Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsपहेँलो र रातो झण्डा बिचमा पौडी खेल्नुस् । एकै वर्षमा १ सय २३ को गयो ज्यान

पहेँलो र रातो झण्डा बिचमा पौडी खेल्नुस् । एकै वर्षमा १ सय २३ को गयो ज्यान


सिड्नी

तातो वायुका कारण अष्ट्रेलियामा अहिले उखरमाउलो गर्मी चढेको छ । ४० डिग्री तापक्रम सामान्य बनिरहेका बेला, गर्मी भुलाउन समुन्द्रमा पौडी खेल्नु अष्ट्रेलियनहरुको दिनचर्या भएको छ । समुन्द्री तटमा मानिसहरुको घुईचो लागेको छ ।

समुन्द्रमा पौडी खेल्दा सामान्य सावधानी समेत अपनाउन नसक्दा अन्तराष्ट्रिय विद्यार्थीहरु डुब्ने जोखिम पनि उत्तिकै छ । अझ हाम्रो जस्तो पहाडी भुगोल र समुन्द्र नभएको देशबाट आएका नेपाली विद्यार्थी यसको जोखिममा निकै अगाडी छन् ।
वर्षेनी नेपाली विद्यार्थीले समुन्द्रमा डुबेर ज्यान गुमाउन थालेपछि सन् २०१७ देखि सिड्नीका युवाहरुले समुन्द्री सुरक्षा तालिमको आयोजना गर्न थालेको छ । भिजन फर मोटिभेसन भिएफएमले स्थानिय तामारामा सर्फ क्लबसंग मिलेर वर्षको एक दिन समुन्द्रमै लगेर नेपाली विद्यार्थीलाई तालिम दिदै आएको छ ।

तेस्रो समुन्द्रा सुरक्षा सम्बन्धी तालिम आईतबार सम्पन्न भएको छ । तालिममा ७५ जना विद्यार्थी सामेल भएको भिएफएमका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए । तामारामा सर्फ क्लबका प्रशिक्षकहरुले विद्यार्थीलाई समुन्द्रको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिएका थिए ।

समुन्द्र सुरक्षा तालिममा सहभागी नेपाली राजदूत, साथमा एनआरएनएका अभियन्ताहरु
समुन्द्र सुरक्षा तालिममा सहभागीहरु

खासगरि समुन्द्रमा छालको वहाव उच्च हुदा र रिप करेन्ट(घुमाउरो छाल) को बिचमा पौडी नखेल्न प्रशिक्षकले सुझाएका थिए । रिप करेन्ट कसरी चिन्ने भन्ने तरिका पनि सिकाईएको थियो ।
समुन्द्रमा पौडी खेल्दा सधै साथी लिएर जाने र पौडी खेल्दा मदिरा सेवन नगर्न विद्यार्थीलाई सचेत गराईएको थियो ।
सबैभन्दा महत्वपर्ण समुन्द्रमा जहापायो त्यहि पौडी खेल्नको साटो पहेलो र रातो झण्डा गाडिएको बिचभागमा मात्र पौडी खेल्दा सुरक्षित हुने बताईएको थियो ।
अष्ट्रेलियाको समुन्द्री तटमा पौडी खेल्नका लागि विशेष ठाउ छ्ट्याईएको हुन्छ । जसलाई पौडी खेल्न सुरक्षित समयमा रातो र पहेलो झण्डाले चिनाउने गरिन्छ । झण्डाको बिचभागमा हरपल निगरानीका लागि गाडी, मोटर वोट र अन्य साधनसहित लाईफ गार्डहरु तैनाथ हुन्छन् ।
केही दुर्घटना भईहाले लाईफ गार्डले तत्कालै उद्दार कार्य सुरु गर्छन् ।

यो वर्ष भिएफएमको कार्यक्रममा दुतावासले पनि साथ दिएको थियो । दुतावासले १५ सय डलर सहयोग गरेको भिएफएमले जनाएको छ । कार्यक्रममा नेपाली राजदुतले विद्यार्थीको समस्यामा दुतावास सधै साथ रहेको बताएका थिए ।
कार्यक्रममा न्यु साउथ वेल्सका महावाणिज्यदुत दीपक खड्का, एनआरएनए एनएसडब्लु संयोजक देव गुरुङ र एनआरएन अभियन्ता डीला खरेल लगायत सहभागी थिए ।

पानीमा डुबेर १२३ को मृत्यु

अष्ट्रेलियामा गत हिउदमा २ सय ७६ जना पानीमा डुबेका छन् । रोयल लाईफ सेभिङ सोसाईटीले हालै सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार डुब्ने मध्ये १ सय २३ जनाको ज्यान गएको हो । अघिल्लो वर्षभन्दा यो संख्या १० प्रतिशतले बढी भएको सोसाईटीले जनाएको छ ।
समुन्द्रमा डुबेर ज्यान गुमाउनेको संख्या पछिल्लो १० वर्षमा १७ प्रतिशतले बढेको छ ।

पौडी खेल्दा लापरवाही गर्ने, मदिरा र लागु औषध सेवन गरेर पौडी खेल्ने र पौडी खेल्ने सिप कम हुदा डुबेर मृत्यु हुने संख्या बढीरहेको सोसाईटीले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ