुवाई भएर दुईदिनमै बहस सकिएमा शुक्रवार, फैशला समेत तयार गर्न केही समय लागेमा आगामी आइतबार अन्ति फैशला आउने आशा गरिएको छ ।
यस्ता छन सन्दीपले सफाई पाउनसक्ने आधार
सन्दीपले परिवर्तित नाम (गौशाला २६) माथि जबरजस्ती सम्बन्ध राखेको कुनै पनि संकेत र प्रमाण नभेटिएको हुँदा उमेर नै यो मुद्धामा प्रधान बनेको छ । कानूनतः यदि जाहेरीकर्ता नाबालिग (१८ वर्षभन्दा कम) भएमा राजीखुशीले राखेको सम्बन्ध नै भए पनि बलात्कार ठहरिन सक्छ । यसैले यो मुद्धाको फैशला (गौशाला २६) को मा बढी केन्द्रीत बनेको छ । वादी पक्षका वकिलले सन्दीपसँग भेट हुँदा युवती नाबालिग रहेको दाबी गरिरहेका छन् । वादी पक्षको दाबीअनुसार गौशालाको जन्ममिति २०६२\०३\१८ उल्लेख छ । यो जन्ममिति उल्लेख भएका तीन वटा डकुमेन्ट अदालतमा पेश भएका छन् । गौशाला २६ ले दोस्रो पटक निकालेको जन्मदर्ताको प्रतिलिपि, नागरिकता र एसईईको प्रमाणपत्र मा २०६२\०३\१८ लेखिएको मिति नै आधिकारिक भएको भन्दै गौशालाको उमेर सन्दीपलाई भेट्दा १७ वर्षमात्र रहेको जिकिर गरिएको छ । प्रतिवादी पक्षले ११ वटा कागजात पेश गरेका छन्, जसमा गौशालाको जन्ममिति २०६१ साल उल्लेख छ । गौशाला जन्मेको नारायणी अस्पताल वीरगञ्जको रेकर्डमा जन्ममिति २०६१\०२\१८ लेखिएको छ । नुवाकोटको एउटा वडाबाट पहिलो जन्मदर्ता गर्दा २०६१\०३\१८ जन्ममिति राखिएको छ । जुन अधिकांश डकुमेन्टमा उल्लेख छ । काठमाडौंको शंकरापुरबाट गौशालाको परिवार नुवाकोट बसाइ सरेको थियो । बसाइसराइका लागि भरेको फारम र वडाको रेकर्डमा जन्ममिति २०६१\०३\१८ उल्लेख छ । यही जन्ममितिलाई प्रमाणीकरण गरेर वडा कार्यालयले अदालतलाई पत्रसमेत पठाएको छ । गौशालाको परिवारले शंकरापुरबाट लिएको बसाइसराइको पत्रमा पनि यही मिति उल्लेख छ । यही जन्ममितिलाई अदालतले सदर गर्यो भने सन्दीपले मुद्दामा सफाइ पाउनेछन् । गौशालाको चौंथो जन्ममिति मा भने २०६३\०३\१८ उल्लेख छ । यो मितिबारे भने अहिलेसम्म बहस नै भएको छैन । सबै कागजात हेर्दा गौशालाका चार वटा फरक फरक जन्ममिति भेटिएका छन् । यसले जन्ममितिकै कानुनी निराकरणको प्रश्न समेत अदालतसामु उब्जिएको छ ।
यसरी हुनसक्छ उमेरसम्बन्धी बिवादमा छिनोफानो
उमेरसम्बन्धी कागजातहरु विवादित भएको खण्डमा न्यायाधीशले सबैभन्दा पुरानो कागजलाई आधिकारिकता दिने प्रचलन छ । बालिबालिकासम्बन्धी ऐन २०७५ ले समेत यो विषयलाई सम्बोधन गरेको छ । यो ऐनमा उमेरको छिनोफानो गर्न पाँच वटा कागजातलाई आधार मानिएको छ । ऐनअनुसार सबैभन्दा पहिले अस्पतालबाट जारी भएको बालबालिकाको जन्मदर्तामा उल्लेखित जन्ममिति हेरिन्छ । अस्पतालको जन्मदर्ता नभएमा स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको जन्मदर्ता प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिलाई आधार बनाइन्छ । यो पनि नभएको खण्डमा विद्यालयको चारित्रिक प्रमाणपत्र वा विद्यालय भर्ना हुँदाको बखत उल्लेख गरिएको जन्ममिति हेर्नुपर्छ । यी कुनैपनि प्रमाण नभए अस्पतालबाट प्रमाणित उमेरसम्बन्धी कागजात र त्यो पनि नभए जन्मकुण्डली, चिना टिपोट, बाबुआमाले खुलाइदिएको उमेरलाई आधार मानिन्छ । नागरिकतालाई प्रधान नमानिएका ऐनका पाँच वटा आधार हेर्दा गौशाला २६ नाबालिग रहेको दाबी कमजोर हुनेछ, जुन सन्दीपको सफाईका लागि बलियो आधार बन्नेछ ।
तपाईको प्रतिक्रिया