क्यानडा पठाइदिने प्रलोभन देखाई ठगी गर्ने दुई विदेशीसहित ६ जना प्रहरी खोरमा !
काठमाडौं, कास्की । क्यानडा पठाइदिने प्रलोभन देखाई ठगी गर्ने दुई विदेशीसहित छ जना कास्की प्रहरीको फन्दामा परेकाछन् । क्यानडा लैजाने प्रलोभन देखाएर बुधबार पोखरा महानगरपालिका–१० बुद्धचोकमा रहेको एक होटलमा अन्तर्वार्ताका लागि बोलाएको सूचनाका आधारमा प्रहरीले ठगिमा संलग्न गिरोहलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रवणकुमार विकका अनुसार पोखरा–१३ पाटनबेसीकी ६५ वर्षीया पार्वती सुनारले ‘मेरो छोरी क्यानडामा छ, सिधै भिसा निकालेर राम्रो काममा लगाइदिन्छे’ भनी विभिन्न व्यक्तिहरूसँग पैसा उठाएर अन्तर्वार्ताका लागि बोलाएकि थिइन् । ठगिको योजनामा सहभागी भएको आधारमा पोखरा–९ महेन्द्रपुलकी ३७ वर्षीया रीता सुनार, स्याङ्जाको फेदीखोला गाउँपालिका–३ की सीमा सुनार, काठमाण्डौको कलङ्की बस्ने ३८ वर्षीय प्रदीप उपाध्याय, क्यानडाको अलबर्टा राज्यको क्यागोरी सिटी स्थायी ठेगाना भएका ४५ वर्षीय राजेश जैसवाल र भारतको मध्य प्रदेशका ३२ वर्षीय इस्मित कौर समेत पक्राउ परेका छन् ।
क्यानडा जान प्रतिव्यक्ति ३० लाख रुपैयाँ लाग्ने र त्यो रकम अन्तर्वार्ता पास भएपछि दिनुपर्ने बताईएको थियोे । यो गिरोहले अन्तर्वार्ताका लागि भन्दै प्रतिव्यक्ति दुई हजार रुपैयाँ असुली गर्दै आएको थियो । पक्राउ परेकाहरूलाई कास्की जिल्ला अदालतबाट ठगीसम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया