
सरल गुरुङ
विश्वकप छनोट खेल्न नेपाली खेलाडी अक्टोवर ३ मा अष्ट्रेलिया आउदैछन् । जसले यहाँको नेपाली समुदायलाई उत्साहित बनाएकोछ । त्यसमाथी पनि कर्मभूमी अष्ट्रेलियासंग भिडन्त हुने भएपछि त नेपालीहरुको फुटवल नसा ह्वातै बढेको छ ।
फुटवल खेल्न अष्ट्रेलिया आउने खेलाडीलाई यहाँका नेपालीले ५ दिनसम्म बस्ने खाने र अभ्यास गर्ने मेलो मात्रै मिलाएका छैनन् बरु राष्ट्रिय झण्डा बोकेर फुटवल हेर्ने तयारी समेत गरिसकेका छन् । अक्टोबर १० मा राजधानी क्यानेवरामा हुने छनोट खेल हेर्न यहाँको नेपालीहरुको तयारी हेर्दा मनै लोभिन्छ ।
सिड्नीका दिल तामाङले त कारमा फुटवल हेर्न जाने नेपालीका लागि राष्ट्रिय झण्डाको व्यवस्था गरेका छन् । फुटवलकै लागि भनेर तामाङले चीनबाट ३५ सय झण्डा झिकाएका हुन् । सिड्नीको नेपाली ग्रोसरी पसलमा एक सेटको १५ डलरमा झण्डा किन्न पाइन्छ । कारमा दुबैतिर झण्डा फहराउदै क्यानवेरा जादा नेपाली टिमको उत्साह कत्ति बढ्ला सजिलै अनुमान गर्न सकिन्छ । त्यसो त क्यानवेराबाट टाढा रहेका शहरहरु ब्रिजवेन, मेलवर्न, पर्थ, एसिलेड जस्ता शहरहरुमा बस्ने नेपालीहरुले समेत हवाई टिकट र होटल बुकिङ गरिसकेका छन् । क्यानवेराको रंगाशालामा नेपाली फ्यानहरुलाई लागि छुट्याइएको विशेष सिटको टिकट बिक्री हप्तौ अगाडी सोल्ड आउट भइसकेको छ । यसले पनि जन्मभूमी र कर्मभूमीबिचको विश्वकप छनोट खेल हेर्न अष्ट्रेलियाका नेपाली कत्ति आतुर छन् भन्ने प्रष्ट हुन्छ ।
भिडियो हेर्नुस