Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsदक्षिण सुडानमा हतियारधारी समूहको आक्रमणबाट ५२ जनाको मृत्यु, नेपाली सैनिक सुरक्षित !

दक्षिण सुडानमा हतियारधारी समूहको आक्रमणबाट ५२ जनाको मृत्यु, नेपाली सैनिक सुरक्षित !


काठमाडौं । दक्षिण सुडानको अबेई क्षेत्रमा हतियारधारी समूहको आक्रमणमा परेर एक सैनिकसहित ५२ जना सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा परेर अन्य ६४ जना घाइते भएका छन् ।

बन्दुकधारीको समूहले २७ जनवरी शनिबार संयुक्त राष्ट्रसंघको शान्ति मिसनको टोलीलाई लक्षित गरेर श्रृङ्खलाबद्ध आक्रमण गरेको थियो । न्यीनकुआक, मजबोङ र खादियन क्षेत्रमा साम्प्रदायिक हिंसा भड्कीएको थियो । हतियारधारी समूहले अगोकमा रहेको संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा बलको क्याम्पमा समेत गरेका आक्रमणमा परेर ५२ जनाको मृत्यु भएको बताइएको छ । अबेईका लागि संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा बलले बन्दुकधारीको आक्रमणबाट शान्ति मिसनमा खटिएका घानाका एक जना सदस्यको मृत्यु भएको र हतियारधारीको आक्रमणलाई शान्ति सैनिकको टोलीले विफल पारेको दाबी गरेको छ ।

तेल भण्डार भएको अबेईलाई सुडान र दक्षिण सुडान दुवैले दाबी गर्दै आएका छन् । तर यो क्षेत्र हाल दक्षिण सुडानको नियन्त्रणमा छ । स्थानीय अधिकारीका अनुसार शनिबार साँझ ४ः४५ बजेतिर बन्दुकधारी समूहले आक्रमण गरेको थियो । भूमि विवाद नै कारण हुन सक्ने अनुमान गरिएपनि आक्रमणको कारण अझसम्म पनि खुलेको छैन ।

नेपाली सैनिक टोली सुरक्षित
साम्प्रदायिक दंगा भइरहने अबेई क्षेत्रमा नेपाली शान्ति सैनिकको ९७ जनाको टोली समेत खटिदैआएको छ । हतियारधारीको आक्रमणबाट ५२ जनाको ज्यान गएपनि नेपाली टोली सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन् । गत वर्ष मार्चमा संयुक्त राष्ट्रसंघले अबेई क्षेत्रमा शान्ति सैनिक तैनाथ गरेको थियो । त्यसपछि पनि साम्प्रदायिक हिंसा जारी नै रहेको छ।अबेई क्षेत्रमा जातीय हिंसा पछिल्लो समय सामान्य जस्तै बनेको छ । यहाँका आदिवासी समुदायबीच भूमि विवाद पनि छ । सो क्षेत्रका बहुसंख्यक नगोक डिंका समुदायले दक्षिण सुडानको पक्ष लिन्छन् भने मिसेरिया खानाबदोश समुदायले सुडानको पक्ष लिन्छन् । त्यसैले त्यहाँ बेला–बेला हिंसा भइरहने गरेको छ ।

सन् २०२३ मा पनि सो क्षेत्रमा आक्रमण हुँदा ३२ जनाको मृत्यु भएको थियो । सम्भावित साम्प्रदायिक हिंसा रोक्न संयुक्त राष्ट्रसंघले अबेई क्षेत्रमा शान्ति सैनिक तैनाथ गर्दैआएको यो । यो क्षेत्रमा नेपाली सैनिकहरुको उपस्थिति पनि बाक्लो रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ