
सरल गुरुङ/सिड्नी
अष्ट्रेलियाका अध्यागमन मन्त्री डेबिड कोलम्यानले यहाँको नेपाली समुदायलाई सामुदायिक केन्द्र निमार्णका लागि दिने घोषणा गरेको १० लाख डलर सहायता भित्र्याउने प्रकृया सुरु भएको छ ।
गत मे १८ मा भएको संघीय निर्वाचनका बेला नेपालीहरुको भोट तान्नका लागि सत्तारुढ दल लिवरल पार्टीका उमेद्वार तथा अध्यागमन मन्त्री कोलम्यानले सहायताको घोषणा गरेका थिए । गैर आवासिय नेपाली संघको सिड्नी क्षेत्रिय सम्मेलनमा उपस्थित भएर मन्त्री कोलम्यानले आफ्नो पार्टीले विजय हासिल गरे नेपाली समुदायका लागि १० लाख डलर उपलब्ध गराउने घोषणा गरेका हुन् ।
उनको घोषणाको ६ महिनापछि अष्ट्रेलियामा नेपालीहरुको सबैभन्दा पुरानो संस्था अष्ट्रेलियन नेपलिज एशोसियसन (ना) ले सहायता ल्याउने प्रकृया अघि बढाएको हो । अष्ट्रेलिया सरकारले सिधा सम्पर्क गर्ने ना नै नेपालीहरुको पहिलो संस्था हो ।
कोलम्यानकै निर्देशनमा ‘इन्फ्रास्टक्चर एण्ड रिजनल डेभलपमेन्ट डिपार्टमेन्ट’ अर्थात भौतिक तथा क्षेत्रिय विकास विभागले ३ महिनाभित्र विस्तृत योजना डिपिआर उपलब्ध गराउन नालाई गत सेप्टेम्बरमा पत्राचार गरेको छ ।
नाले स्थानिय काउन्सिलका विज्ञसंग सहकार्य गरेर डिपिआर तयार गरिरहेको महासचिव ऋषी आचार्यले जानकारी दिए ।
‘मन्त्रीले बोल्ने बित्तिकै सहायता आउने होइन रहेछ’- आचार्यले भने -‘जसका लागि हामीले सहायताको आवश्यकता, औचित्य र उदेश्यको विस्तृत योजना डिपिआर पेश गर्नुपर्ने रहेछ’ ।
डिपाआर नै सहायता रकम पाउने मुख्य आधार भएको भन्दै आचार्यले भने -‘हामी डिपिआरमा कुनै कमजोरी नहोस् र नेपाली समाजले पाउन लागेको सहायता जतिसक्दो छिटो ल्याउनका लागि विषय विज्ञलाई नै काममा लगाएका छौ ।’
डिपिआर तयार गर्दा समुदायिक केन्द्रमा के के कुरा समेट्ने भनेर नाले सिड्नीका नेपाली संघसंस्थासंग छलफल गर्दैछ । पुस्तकालय, बालबालिका केन्द्र, सभाहल, क्रियापुत्री भवन र पुजाआजा गर्ने केन्द्र बनाउने नाको प्रारम्भिक तयारी छ । तर, समुदायका अगुवासंग छलफल गरेर मात्रै यसलाई मुर्त रुप दिने नाका महासचिव ऋषी आचार्यले जानकारी दिए ।
सबैको सुझाव लिएर अबको १ महिनाभित्र डिपिआर तयार गरि विभागमा पेश गर्ने नाको तयारी छ । डिपिआर पास भएपछि मात्रै सहायता रकम आउने निश्चित हुन्छ ।
सहायता रकमले भौतिक संरचना निमार्ण गर्ने नाको तयारी छ । त्यसैले नाले अहिले नेपालीहरुको बाक्लो बसोबास रहेको सिड्नीको जर्जेज रिभर काउन्सिलसंग निशुल्क जग्गाको माग गरिहेको छ । सन् २०१६ को तथ्याकं अनुसार यो काउन्सिलमा १२ हजार नेपाली बसोबास गर्ने नाले जनाएको छ ।
कसरी भयो १० लाख डलर घोषणा