Wednesday, 24 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा अर्को नेपाली युवा पनि चुनाव लड्दै । यसरी रच्न सक्छ इतिहास (भिडियो सहित)

अष्ट्रेलियामा अर्को नेपाली युवा पनि चुनाव लड्दै । यसरी रच्न सक्छ इतिहास (भिडियो सहित)


सरल गुरुङ 

विशेष रिपोर्ट

अष्ट्रेलियामा नेपालीको बसोबास सुरु भएको तीन दशक पुगिसक्यो । फाट्टफुट्ट आउने नेपालीहरुको संख्या सन् २००८ पछि  ह्वात्तै बढेको हो । अहिले अष्ट्रेलियामा सालाखाला २ लाख नेपाली बसोबास गर्छन् । विभिन्न विश्वविद्यालय र कलेजमा पढ्ने ५० हजार नेपाली विद्यार्थीको हिसाब अलग्गै छ ।

अष्ट्रेलियामा नेपालीहरु सि ग्रेडको काम गर्छन् अर्थात भाडा माझ्ने, सफा गर्ने र वृद्धा स्याहार्ने मात्रै नेपालीहरुको काम हो भन्ने धेरैको गलत बुझाई छ । सामाजिक संजालमा त भाडा माझ्ने भनेर अष्ट्रेलियाका नेपालीलाई खिसीटिउरी गर्नेहरुको लर्को लामै छ ।

तर, वास्तविकता त्यस्तो होइन । पढाई र कामको सन्तुलनमा मेहनत मिसाएर छोटो समयमै आकास छुने प्रगती गर्ने नेपालीहरुको जमात ठुलो छ अष्ट्रेलियामा । पछिल्लो तीन वर्षमा म आफैले त्यस्ता असंख्य नेपालीलाई भेटेको छु । उनीको प्रगती लोभ लाग्दो मात्रै छैन कि बरु नेपालले उनीहरुबाट धेरै कुरा प्राप्त गर्न सक्छ । त्यसबारे कुनै बेला लेखुँला।

आज भने म तपाईलाई अर्को नेपाली युवाको कथा प्रस्तुत गर्दैछु जो अष्ट्रेलियाको राजनीतिमा उदय हुने जमर्कोमा लागेका छन् ।
सन् २०१९ को संघीय निर्वाचनमा सत्तारुढ दल लिवरल पार्टीबाट संघिय सांसदको पदमा दोस्रो पुस्ताका नेपाली युवा प्रमेज श्रेष्ठले चुनाव लडेपछि नेपालीका लागि पनि अष्ट्रेलियाको राजनीतिको ढोका खुल्ला भएको छ ।
प्रमेजले चुनाव हारे तर, उनले धेरैको मन जितेका छन् । सुनौलो भविष्य साचेर सुटकेस बोकेर अष्ट्रेलिया उत्रिएका असंख्य नेपाली युवाको मनमा नयाँआशा जगाएका छन् ।

तीनै आशाहरु पछ्याउदै कुइन्सल्याण्ड राज्यको टुअम्बामा बस्दै आएका अर्का नेपाली युवा स्थानिय चुनावमा उमेद्वार बनेका छन् । ११ वर्षअघि सुटकेस बोकेर श्रीमतिसंगै अष्ट्रेलिया हुत्तिएका पोखरेली ठिटा एकराज अधिकारी अहिले स्थानिय सभासद्को पदमा चुनाव लडिरहेका छन् । आगामी मार्च हुन लागेको स्थानिय निर्वाचनमा उनी टोअम्बा रिजनल काउन्सिलका लागि सभासद् पदमा चुनावी मैदानमा उत्रिएका छन् ।

स्थानिय नेपाली संघसंस्थामार्फत लामो समयदेखि समाजसेवामा होमिएका एकराज अब सभासद भनेर अष्ट्रेलियाको स्थानिय विकासमा जुट्न लागेका हुन् । १५ नेपाली बसोबास गर्ने टोअम्बामा २ सयको हाराहारीमा नेपाली मतदाता छन् । यत्ति थोरै मतदाता भएपनि स्थानिय जनतामा राम्रो प्रभाव पार्न सकेका एकराज यसपाली चुनाव जित्ने अठोटमा छन् ।
इतिहास रच्न हिडेका तीनै जुजारु युवासंग मैले टोअम्बा नै पुगेर भलाकुसारी गरेको छु । कृपया यो भिडियो हेरिदिनुहोला । तपाईको हौसलाले सिंगो नेपाली समुदायलाई प्रोत्साहन गर्न सहयोग पुग्दछ ।

 


ट्याग : #Nepali in Australia, #toowoomba city council, #एकराज अधिकारी
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ