सिड्नी न्यु साउथ वेल्स राज्यका डढेलो प्रभावितका लागि अष्ट्रेलियामा बसोबास गर्ने नेपालीले २० हजार डलर सहयोग गरेका छन् । शुक्रबार एक कार्यक्रममा गैर आवासिय नेपाली संघ अष्ट्रेलिया (एनआरएनए) ले न्यु साउथ वेल्सको रुरल फायर सर्भिसलाई रकम हस्तान्तरण गरेको हो । गत नोभेम्बरमा एनआरएनएले ‘गो फन्ड मी’ नामक वेवसाईटबाट सहयोग उठाउन सुरु गरेको थियो । पहिलो दुई दिनमै १० हजार डलर संलकन भएको थियो । सहयोग ग्रहण गरेपछि रुरल फायर सर्भिसका कमिश्नर स्यान फिट्सीमोनसले नेपाली समुदायलाई धन्यवाद दिए । यो सहयोगबाट राज्यको दुई हजार फायर ब्रिगेडले लाभ लिनेछ । स्यानले भने –‘याे सहयोग अग्नि नियन्त्रणका लागि आवश्यक सामाग्री, तालिम र स्वयमसेवकको वृत्तिबिकासमा खर्च गर्नेछौ’
एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले भुकम्पका बेला अष्ट्रेलियनहरुले नेपालमा उल्लेख्य सहयोग गरेको स्मरण गर्दै यसपालीमा डढेलोको पिडामा यहाँको नेपाली समुदायले गुनको पैंचो तिरेको बताए । ‘सन् २०१५ मा अष्ट्रेलियनले गरेको सहयोगका लागि हामीले हातेमालो गरेर धन्यवाद प्रकट गरेका हौ’- कँडेलले भने ।
गैरआवासिय नेपाली संघले सुरु गरेको अभियानमा ३ सय ६५जनाले सहयोग गरेका थिए ।
अन्य नेपाली संघसंस्था र समुहले पनि गो फन्डमी मार्फत सहयोग संकलन गरिरहेका छन् ।
नेपाल अष्ट्रेलियामा विद्यार्थी पढाउने तेस्रो ठुलो राष्ट्र हो । ढेड लाख नेपाली बसोबास गर्ने अष्ट्रेलियामा ५० हजार नेपाली विद्यार्थी पढिरहेका छन् । मेहनती र सहयोगीको रुपमा नेपालीहरु अष्ट्रेलियन समुदायमा चिनिएका छन् । अष्ट्रेलियाभरी नै डढेलोको महामारी चलिरहेका बेला नेपाली समुदायले बढाएको सहयोगी हातले यहाँ नेपालीको छवी थप उचोँ बनाउनेछ ।